पञ्चेबाजाको धुन विमलीले टाढैबाट सुनिसकेकी थिई। साँझको आरती सकेर भात पकाउने बेला भएको थियो। ‘मुख नि कस्तो सुकेको!' विमलीले अम्खराको पानी घटघट पिई।
अचेल पसिना खुब आउन थालेको छ उसलाई। रातभर नि›ा पर्दैन। छाती भतभती पोल्छ। मुट्ठी बेस्सरी कसेर मुखभित्र कोचेपछि बल्ल चिच्याहट रोकिन्छ। कपडा निथ्रुक्क भिजेर आङमा टाँसिन्छन्।
लौ, दुलही लिएर जन्ती त आँगनमै पुगिसके छन्। विमलीले पकाउन छोडेर ‰यालबाट चियाई। मन काँडा बिझेझैं गरी दुख्यो। मुख तितो भएर आयो।
जीवन नि असारे भेल जस्तो हुँदो रैछ। तकदिरले मौसम फेर्दा सुकी जाँदो रैछ।
नयाँ दुलहीका पैतला आँगनमा पर्नासाथ सिमसिम पानी पर्न थाल्यो। विमलीले मनमनै सोची –लच्छिनकी रैछे। भित्राउने बखतमा पानी पर्यो।
विमलीले एकछिन घोरिएर हेरी। दुलही कलिलि रहिछ। उमेर धेरै भा'छैन। उसले औंला भाँची। ऊ आफू त तीस पुग्न एक वर्ष मात्र बाँकी रैछ। बिहे भा'को नि नौ वर्ष बितिसकेछ।
ऊ ‰यालमै उभिरही। अनिँदा आँखा बोझिला भए पनि थाकेका थिएनन्। खोजेको मान्छे भेट्टाउन गाह्रो भएन।
पवनलाई दुलहा बनेको निक्कै सुहाएको थियो। गोरो अनुहार, ठूलो निधार, चम्किला आँखा, पातलो जुँगा। उमेरले हो कि इच्छाले, हिजोआज मसिनो फ्रेमको चश्मा लाउन थालेछन्। जिउ फिटिक्कै लागेको होइन। बरु कपालमा चैँ चाँदीका घेरा पर्न थालेछन्।
त्यही बेला खुर्सानी डढेर खार लाग्यो। धोतीको सप्कोले मुख छोपेर अनुहार रातो हुन्जेल खोकी विमलीले। आँखाबाट बगेको बलिन्› धारा आँसुले दृष्टि नै धमिल्याइदियो। त्यत्तिकैमा निम्तालुले घप्लक्कै छोपिहाले। ज्या! दुलही भित्राएको त हेर्नै पाइएन।
***
भतेरको होहल्ला र झिलिमिली रातभर चलिरह्यो। भातको गास गुन्›ुकको झोलसँग निल्दै विमलीले मुख बिगारी –हत्तेरी! कस्तो अलिनो भएछ।
खरानीले भाँडा मस्काउँदासम्म नि बिहाघरको हाँसो र बाजा उसका कानमा बजिरहे। सायद मुन्टो त्यतातिर फर्काएकी भए देख्दी हो। इष्टमित्र, नातागोता र गाउँलेले साउती गरेको। दाँत कोट्याउँदै पवन र विमलीको कुरा काटेको। जाँडको चुस्कीसँगै नयाँ दुलहीको चर्चा गरेको।
विमली बत्ती निभाएर ओछ्यानमा पल्टी। उसै त नपर्ने नि›ा आज झन् किन पर्थ्यो? आजको दिन उसका निम्ति चुक जस्तै कालो र अमिलो भएको थियो। उसका श्रीमानले उसकै आँखा अगाडि दोस्रो बिहा गरी उसलाई सौता हालेका थिए। र यसको साक्षी बनेको थियो उसको आफ्नै परिवार र समाज।
हो, यत्तिका वर्ष बितिसक्दा नि उनीहरूका सन्तान भएनन्। सासूले पूजापाठ गराइन्। ससुराले झाँक्री बोलाए। पवनले शहर गएर जचाउँने कुरो नउठाएका होइनन्। तर दोस्रो बिहाको सजिलो बाटो हुँदाहुँदै त्यत्रो सास्ती कसले बोकी राखोस्?
