समाजमा कतिपय यस्ता भाग्यमानी हुन्छन् जसले आफ्नो बिधा (राजनीति, सरकारी सेवा, समाजसेवा, मानवअधिकार, कलाकारिता, वकालत, पत्रकारिता आदि) मा कुनै सम्मान आर्जन गरेको हुँदैन।
तर आम रुपमा 'नायक' को छबी बनाएको हुन्छ। सेलिब्रेटी बन्न पाएको हुन्छ।
यहिँ समाजमा कोहि मानिस यस्ता हुन्छन् जसले आफ्नो घरभित्र पर्याप्त सम्मान आर्जन गरेर पनि आम रुपमा भयानक 'भिलेन' को छवी बनाएको हुन्छ।
त्यस्तै एक पात्र डिबी (दिलबहादुर लामा)को हिजो निधन भएको छ। नेपाल प्रहरीका एघारौं आइजिपी भएका लामा बारेमा अहिलेको पुस्ताले सकारात्मक टिप्पणी बिरलै सुन्न, पढ्न पाएको छ।
उनी भूतपूर्व आइजिपी मात्र हैनन्। पूर्व सहायक मन्त्री पनि हुन्। रसुवामा राप्रपाका रामकृष्ण आचार्यको पंचायतदेखिको किल्ला भत्काउँदै उनले २०५६ सालमा कांग्रेसबाट चुनाव जिते।
प्रहरी आइजिपीबाट २०४३ सालमा अवकाश भएपछि उनलाई सुन तस्करी, लागू औषध, हत्या, अपहरण, शरिर बन्धक लगायत मुद्दा लाग्यो। त्यतिबेला लामाबारे पढिएका, सुनिएका किस्साले उनलाई मन्त्री बनाएकोमा प्रधानमन्त्री शेरबहादुर देउवा र कांग्रेसको निकै आलोचना भयो।
ब्रिटिस आर्मी, राणा शासनविरुद्व हतियार उठाएको मुक्ति सेना हुँदै नेपाल प्रहरीमा छिरेर आइजिपी बनेका व्यक्ति जघन्य अपराधमा मुछिएपछि समाजले घृण गर्ने नै भयो। पंचायतको उत्तरार्द्वमा लामा त्यस्तै बदनाम पात्र थिए।
उनको जीवनशैलीबारे त्यतिबेलाका पत्रपत्रिकामा छापिएका समाचार पाठकहरुको मनमा गढ्ने खालको थियो, 'छोराछोरीको साठी/साठी जोर जुत्ता, बाथरुमसहित कोठैपिच्छे टिभी, गमलामा सुन, लागू औषध कारोबार आदि आदि।'
प्रहरी परिवारभित्र भने उनी कहिल्यै समाजमा जस्तो भयानक आलोचनाका पात्र बनेनन्। शक्तिमा नरहँदा पनि सम्मान मात्र हैन उनलाई 'हिरो' मान्ने वृत्त सधै रहिरह्यो। दरबारको पारिवारिक झगडाले डिबी लामाहरु जेल जानुपरेको भनेर उनीप्रति सद्भाव व्यकत गर्नेहरुको कहिल्यै खाँचाे भएन ।
एकैजानको व्यक्तित्वमा किन यस्तो बिरोधाभाष?
...
कसैको पनि व्यक्तित्व एक रङको हुँदैन। बहुरङको हुन्छ। देव र दानवी गुण सबैमा हुन्छ। मानिसले नायक गुण लोकलाई देखाउन खोज्छ खल गुण लुकाउने पाखण्ड गरिररहन्छ।
लामालाई नजिकबाट चिनेका प्रहरी अधिकृतह उनलाई किन प्रभावसाली मान्छन् त?
