संविधानसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणाली अन्र्तगत कुल उम्मेदवार सख्याको ३५.३९ प्रतिशत महिला उम्मेदवार रहेका छन्।
निर्वाचन आयुक्त इला शर्माले दिएको जानकारी अनुसार प्रत्यक्ष तर्फका ६ हजार १ सय २८ मध्ये ६ सय ६७ अर्थात ११ प्रतिशत र समानुपातिक तर्फका कुल उम्मेदवार १० हजार ७ सय ९ मध्ये ५ हजार २ सय ९१ अर्थात ४९.४१ प्रतिशत महिलाले यसपालिको निर्वाचनमा उम्मेदवारी दिएका छन् ।
त्यस मध्ये समानुपातिक तर्फ पनि १ हजार ७ सय ५२ मधेशी, ५ सय ८ दलित, १ हजार ६ सय २९ जनजाति, १ हजार ८ सय २९ खस आर्य समुदायबाट र ७६ जना महिला पिछडिएको क्षेत्रबाट रहेको छ।
नेपालको अन्तरिम संविधानले संविधानसभामा महिलाको अनिवार्य ३३ प्रतिशत उपस्थितिको व्यवस्था गरेको छ ।
निर्वाचन प्रक्रियालाई समावेशी र लैङ्गिकमैत्री बनाउन नमुनाका रुपमा हरेक जिल्लामा पुगेसम्म केही मतदानस्थल र मतदान केन्द्रको सम्पूर्ण जिम्मेवारी महिला कर्मचारीलाई मात्र दिएको छ । यसअनुसार ४१ जिल्लाको ८० मतदान केन्द्रहरुमा महिला कर्मचारीहरुबाट मात्रै मतदान कार्य सञ्चालन हुने छ ।
आयुक्त शर्माका अनुसार नुवाकोटको खानीगाँउमा तीन वटा मतदान केन्द्रमा मतदान अधिकृत र कर्मचारी सहित सुरक्षाकमीहरु पनि महिला नै खटाइएको छ ।
यसैबीच हालसम्म निर्वाचन प्रचार प्रसारको क्रममा ५सय ८८ वटा निर्वाचन विरोधी अन्य ठूलासाना झडप र घटनाहरु भएका छन्। यीमध्ये, १ सय २६ जना घाइते भएका छन्। निर्वाचनको विरोधमा आमहडताल र यातायात बन्दको क्रममा मोहन बैद्य नेतृत्वको असन्तुष्ट पक्षले गरेको तोडफोड र आगजनीबाट क्षति भएका २० सवारी साधनलाई सरकारको पक्षबाट ३ लाख ४२ हजार क्षतिपूर्ति संबन्धित सवारी साधान धनीहरुलाई दिइएको छ ।