स्ववियु निर्वाचनबारे छलफल गर्न आइतबार त्रिभुवन विश्वविद्यालयले बोलाएको छलफलमा विद्यार्थी नेताहरूबीच एकछिन बाझाबाझा नै पर्यो।
संगठनहरूबीचको विवादले फागुन १८ मा हुने स्ववियु निर्वाचन नै प्रभावित हुने स्थिति आएपछि त्रिवि प्रशासनले बैठक बोलाएको थियो। बैठकमा कांग्रेसको विद्यार्थी संगठन नेवि संघले हार्ने भएका कारण चुनाव भाँड्न खोजेको आरोप एमाले अनेरास्वियु र अखिल (क्रान्तिकारी) नेत्तृत्वले लगाएको थियो। नेविसंघ नेतृत्वले यसको प्रतिवाद गरेपछि त्रिवि पदाधिकारीका अगाडि विद्यार्थी नेताहरूबीच भनाभन भएको थियो।
यो बैठकले देशभरका क्याम्पसमा लागेका ताला हटाएर निर्वाचन कार्यक्रम अगाडि बढ्ने सहमति भने जुटाएको छ। स्ववियु चुनाव नजिकिँदै जाँदा विद्यार्थी संगठनहरूबीचको विवादले त्रिविका अधिकांश क्याम्पसमा तालाबन्दी भएको थियो।
तालाबन्दीसँगै क्याम्पसहरूमा विद्यार्थी संगठनहरूबीच झडप र तोडफोड हुने क्रम पनि चलिरहेको छ।
काठमाडौंको प्रदर्शनीमार्गमा रहेका रत्नराज्य क्याम्पसमा बिहीबार नेविसंघ र अनेरास्ववियुबीच झडप भएको थियो। यसपछि क्याम्पसमा तोडफोड समेत भयो।
रत्नराज्य क्याम्पसको नजिकै रहेका ल क्याम्पस र बाल्मिकी क्याम्पस आइतबार तनावग्रस्त रहे। यसबाहेक ललितपुरको पाटन, विरगञ्ज क्याम्पसमा समेत झडप भएको थियो।
त्रिवि रेक्टर तथा स्ववियु निर्वाचन समितिको संयोजक सुधा त्रिपाठी विद्यार्थी संगठनहरू जिम्मेवार नबन्दा क्याम्पसहरूमा निर्वाचनको वातावरण बिग्रँदै गएको बताउँछिन्।
'हामीले विद्यार्थी संगठनहरूलाई विश्वास गरेका थियौं। निर्वाचनका लागि विवादहरू उनीहरूले नै हल गर्छन् भन्ने हाम्रो विश्वास थियो। तर हामीले सोचेजस्तो भएन,' उनले सेतोपाटीसँग भनिन्।
यस किसिमका घटनाले स्ववियु नै चाहिन्न भन्ने तर्कलाई बल पुगिरहेको स्वयं विद्यार्थी नेताहरू नै स्वीकार गर्छन्।
अनेरास्वियुका प्रवक्ता आरसी लामिछानेले यसकिसिमका घटना हुनु नराम्रो र आलोच्य भएको र यसले विद्यार्थी राजनीतिलाई कलंकित भएको बताउँछन्।
'हामीले हाम्रा साथीहरूलाई संयमित रूपमा चुनावमा लाग्न भनेका छौं,' उनले भने, 'अहिलेसम्म अखिलका साथीहरू यस्तो गतिविधिमा संलग्न भएका छैनन्।' तर आइतबार नै बाल्मिकी क्याम्पसमा अखिलसम्बद्ध विद्यार्थीहरूले क्याम्पस प्रमुखको कुर्सी जलाएका छन्।
लामिछानेले यस्ता घटना नगर्न र चुनावको वातावरण बनाउन निर्देशन दिएको र कोही संलग्न भए संगठनले कारबाही गर्ने बताए।
लामिछानेले नेवि संघले नै अहिले उत्पन्न अराजक परिस्थितिको जिम्मेवार भएको आरोप लगाए। 'नेविसंघले अराजक गतिविधि बन्द गर्नुपर्छ,' उनले भने, 'अधिकांश समस्या आफैं समाधान हुन्छन्।'
नेवि संघ नेतृत्व भने सबै घटनामा आफ्नो संगठनको नाम जोडेर बद्नाम गराइएको तर्क गर्छ। महामन्त्री सरोज थापाले काठमाडौंको पशुपति क्याम्पसबाहेक अरू कुनै क्याम्पसमा नेविसंघको तालाबन्दी नरहेको दाबी गरे।
'हामीलाई बद्नाम गराउन यस्तो प्रचार भइरहेको छ,' थापाले भने, '८ वर्षदेखि निर्वाचन नभएकाले जसरी भए पनि निर्वाचन हुनुपर्छ भनेर हामी लागिरहेका छौं। तर अखिल र अखिल क्रान्तिकारीका साथीहरूले हाम्रो विरूद्ध प्रचार गरिरहेका छन्।'
लामो समय संगठनमा नेतृत्व हस्तान्तरण नभएकाले नेविसंघमा आन्तरिक समस्या देखिएको र यसलाई व्यवस्थापन गर्ने क्रममा जटिलता आएको भने उनी स्वीकार गर्छन्।
नेविसंघको आन्तरिक विवादको चपेटामा कतिपय क्याम्पसमा तालाबन्दी भए। जसरी भए पनि आफूले नै जित्नु पर्ने नेताहरूको सोचका कारण यस्तो परिस्थिति आएको अखिल (क्रान्तिकारी)का अध्यक्ष नरेन्द्र न्यौपाने बताउँछन्।
स्ववियु निर्वाचनमा यसअघि पनि झडपका घटना हुनेगरेको बताउँदै त्रिविले यसलाई रोक्न कुनै रणनीति नबनाएको आरोप लगाए।
'त्रिवि र क्याम्पस प्रशासन जिम्मेवार भएको भए यो स्थिति आउने थिएन,' उनले भने, 'सरकारले सुरक्षा दिन्छुभन्दा पनि क्याम्पस प्रशासन कानमा तेल हालेर बस्यो।'
रेक्टर त्रिपाठीको प्रश्न छ, 'मास्टर्स पढ्ने विद्यार्थीलाई अनुशासनमा राख्न पहिले नै क्याम्पसमा पुलिस हुल्ने त? यो त संगठनहरूकै आचरण र इज्जतमा प्रश्न उठ्ने कुरा हो।'
विद्यार्थी संगठनहरू जिम्मेवार र संयमित भए मात्रै सबै स्थानमा तोकिएको समयमा निर्वाचन सम्पन्न हुने उनले बताइन्।
'अब चार दिन बाँकी छ, चुनाव नजिकिँदै जाँदा उहाँहरू अझ संयमित र जिम्मेवार बन्नुपर्छ,' उनले भनिन्,'होइन भने विद्यार्थी संगठनहरूलाई चुनाव चाहिएको छैन भन्ने अर्थ लाग्छ।'