कालीगण्डकी नदी क्षेत्रमा पाइने बहुमूल्य शालिग्राम ढुङ्गा अहिले हराउन थालेका छन्। शालिग्रामको धार्मिक, सांस्कृतिक तथा वैज्ञानिक महत्व रहेकाले मानिसले यसकोे खोजी गर्नेहरु बर्सेनि बढेको पाइन्छ। मुस्ताङको कागबेनीदेखि देवघाटसम्म शालिग्राम पाइने भएकाले यस क्षेत्रलाई ‘शालिग्राम क्षेत्र’का रुपमा लिइने गरिन्छ।
शालिग्रामलाई हिन्दू धर्मावलीले विष्णुका प्रतीक रुपमा लिई घर तथा मठमन्दिरमा पूजासमेत गर्छन्। शालिग्रामप्रति विदेशीले विशेष चासो राखेर किन्न थालेको रामपुर नगरापालिका केलादीघाटका सूर्यप्रसाद पोखरेल बताउँछन्। शालिग्राममा सुनका साना कण हुने विश्वास स्थानीयवासीको छ।
नदी किनारामा प्रशस्त मात्रामा पाइने शालिग्राम अहिले पहिला जस्तै गरी पाउन छाडेको पोखरेलको भनाइ छ। शालिग्राम प्रतिएकको २०० देखि ५०० रुपैयाँमा कारोबार हुँदै आएको छ।
पाल्पा, तनहुँ, स्याङ्जा र नवलपरासी जिल्लाको सङ्गमस्थल केदालीघाटमा स्नान गर्न आउनेले पहिले पहिले प्रशस्त शालिग्राम भेटाएर लैजाने गरेको देखिए पनि अहिले जति खोजे पनि भेटाउन गाह्रो छ।
“ढुङ्गामा चक्र हुनु नै पर्छ, चक्र नभएको शालिग्राम वास्तवमा सक्कली शालिग्राम होइन”, स्थानीय बासिन्दा उमानाथ आर्यालले भने। पहिला जस्तो गरी कालीनदी किनारामा शालिग्राम भेटाउन नसकिने उनको भनाइ छ। शालिग्राम कालो, चिल्लो र चक्रसहित तर रेसारहित हुने गर्छ।
कालीगण्डकीमा शालिग्राम मात्र होइन, सुन खोज्न भारतीयहरु अवैध रुपमा आउँछन्। पाल्पाका केलादी, राम्दी र रुरु क्षेत्रमा उनीहरुले सरकारको अनुमति नलिई बालुवा चालेर सुनका साना कण लैजाने स्थानीयवासीको गुनासो छ। रासस