थेसिस बाँकी थियो। परिवारमा सदस्य संख्या सबै जनाको आ-आफ्नो ईलम भएकोले जागिर खाइहाल्नु वा बिहे गर्नुपर्ने दवाव थिएन। अंग्रेजी साहित्यमा स्नात्तकोत्तर तहको अध्ययन पुरा गरेकोले थोरबहुत दुनियाँ बुझेको थिएँ।
तनाब मेरो शब्दकोशमा थिएन। साथीहरू थेसिस शब्द रट्दै कहिले कुनै कहिले कुनै पुस्तकालयमा धाउँथे, किताबका ठेलिको भक्ती गर्थे, निकै पढ्थे वा पढ्नेजस्ता देखिन खोज्थे। कतिपय गुरूलाई खुसी पार्न चाकरी र झुटा तारिफका पगरी बोकेर बारम्बार गुरूकोमा धाउँथे।
म जस्तो चियापसलमा चियाको चुस्की लिँदै चुरोटको सर्को मार्ने इन्सेन्सिटिभ मानिससँग या त उनीहरु तर्किन्थे या त छिट्टै छुट्टीन खोज्थे। यस्तो लाग्थ्यो कि उनीहरू सगरमाथाको शिखरका यात्री हुन् अनि म चाँही स्वयम्भुको थुम्कोको। मलाई थाहा थियो फुर्किदै सर्लक्क बढ्ने एउटा बाँस र शान्त रुपमा बढ्दै जाने एउटा सालको रुखमा के फरक छ त्यसैले मलाई कुनै आपत्ति थिएन।
बेलाले गर्ने कुरो रहेछ। बिश्वबिद्यालय परिसरमा चुरोटको धुवा उडाउदै हिँड्ने प्राध्यापकहरु कम्ता रोचक थिएनन्। त्यो मेरो लागि एन्टी-ज्ञान थिएन, जीवन जिउने एउटा कला थियो। खासगरी बिश्वबिद्यालय परिसरमा देखिने अर्धनग्न तरूनीहरू र नखरा पार्दै डुल्ने ड्याडी-ममि विद्यार्थीहरु, बर्सौदेखि ठूलै पदमा आँखा गाडेर होस्टल कुरेर बस्ने फुस्रा विद्यार्थी नेताहरु अनि अमूर्त सपनाको घोडा चढेर हरदिन पुस्तकका भारी बोकेर बिश्वबिद्यालयको तारिख धाउने दुरदराजका विद्यार्थी साथीहरु मेरा लागि रोचक पात्र थिए।
म अली अराजक थिए त्यो परिबेसमा। मलाई आदर्शको पहाड चढ्नु थिएन न त मलाई जिउनको लागि कुनै सुन्दर आवरणको लेपन चाहिएको थियो। पाँच बर्षपछि हैन आजको जीवन जिउनु थियो। जीवनलाई कलात्मक र व्याबहारिक बनाउनु थियो। कहिलेकहीं रंगिन बनाउनु थियो। मेरो त्यसको लागि प्रार्थना र अनुनय बिनय गर्ने आदत थिएन त्यसैले कुनै कुनै साँझ बारतिर छिर्थेँ।
मधुरो साँझमा बारमा छिर्नुको रौनक आफ्नै किसिमको हुने। दुई बर्ष भैसकेको थियो बार जाने लत लागेको। दुई वर्ष अगाडि दुबई उड्नको लागि आएको साथीले मलाई पहिलोपल्ट त्यो ठाउँमा पुर्याएको थियो। त्यसपछि महिनामा दुई तीन पल्ट जाने बानी लाग्यो। बार जान थालेपछि नै म कुमार रहिन। बाले अध्ययन शीर्षकमा दिने रकमको करिब बीस प्रतिशत त्यतै खर्च हुन्थ्यो।
मनमनै तुलना गर्थे, बिश्वबिद्यालयमा ज्यू ज्यू गर्दै फकाउँदा पनि हात नलाग्ने सुन्दरीहरू बारमा आँफैलाई ज्यू ज्यू गर्दै आउँथे। आजको भोक मेट्न आजै खानुपर्छ, आजको जाडो आजै छेक्नुपर्छ जुन बारमा सम्भब थियो।
मनको आनन्द प्राप्त हुने, जिउलाई शान्ति प्राप्त हुने र जीवनको सुखभोग पहिलोपल्ट प्राप्त गरेको त्यो ठाउँ मेरो लागि कुनै बिश्वबिद्यालय र मन्दिरभन्दा कम थिएन।
‘नजिकै आएर बस न’ एक साँझ एउटा बारमा अलि अन्कनाउदै गरेकी युवतितिर हेर्दै मैले भने।
ऊ अलि नजिक आई। मैले उसलाई आफ्नो छेउमा बसालेँ। ऊ लाजले रातो भइ। शायद नयाँ थिइ किनकि मैले उसलाई पहिला कहिल्यै देखेको थिइनँ।
‘तिम्रो नाम के हो?’
