केन्द्रीय कारागारलाई काठमाडौबाट नुवाकोटको विदुर नगरपालिकामा सार्ने निर्णय सरकारले गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले केन्द्रीय कारागार सार्ने निर्णय गरेको हो ।
यसैगरी आजको मन्त्रिपरिषद बैठकले शिक्षण अस्पतालको स्तरोन्नतिका लागि भनेर ३ करोड अनुदान दिने गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालले जानकारी दिए। विगतमा भएको आन्दोलनका क्रममा घाटामा गएको टिचिङ हस्पिटललाई संकटबाट जोगाउन अनुदान दिइएको उनले बताए ।
त्यसैगरी प्रवक्ता डा रिजालले बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा रवीन्द्रकुमार शाक्यको राजीनामा स्वीकृत गरेको छ। संयुक्त राष्ट्र सङ्घको अवधारणालाई सम्मान गर्दै देवबहादुर महर्जनको परिवारलाई रु एक लाख ५० हजार र मुकुन्द सेडाईंलाई रु दुई लाख राहतस्वरुप क्षतिपूर्ति प्रदान गर्ने निर्णय गरेको जनाइएको छ।
त्यसैगरी मेलम्ची सुरुङ मार्ग निर्माणका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने रु दुई अर्ब ४३ करोड सहयोग लिन अतिख्यारी प्रदान गरेको छ । बैठकले नेपालमा हङ्गेरीको अवैतनिक महावाणिज्य दूतावास खोल्न र इटालीमा नेपालको अवैतनिक वाणिज्य दूतावास खोल्न स्वीकृति प्रदान गरेको छ ।