आमाजुले त मुखै खेलिन् –खुट्टा भए जुत्ता जत्ति नि पाइन्छन्। किन सुर्ता मान्छस् भाइ? यत्रो सम्पत्ति छ। तँ एक्लो छोरो। मेरी कान्छी नन्दकी भान्जी साह्रै राम्री छिन्। साक्षात् लक्ष्मी जस्ती। भर्खर सत्र पुगेर अठारमा टेकेकी। नौ कक्षामा सब्जेक्ट लागेको रे। बिहा गर्न केटा खोजिराख्या छन् बाउआमाले। तँ भन्छस् भने कुरो चलाउँ?
पवन त केहि बोलेनन् तर अरु धेरै जनाले धेरै थोक बोले। तिनै बोलीले उनको मौनतालाई वाक्य दिए। समाजले त्यै वाक्यलाई भाका दियो। फलस्वरूप पवनको आँगनमा पञ्चे बाजा बज्यो।
बिहाको भोलिपल्ट विमलीका सासू र आमाज्यू उसलाई सम्झाउन आए। मान्छे मर्दा किरियामा बसेकालाई ‘कठै बरा के गर्नु, संसार यस्तै छ' भनेर सहानुभूति दिएजस्तो।
सासूले कुरोको पोको फुकालिन्।
‘हेर विमली, तिम्ले सप्पै बुझेकी छ्यौ। हामी नि ढुङ्गा हैनम्। पवन त बरा रुँला जस्तो गर्छ। त्यसैका बाले हाम्लाई यहाँ पठा'का। तिम्रा लागि हामी छदैछौँ। जीवनभर तिम्लाई पाल्छौं। तर बिन्ति, कतै गएर उजुरी नहाले। परिवारको इज्जत छोरीबुहारीले धान्छन्। तिम्लाई थाहा छँदैछ।'
सासूको बोली भुइँमा के झरेथ्यो आमाज्युले सामानको पोको फुकालिन्। साथै रेडियो नाटकको संवाद जस्तो उनको वाणी गुन्जियो।
‘विमली, बिहामा तिम्रो चित्त कुँडिएला भनेर तिम्लाई निम्ता नगरेको। सप्पैले कस्तो सोधिरा'थे। के गर्छयौ? यस्तै हो। सुमती नि तिम्री बैनी हो। आशिक दिए लाग्ला बाबै। भोलि उसले छोरो पाई भने नि आमा बन्ने तिमी नै हो। भो, चित्त नदुखाए। लाउ, यो बिहा भाग। सारी, चुरा, पोते अनि यो सुनको घटेसो। तिम्लाई सुमतीका माइतीले हालेका।'
विमलीको छाती भक्कानिएर आयो। हिजोसम्म बाँझी भनेर छिःछिः र दुरदुर गर्नेहरु आज कसरी पग्लिए भनेर बु‰न उसलाई समय लागेन। तैपनि आफुलाई सम्हाली र भनी, ‘म कतै उजुरी दिन जान्नँ। पीर नमानिकन बस्नुस्। यो मालताल मलाई चाइन्न। मेरो कसैसित गुनासो छैन। मेरा बाउआमा सुमतीका जस्तै सम्पन्न भा'का भए वा मलाई दुई अक्षर चिनाइदे'का भए आज मैले यो दिन देख्न पर्थेन। आफ्नै कर्म फुटे'छि दैव नि हार्दा रैछन्। हजुरहरु घर जानुस्।'
यति सुनेपछि आमाछोरी मुखामुख गर्दै केही नबोली बाटो लागे। जानुअघि आमाज्युले सामान जति जम्मै पोको पारेर लगिन्।