‘शरला’
‘घर कता नि?’
'सिन्धुपाल्चोक'
'काठमण्डुमा को सँग बस्छेउ कहाँ?'
'कलंकीमा दिदिसँग'
यी सब कुरा र मेरो उद्धेश्यको खासै सम्बन्ध थिएन। अरू दिन बारका कुनै केटीसँग कहिल्यै यस्तो कुरा भएको थिएन। तर त्यो केटीले मेरो मनमा कौतुहलता जगाइदिएकी थिई।
'दिदी के गर्छिन नि?'
'उ पारीपट्टिको बारमा काम गर्छिन्'
'तिम्रो आज पहिलो दिन?'
'हजुर'
'ए, बारमा काम गर्दा अलि होसियार हुनुपर्छ। यहाँ जस्ता मानिसहरु पनि आउँछन्'
'हस्'
उसले टाउको हल्लाइ।
'कती पढेकी छ्यौ नि?'
'नौ कक्षाको जाँच छुट्यो अनि.....'
'पढ्न मन लाग्दैन?'
'लाग्छ तर .... '
उसको भाषा अरुको जस्तो भड्किलो र ब्यवसायिक थिएन। न त कुनै दोश नै लुकेको झल्किन्थ्यो।
त्यो दिन मैले बुझे बारको करियर सुरू हुने तरिका। तर म के नै पो गर्न सक्थे र? लाग्यो मौका पाए यो केटी पनि विश्वविद्यालय जान्थी होला अनि आफूलाई ज्ञानले प्रशोधन गर्थि होला। बारमा पनि प्रशोधन हुन्थ्यो तर सिंगारपटारले। मैले विश्वबिद्यालयको गेटसम्म गाडीभित्र कुकुर च्यापेर आउने युवतीहरू सम्झिए। ती युवती र त्यो केटीबीच मनमनै तुलना गरे। निचोडमा पुगे, मार्क्सवादको जन्म त्यसै भएको होइन रहेछ।
मेरो बार जाने बारम्बारता अलि थपियो। हरेक साँझ बारमा पुग्दा मेरा आँखाहरुले शरलालाई खोज्न थाले। म सोच्थे युवतीहरू पाकेका फल हुन् अनि प्रेम सिमलको भुवा। शरलासँगको भेटपछि त्यो सोच अलिकती बदलियो। बिश्वबिद्यालयकी कुनै सुन्दरी युवतिले पगाल्न नसकेको मेरो मन नौ कक्षाको जाँच छोडेकी शरलाको निश्चलताले तोडिदियो।
‘तपाईँले पनि विचार पुर्याउनुहोला’ एक साँझ शरलाले मलाई त्यही बारको साँघुरो कोठामा भनी।
'के कुरा?'
‘तपाईँको बानी, यसरी सधैं बारमा आएर पैसा सक्नु राम्रो बानी होइन’
'पैसा मेरो जान्छ नि, तिम्रो त जाँदैन, तिमीलाई के को पिर?'
'पिर गरेको हैन, गुन मात्र तिरेको। तपाईँले मेरो पहिलो दिनमा अलि होसियार हुनु भन्ने सल्लाह जो दिनुभएको थियो'
मैले बिस्तारै बुझेँ नारी भनेको देह मात्र हैन न त उसको हैसियत उसले पाएको शैक्षिक प्रमाणपत्र र उसले कमाउने धन नै। नारी भनेको निश्चलता,धैर्यता,प्रेरणा र ताकत पनि रहेछ ।
यता थेसिस लेखन सुरू भैसकेको थियो। जती नै स्वतन्त्र हुन खोजे पनि यस्तो बेला अलि बाँधिन पर्ने। बारतिर जान अलि पातलो भयो। कतिपय साथीहरु थेसिस बुझाएर जागिर खान थालिसकेका थिए। समयसमयमा निरीक्षकलाई भेटेर देखाउनुपर्ने, तयार पार्ने, सम्पादन गर्ने, छलफल गर्ने समयतालिकाले म करिब डेढ महिनापछि बारमा पुगेँ।
मलाई थाहा थियो थेसिस सकेपछि मैले कही न कही जागिर पक्कै पाउनेछु। यदि त्यसो हो भने किन ढिला गर्ने? त्यसो त म जत्तिको पढेलेखेको र माया गर्ने केटोले कुरा गर्दा शरलाले अवश्य नाइ भन्दिन भन्ने निचोड थियो मेरो। मैले त्यो दिन शरलासँग कुरो पक्का गर्ने निर्णय गरेँ।
‘यत्रा दिन कता गायब नि?’ शरलाले मलाई देख्नेबित्तिकै भनी।
‘म अध्ययनमा ब्यस्त थिएँ, त्यै पनि तिमीले भनेको हैन धेरै नआउनु भनेर’
‘भनेको हुँ, तर बेपत्तै हुनु भनेको त हैन नि’
म अघिअघि बस्ने आफ्नो कक्षमा गएर बसेँ। शरला पछि लागेर त्यही आई।
'शरला एउटा कुरा भन्नु थियो'
'एउटा मात्र? जति मन लाग्छ भन्नू नि'
शरला बिस्तारै कुरा गर्न खप्पिस भइसकेकी थिई।
'आज एउटा मात्र भन्छु बाँकी पछि भनम्ला नि'
'हुन्छ भन्नु न त्यती जाबो कुरा भन्न पनि के सोध्नुपर्यो त'
मैले सोचेँ उपयुक्त मौका त्यही थियो। मैले बिस्तारै उसको हात समातेँ। उसले अलि लाज मानेजस्तो गरी।
'शरला मसँग बिहे गर्छेउ?'
