त्रिवि अन्तर्गतका क्याम्पसमा हुने स्ववियु निर्वाचनमा एमाले निकट अनेरास्ववियु र माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी)बीच तीव्र प्रतिस्पर्धा भएको छ।
शनिबार निर्वाचन भएका केही क्याम्पसको नतिजामा यी दुई संगठनबीच प्रतिस्पर्धा देखिएको हो। अहिलेसम्म अखिल (क्रान्तिकारी)ले १५ वटा र अनेरास्ववियुले १२ वटा क्याम्पसमा सभापति जितेको दाबी गरेको छ। नेपाली कांग्रेसको विद्यार्थी संगठन नेवि संघले भने ४ वटा क्याम्पसमा सभापति जितेको दाबी गरेको छ।
अनेरास्ववियुका प्रवक्ता आरसी लामिछानेले अखिले क्रान्तिकारीको दाबी 'झुटो' भन्दै आफ्नो संगठन अहिलेसम्म सबैभन्दा अगाडि रहेको बताए। बैतडीको पाटन बहुमुखी क्याम्पस, सल्यानको सल्यान बहुमुखी क्याम्पस पाल्पाको मान्डब्य बहुमुखी क्याम्पस, बझाङको खापरदेव क्याम्पस, बझाङको शान्ति क्याम्पस, धादिङको आदर्श बहुमुखी क्याम्पस, खोटाङको खोटाङ क्याम्पसमा अनेरास्वियुका उम्मेद्वार सभापतिमा निर्वाचित भएको लामिछानेले बताए।
यस्तै काभ्रेको कानपुर क्याम्पस, दोलखाको हनुमन्तेश्वर क्याम्पस दोलखा र सुर्खेतको अमरदिप क्याम्पसको सभापतिमा अनेरास्ववियुले जित हात पारेको उनले बताए। अर्घाखाँचीको पाणिनी बहुमुखी क्याम्पसमा भने अनेरास्वियु र अनेरास्वियु क्रान्तिकारी दुवैले आफ्नो उम्मेद्वार बिजयी भएको दाबी गरेका छन्। यहाँ विवादका कारण हिजो मतगणना स्थगित भएको थियो।
गठनहरूबीच सहमति भएपछि रोकिएको मतगणना अगाडि बढेको थियो। तर, परिणाम आफ्नो पक्षमा आएको दुई संगठनले दाबी गरेका छन्।
अखिल क्रान्तिकारीले पाणिनी क्याम्पससँगै अन्य १४ क्याम्पसमा जित हात पारेको अध्यक्ष नरेन्द्र न्यौपानेले बताए। उनका अनुसार बर्दियाको गुराँस बहुमुखी क्याम्पस, दोलखाको त्रिपुरा क्याम्पस, रूकुमको सिमृतु शिक्षा क्याम्पस, सानोभेरी शिक्षा क्याम्पस, स्यार्पु ब. क्याम्पस र सिस्ने शिक्षा क्याम्पसमा अखिल(क्रान्तिकारी)ले जित हात पारेको हो।
गुल्मीको जनज्योति क्याम्पस, सल्यानको बनगाड क्याम्पस, फारुला बहुमुखी क्याम्पस र शिवजन क्याम्पस, दार्चुलाको लटिनाथ बहुमुखी क्याम्पस र गोकुलेश्वर बहुमुखी क्याम्पसमा अखिल (क्रान्तिकारी)का सभापति निर्वाचित भएको उनले बताए।
कालिकोटको नन्दादेवी बहुमुखी क्याम्पस र रूकुमकै सिमरूतो बहुमुखी क्याम्पसमा पनि अखिल क्रान्तिकारीका उम्मेद्वार सभापतिमा निर्वाचित भएको न्यौपानेले दाबी गरे। नेपाल विद्यार्थी संघले दैलेखको जनज्योति क्याम्पस, धादिङको नीलकण्ठ र मत्य्सेन्द्र क्याम्पस र बैतडी कृषि क्याम्पसमा जित हात पारेको महामन्त्री सरोज थापाले जानकारी दिए।
यी परिणामहरू त्रिविले अहिलेसम्म पुष्टी गरिसकेको छैन। अधिकांश आंगिक क्याम्पसमा बुधबार चुनाव हुने छ।