'प्रहरी संगठनलाई समयानुकुल परिवर्तन गराउन डिबी लामाको महत्वपूर्ण योगदान छ,' पूर्व आइजिपी ध्रबबहादुर प्रधानले सेतोपाटीलाई भने, 'तल्लो तहबाट उठेकाले पनि हुन सक्छ ठूला ठूला महत्वाकाङ्क्षा राख्ने र त्यसलाई जसरि पनि पुरा गर्ने दृढ अठोट उहाँमा थियो।'
लामाको नेतृत्व क्षमताको प्रशंसक निवर्तमान आइजिपी कुबेरसिंह राना पनि हुन्। 'प्रहरी संगठन हरेक हिसाबले आधुनिकीकरण गर्न लामाको पालामा जग हाल्ने काम भएको छ,' रानाले भने, 'त्यतिबेलाको सन्दर्भमा प्रहरीलाई अरु मुलुकको जस्तै समसामयिक बनाउन उहाँले योगदान पुर्याउनुभएको छ।'
लामा भन्दा अघि र पछि प्रहरी आइजिपीको फूली एघार/एघार जानाले लगाए। ती मध्ये नेपालको प्रहरी संगठनमा भएका धेरैजसो सुधार लामाकै नेतृत्वमा भएका रहेछन्। यो तथ्यले पनि लामा धेरै प्रहरीका हाकिमभन्दा पृथक थिए भन्ने बोल्छ ।
८४ वर्षाको उमेरमा दिवङ्गत लामाबारे लेख्नुअघि प्रधान, राना सहित अरु प्रहरी अधिकारीसँग सेतोपाटीले कुराकानी गर्दा उनले गरेको सुधारको फेहरिस्त निकै लामो बन्यो।
रानाका अनुसार प्रहरी कल्याणकारी याेजना सुरु गरेर वीरेन्द्र प्रहरी विद्यालय, वीरेन्द्र प्रहरी अस्पतालको सुरुवात लामाले नै गरे। यस्ता काममा सरकारको बजेटको मुख मात्र उनले ताकेनन्। प्रहरी अस्पतालमा तीस वर्ष काम गरेर केहि महिना अघि अवकाश भएका एआइजी डाक्टर काशीराज कुँवर भन्छन्, 'जसरि पनि खोल्नुपर्छ भन्ने लामाकै अठोट साकार भएर प्रहरी अस्पताल खुलेको हो।'
योजना, नक्सा, बजेट केहि पनि नहुँदा लामाकै जोडबलमा महाराजगंजमा अस्पताल खुलेको हो। 'इन्स्पेक्टर, डिएसपीसम्मलाई इटा, छड बोकाएर काम भएको हो,' कुँवर भन्छन्, 'बजेट नआउँदा पनि प्रहरी परिचालन गरेर उहाँले काम फत्ते गराउनुभयो।'
प्रहरी अस्पताल, विद्यालय आइजीपीलाई आउने घुस रकमबाट बनाउन सुरु गरेको उनी पटक पटक बताउँथे।
उनको आत्मकथाका सम्पादक डिल्ली आचार्यसँग यो संवाददाताले पाँच वर्ष अघि भेट गर्दा लामाले भनेका थिए, 'म भन्दा अघि र पछि पनि प्रहरी आइजिपीलाई लाइनको पैसा आइरहेको छ त्यो रकम सबैले कुम्ल्याए मैले अस्पताल, स्कुल बनाए त के बिराए?'
