लाजिम्पाटस्थित पाँचतारे होटल र्याडिसनको हेल्थ क्लबमा बुधबार बिहान हल्लीखल्ली मच्चियो। पूर्व प्रधानसेनापति छत्रमानसिंह गुरुङका छोरा प्रबलको १४ लाख रुपैयाँभन्दा बढी मूल्य पर्ने घडी हराएछ। उनले दरबारमार्ग प्रहरीमा गएर उजुरी गरे।
प्रहरीले अनुसन्धान सुरु गर्यो।
प्रहरी स्रोतअनुसार त्यस दिन हेल्थ क्लबमा गुरुङसहित जम्मा आठ जना व्यक्ति आएका थिए। प्रहरीले अनुसन्धान निम्ति हातका औंलाको छाप लिन पालैपालो सबैलाई डाक्यो। त्यही क्रममा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडासँग पनि सम्पर्क गर्यो। ओखलढुंगाका निर्वाचित सांसद खतिवडा नियमित रूपमा र्याडिसन क्लब जाने गरेका थिए।
‘माननीयज्यू, हामीकहाँ प्रबल (गुरुङ) जीको घडी हराएको उजुरी परेको छ, तपाईं पनि त्यस दिन र्याडिसन क्लब जानुभएकाले फिङ्गर प्रिन्टको निम्ति यहाँ आइदिनुपर्यो,’ दरबारमार्गका प्रहरी अधिकारीले खतिवडासँग सम्पर्क गरे।
‘म त अहिले ओखलढुंगामा छु, फर्केर आएपछि आउँला,’ खतिवडाले जवाफ दिए।
दरबारमार्ग प्रहरी स्रोतका अनुसार त्यसको केही बेरपछि नै खतिवडा आफैंले फोन गरे। उनले ‘खै कसरी हो, घडी त मेरै ट्राउजरमा पो रहेछ, म ल्याइदिन्छु है’ भन्दै खबर गरेको प्रहरी स्रोतले बतायो।
त्यसको चार दिनपछि शनिबार खतिवडाले होटल र्याडिसनमा गएर घडी फिर्ता गरेको प्रहरीले जनाएको छ।
दरबारमार्ग प्रहरीले घडी हराएको सूचना दिन आफूलाई सम्पर्क गरेको खतिवडाले पुष्टि गरेका छन्।
‘म ओखलढुंगामा थिएँ, दरबारमार्ग प्रहरीले प्रबलजीको घडी हराएकाले हजुर एकचोटि आइदिनुपर्यो भन्दै सम्पर्क गरेको हो,’ खतिवडाले आइतबार सेतोपाटीसँग भने।
त्यस दिन आफू हतार–हतार क्लबबाट निस्किएकाले घडी ट्राउजरमा कसरी पर्यो थाहा हुन नसकेको खतिवडाको भनाइ छ।
‘मलाई त्यसै दिन ओखलढुंगा जानु थियो, म हेल्थ क्लब जाँदा लगाएर गएको कपडा फुकालेर अर्को लगाएर त्यहीँबाट ओखलढुंगाका लागि निस्केँ,’ उनले भने, ‘बिहीबारसम्म केही थाहा भएन, कार्यक्रममै व्यस्त रहेँ। शुक्रबार दिउँसो ट्राउजर हेर्दा पो खल्तीमा घडी देखेँ।’
आफ्नो खल्तीमा अर्काको घडी देखेपछि तुरुन्तै र्याडिसन होटलको क्लबमा भेट्ने साथी सीमान्त गुरुङलाई फोन गरेको उनले दाबी गरे। उनका अनुसार सीमान्तले नै प्रबलको घडी हराएको जानकारी दिएका थिए।
‘काठमाडौं फर्किनेबित्तिकै होटलको रिसेप्सनमा गएर घडी फिर्ता गरेँ,’ उनले भने।
घडी आफूले ‘चोरेको’ भन्ने हल्ला निराधार भएको दाबी गर्दै खतिवडाले आफूलाई फसाउन षड्यन्त्र भएको जिकिर गरे। ‘कसैले नियतवश मेरो खल्तीमा घडी राखिदिएको हो। मेरो चरित्रहत्या गर्ने काम भएको छ। यसबारे थप अनुसन्धान गर्न म प्रहरीसँग अनुरोध गर्छु,’ उनले भने।