मेरो प्रश्नले उसको अनुहारको रंग बदलिदियो। उ कालोनिलो भइ। ऊ एकछिन त केही बोल्नै सकिन। करिब एक मिनेटको मौनतापछि मेरो हात छुटाउँदै उसले बिस्तारै भनी, ‘म जस्तो अनपढ र यस्तो बारमा काम गर्ने केटीसँग बिहे गर्दा तपाईँको इज्जत कहाँ पुग्ला? तपाईँको घरपरिवार र आफन्तले के भन्लान्? पछि गएर अफ्ट्यारो हुनुभन्दा यस्तो कुरा नगर्नु नै बेश। तपाईँ बढी नै भावनात्मक हुनुभएजस्तो छ।’
मैले शरलाको कुरा बुझेँ। ऊ मेरो प्रस्ताबमा नकारात्मक थिइन तर उसलाई समाज र परिवार अनि उनीहरुले उसको बिगतको पेशा र पढाईप्रती देखाउन सक्ने प्रतिकृयासँग डर थियो। मैले शरलालाई बिश्वस्त बनाउनु थियो। 'शरला तिमी हुन्छ मात्र भन म अरु सबै मिलाउँछु। मेरो विवाह मेरो आफ्नो ब्याक्तिगत मामला हो। यसको निर्णय मबाट हुन्छ र मलाई विश्वाश छ म सबैलाई यो बिषयमा कन्भिन्स गर्न सक्छु।’
शरलाले मलाई विश्वाश नगरेको उसको अनुहारको भावबाट प्रस्ट हुन्थ्यो र पनि मैले त्यो दिन उसलाई विश्वाश दिलाउन खुब प्रयत्न गरिरहे।
संयोगबश बुवाआमा तिर्थयात्रा जानुभएको बेला भएकोले तत्काल उहाँहरुसँग त्यो बिषयमा कुरा गर्न साइत जुरेन। थेसिस सकेँ र गतिलैसँग पास गरेँ। जागिर र शरलाको खाँचो थियो अब मलाई। जुन पहिला जुर्छ उसैलाई पहिला आत्मसाथ गर्ने टुंगोमा पुगेर शरलालाई भेट्न गएँ। ‘ए आइपुग्नुभो? शरला त छैन क्या रे आजकल’ बारको मालिक्निले मलाई देख्नासाथ मुख फोरिहाली।
‘शरला छैन रे? कहाँ गई त?’
‘बिहे गर्न भनेर गई नि। उसकै गाउँतिरको एउटा केटा रहेछ भर्खर कतारबाट आएको। उसैसँग बिहे गर्ने भनेर उसको बाउ आएर लिएर गयो’
'जाने बेला केही भनिन?'
'बाबु आउनुभयो भने सबै कुरा भनिदिनुहोला भन्दै थिई।'
म गम्भीर भैसकेको थिएँ तर मलाई म कुन हदसम्म पुग्नुहुन्छ भन्ने थाहा थियो।
‘केटा कतारी लाहुरे नै हो...भारत जाने आउने त हैन होला नि?'
'खै कतारी नै हो भन्थ्यो, अब नफर्कने गाउँमै केही गर्ने भन्थ्यो रे।'
म फर्किएँ। मनमा खिन्नता थियो। थाहा थियो सपना आखिर सपना नै हो। सपना पुरा हुनुअघि नै म ब्युँझिसकेको थिएँ।
पाँच वर्ष बितिसकेछ। शहरको कुनै कलेजमा पढाउने मेरो संयोगले ससुराली सिन्धुपाल्चोकमै बन्न पुग्यो। ससुराली गइरहनुपर्छ। कहिलेकहीँ गंगालाई अघि लाएर काँधमा पुन्टेलाई राखी ससुराली जाने बाटोको तरेलिहरूका हरिया तरकारीबारी र सुन्दर फाँटहरुमा जब कोही नारीचित्र चलमलाइरेहेको देख्छु, मेरा आँखाहरुले ती चित्रहरुमा त्यही बारमा काम गर्ने शरलालाई खोज्न थाल्छन्।
क्याल्गेरी,क्यानाडा