आइजिपीलाई आउने 'उठ्तीपुठ्ती'बाट यस्ता कल्याणकारी काम अघि बढाएकोबारे आफूले राजा वीरेन्द्रलाई पनि जानकारी गराएको दावी उनको थियो। आत्मकथामा पनि उनले त्यसको संकेत गरेका छन्।
नुवाकोटको तामाङ परिवारमा जन्म, सामान्य पढालिखा मात्र भएरपनि प्रहरी संगठनलाई आधुनिकीकरण गर्ने विषयमा उनमा देखिएको चेत प्रशंसनीय मान्छन् पूर्व आइजिपी प्रधान।
'प्रहरी देखेपछि जनता भाग्नुपर्छ, थर्किनुपर्छ, कुटेर ठीक गर्नुपर्छ भन्ने पुस्ताको भएरपनि उहाँ पुलिसिङ्को नविन अवधारणाहरु लागू गराउनुहुन्थ्यो,' उनले भने।
सामुदायीक प्रहरीको जन्मलाई लामाको त्यहिँ सोँचको प्रतिफल मान्छन् दुवै पूर्व आइजिपीहरु। 'प्रहीदेखि जनता भाग्ने हैन नजिक आउने हुनुपर्छ' भन्ने मानयता तीस वर्षाअघि क्रमभङ्गता नै थियो।
महिला प्रहरीको गुल्म नै बनाएर व्यवस्थित सुरुवात उनकै कार्यकालमा भयो। उनका आलोचकहरुले अधिराजकुमार धीरेन्द्रलाई रिझाउन यो अवधारणा आएको भन्ने आरोप समेत लगाए।
प्रहरी इन्स्पेक्टरको तालिमलाई ९ महिनाबाट दोव्वर गरेर लामाले नै अठार महिना बनाए। 'प्रहरी अधिकृत सशक्त, दक्ष, प्रभावकारी हुनुपर्छ भन्ने लामाकै सोँच अनुसार २०४० सालदेखि आधारभूत तालिम सुरु भएको हो,' रानाले भने।
जनसहयोगबाट प्रहरी चौकी, इलाका प्रहरी भवन निर्माणको मुलुकभर अभियान नै चल्यो। यति मात्र हैन लामाले प्रहरीमा 'ब्वाइज' भर्ना सुरु गरे। बाह्र वर्षका केटाकेटीलाई भर्ना लिएर पढाई/लेखाई र तालिम सँगसँगै दिइन्थ्यो।
लामाले आफ्नो पुस्तकमा उल्लेख गरे अनुसार 'बेलायती सेना'को नक्कल गर्दै उनले ब्वाइज भर्ना थालेका हुन्।
...
बाबु ललितमान घलेले विक्रम संवत्को नव्वेको दशकमा लामालाई काठमाडौं पढ्न पठाएका थिए। खातापिता परिवारका उनी लाहुर जानुपर्ने हैन।
तर लहैलहैमा पढाई छाडेर उनी भारत भागे। पञ्जाब पुगे। दोस्रो विश्वयुद्व चलिरहेको थियो। केटाकेटीलाई पनि बेलायती सेनाले भर्ना लिइरहेको थियो।
रहरै रहरमा उनी पनि भर्ना भए। केहि महिनाको तालिम दिएर बेलायती सेनाले बर्मा खटायो। उनी विश्वयुद्धमा होमिए।
बर्मामै उनीहरुका सिनियर कांग्रेसको सम्पर्कमा आए।
नेपालमा प्रजातन्त्र पुनर्स्थापनामा लागिरहेको कांग्रेसीहरु सशस्त्र आन्दोलनको तयारि गरिरहेका थिए। उनीहरु रोमाञ्चित भएर त्यसैमा लागे ।
मुक्ति सेना बनेर लामाले नयाँ रिकुटेहरुलाई तालिम दिए। राणाको विभिन्न अड्डा/गोश्वारा कब्जा गर्ने मोर्चामा डटे।
मुक्ति सेनाबाट प्रहरी बनेपछि पनि उनी संगठनमा उम्दा अफिसरमै रहिरहे। २०१५ सालमा उनका बाबु ललितमानले पश्चिम १ नम्बरबाट चुनाव जिते। अहिलेको नुवाकोट, रसुवा र धादिङ्ग जिल्लाको केहि भाग समेटिएको निर्वाचन क्षेत्रबाट गोरखा परिषद्बाट सांसद् भए।
राजा महेन्द्रले सैनिक 'कु' गरेपछि विभिन्न बहानामा देशभर धरपकड सुरु भयो। ललितमानको पनि पक्राउ पूर्जी जारी भयो।
प्रहरीले पटक पटक प्रयास गर्दा पनि सम्भव भएन। लामा त्यतिबेला नेपालगंजमा प्रहरी प्रमुख थिए। कांग्रेससँगको पुरानो नाता चटक्कै बिर्सेर लामा कट्टर पंचायतवादी भइसकेका थिए वा 'प्रोफेसनल पुलिस अफिसर' थिए।
करिअर विकासमा उनको महत्वाकाङ्क्षा थियो।
प्रहरी नेतृत्वले लामाको महत्वाकाङ्क्षाको फाइदा उठायो। नेपालगंजबाट झिकाएर उनलाई बाबुलाई समात्न खटायो। लामाले त्यो काम फत्ते गरे। प्रहरी र पंचायती नेतृत्वको विश्वास जिते।
त्यसपछि उनले करिअरमा फड्को मारेको मार्यै। झापाको नक्सलवादी 'बिद्रोह' समनदेखि धेरैजसो प्रमुख काममा नेतृत्वले उनलाई नै खटाउथ्यो।
...
'पुलिसिङ' मात्र हैन अतिरिक्त क्रियाकलापमा पिन उनी पोख्त थिए। प्रहरीको खेल, राजा रानीको जन्मोत्सव कार्यक्रम लगायत संयोजनमा डिएसपीदेखि डिआइजी हुँदासम्म खटिने सौभाग्य लामालाई नै मिल्थ्यो।
नेपाली संगीतको स्वर्णीम कालका एक नायक गोपाल योञ्जनलाई नेपाल टिकाएको जस लामाले पनि पाएका छन्। दार्जिलिङ्बाट २०२४ सालमा नेपाल आएर विरक्तिएपछि उतै फर्किएका योञ्जनलाई डाकेर उनककै तजबिजमा महेन्द्र पुलिस क्लबमा काम दिइएको थियो।
योञ्जन परिवारले काठमाडौं धापासीमा घडेरी खोज्दा, घर बनाउँदादेखि सधै लामाको अभिवाकत्व रहेको बताउँदै आएको छ।
...
प्रहरी आइजिपी हुँदा धेरै सुधार कार्यक्रम अघि बढाउन सक्नुलाई लामाको धीरेन्द्रसँगको सम्बन्धलाई पनि कारक मानिन्थ्यो। 'कान्छा सरकारको भित्रीया भएकाले पनि उहाँले जे आँट्यो त्यहिँ पुगेको हो,' एक उच्च प्रहरी
अधिकारीले भने, 'त्यहिँ घनिष्ठ सम्बन्ध पछि घातक पनि बन्यो।'
शक्तिसम्पन्न आइजिपीबाट २०४३ सालमा अवकाश हनु पाउँदा नपाउँदै उनी पक्राउ परे। निवासबाटै लागू औषध बरामद भयो, सयौं तोला सुन फेला पर्यो, शरिर बन्धक, ज्यान मार्ने उद्योग लगायत मुद्दा एकैपटक चल्यो। जेठी श्रीमती बसुन्धरा र कान्छी सावित्री सहित उनलाई विशेष अदालतले हिरासतमा राख्यो।
सबै संपत्ति रोक्का भयो। छोराछोरीको पढाईलेखाई देखि धेरै सकस भयो। घरमा 'चाकरी'मा लाग्ने लाम सुक्यो।
'सधै नुनको सोझो चिताएर काम गर्दागर्दै राजपरिवारको झगडामा मोहरा बनाइयो,' उनी सधै दावी गर्थे, 'दरबारको नजिक पनि पर्न नहुने, टाढा पनि हुन नहुने रहेछ।'
धीरेन्द्र र प्रेक्षा दम्पत्तिको बेेमेलमा आफूहरु बाच्छाको मिचाई भएको तर्क उनी गर्थे। धीरेन्दकी बेलायती प्रमिकालाई नेपाल प्रवेशदेखि विभिन्न काममा सघाएको आरोप लमालाई लाग्यो। बहिनीको कुरा सुनेर रानी ऐश्वर्यले धीरेन्द्रको मेख मार्न आफूहरुलाई हतियार बनाएको पष्टिकरण लामाको किताबमा पनि छ।
प्रहरीभित्र पनि यसबारे दुई मत छ। एकथरी लामालाई फसाइएकै हो भन्छन्। अर्काथरि लागू औषध ओसार पसारमा संलग्न नभएपनि तस्करीमा लामाको संलग्नता थियो भन्ने मान्छन्। धीरेन्द्रसँगको निकटताको उनले भरपुर उपयोग गरेको बताउँछन्।
तर अघि/पछिका आइजिपी भन्दा उनी धेरै खराव हुन् भन्नेहरुको संख्या भने ठूलो छैन। नेतृत्व क्षमता र संगठनमा उनले छाडेको प्रभाव गहकिलो छ।
...
जान/अञ्जानमा उनी केटाकेटीमा लागेको कांग्रेस पार्टीको नेतृत्वमा फेरि २०४६ मा जनआन्दोलन भयो। पंचायत ढल्यो। राजाको एकछत्र शासनमा पनि पूर्णविराम लाग्यो। लामाका लागि त्यो बरदान भयो। उनले सफाइ पाए। सबै संपत्ति फिर्ता भयो।
लामा त्यतिञ्जेल ६५ वर्षका भइसकेका थिए। फेरि कांग्रेससँग नाता जोडे। राजनीतिमा लागेको केहि वर्षमा रसुवाबाट टिकट पाए। कांग्रेसले चुनाव जितेर खाता खोल्यो। मन्त्री पनि बने। 'भ्रष्ट आइजिपी'को आरोपमा उनको आलोचना हुन भने छाडेन।
लामाको महत्वकाङ्क्षामा उमेरले छेकबार लगाएन। राजा ज्ञानेन्द्रले सक्रिय शासन सुरु गरेपछि उनी कांग्रेसबाट टाढिए। त्यतै लहसीए।
फेरि लोकतन्त्र आयो। उनको 'पोजिसन' फेरियो।
माओवादी नयाँ शक्तिको रुपमा उदय भइरहेको थियो। नुवाकोटे कांग्रेसहरुका अनुसार उनले माओवादीलाई निकै जाँच्न खोजे। तर औपचारिक रुपमा माओवादीको टिका भने लगाएनन्। कांग्रेस नै रहिरहे।
तीसौं वर्ष कर्मचारी स्कुलिङ्मा हुर्किएको व्यक्तिबाट राजनीतिक निष्ठाको अपेक्षा राख्न नहुनेमा कांग्रेसीहरु प्रष्ट थिए।
डिबी लामा पनि आफ्नो अनुभव, धन दौलत र बुद्वि विवेकले भ्याएसम्म चाल चलिररहन्थे।
तर उनी स्पष्ट बक्ता नै थिए।
गोपाल योञ्जनबारे रिपोर्टिङ सिलसिलामा रसुवामा कसरि जित्नुभयो भन्ने संवाददाताको प्रश्नमा लामाले भनेका थिए, 'रामकृष्ण बाजे लोभी एक भोटलाई वीस रुपैयाँ भन्दा बढि नदिने मैले पचासका नयाँ नयाँ नोट बाँडेर मत पाएको हुँ।'
आफ्नो 'कर्तुत' पनि यसरि स्पष्ट शव्दमा राख्न सक्ने कर्मचारी/नेता बिरलै होलान्। लामाले आफैलाई कहिल्यै पुरापुर इमान्दार आइजिपी भनेर प्रस्तुत गरेनन्। अरु भन्दा राम्रो गर्न खोजेको जिकिर भने गरिरहेँ।
यहिँ संगठनको नेतृत्व गरेका धेरै आइजिपीहरु 'गुमनाम' भइसक्दा लामाले प्रहरीमा दर्जनौं 'किर्ती' छाडेर गएका छन्।
उनका अँध्यारो पाटो छाडेर सकारात्मक गुणहरु प्रहरीको वर्तमान र भावी नेतृत्वका लागि अनुकरणीय हुन सक्छ।
यो पनि
तस्विर प्रकाश लामा/सेतोपाटी