***
दिन कति छिटै बित्छन्? पवनको दोस्रो बिहा भएको नि दुई वर्ष भैसकेछ। तर तिनको आँगन भने उस्तै रह्यो। शान्त, सुख्खा र शून्य। दुइटी बिहा गरेर नि सन्तान हुने छाँटकाँट नदेखिएपछि गाउँमा भने हल्लीखल्ली भो। सासूले त विमलीको कटेरोतिर धारे हात लाउँदै भन्न थालिन्– असत्तीहरु! जुन थालमा खान्छन्, त्यै थालमा छेर्छन्। कुन्नि कसको सराप लागेको हो। नातिको मुखै देख्न नपाई मरिहालेँ भने स्वर्गको ढोका नि खुल्दैन।'
विमलीले धर्तीले झैँ सबै सहिरही। उसको चित्त फाटिसकेको थियो। तैपनि घाइते पन्छी जस्तो फ्याटफ्याट गर्दै पवनकै ‰यालमा अडिन पुग्थ्यो।
घरबाट गलहत्याइएर कटेरोमा बस्न थालेदेखि विमलीले पवनसँग बोल्ने मौका पाएकी थिइन। मुटुमा भुँइचालो जान्थ्यो। आत्मा चिराचिरा पर्थ्याे। मन भासिन्थ्यो। मनमनै बर्बराउँथी–आफ्नै सिक्का खोटो भए'छि दुनियाँलाई के दोष?
***
धेरैपछि पवनको आँगनमा मानिसहरुको जमघट छ। तर खुशीको माहौल छैन। विमलीको सासूको रुवावासी चलेको छ। ससुरा सखारै पुलिस चौकी गएका अझै फर्केका छैनन्। आमाज्यु सुत्केरी भएकीले आउन सकिनन्। वंश धान्ने छोराको आसैआसमा तेस्रो पटक नि छोरी नै भाछ रे। साह्रै पीर परेको छ उनलाई बुढाले सौता हाल्लान् भन्ने।
विमलीकी सासू दाह्रा किट्न थालिन्–कुकुर्नीले हाम्रो नाकै काटेर गई। कोइ नपाएर त्यो मोरो लाउरेसँग। आर्काकी स्वास्नी भगाउने कस्तो कुलङ्गार रैछ!
‘दिदी, कान्छी नानीको छाँटकाँट त पैले नै ठीक थेन। बिहेअघि नि कुन्नी कुन तल्लो जातसित लसपस थ्यो रे। त्यही भएर बाउआमाले हतारहतार पवन बाबुसँग बिहा गर्देका रैछन्। नानीदेखि लागेको बानी बिहापछि नि के सप्रिन्थ्यो!' मुखिनी चुक्चुकाइन्।
‘त्यस्ता लाउरेले त इन्डिया लगेर बेच्छन्। न बोर्डर कटाइसक्यो कि!' मुखियाले चुरोट तान्दै सुर्ता जनाए।
यत्रो कोलाहल सुनेर विमली नि कटेरोको आँगनमा उभिई। उसका आँखाले झट्ट पवनलाई भेट्टाइहाले। उनी तुलसीको मठनेर उभिएका थिए। किंकर्तव्यविमूढ।
विमलीको मनले अनौठो स्वाद पायो। अमिलो, पिरो, गुलियो, नुनिलो, तीतो एकैचोटी जिब्रोमा परे जस्तो। उसको मगजले कामै गर्न सकेन। कसैले देख्नुअघि नै ऊ कटेरो भित्र पसी।
...
असारको झरी थेग्न नसक्ने भैसक्यो टिनको छानो। विमलीले कोठाको कुनोमा तामाको घल्चो थापी। पानीको तपतपले घल्चो बिस्तारै भरिन थाल्यो। विमलीले रित्ता आँखाले हेरिरही।
कसैले ढोकामा ढकढक्यायो।
ढकढक ...।
‘को आयो फेरि?' विमलीले झिँजो मान्दै ढोका उघारी। सास अड्केला झैँ भो। पवन पो रैछन्।
‘भित्र आउँ?' मधुरो स्वरमा उनले सोधे।
‘साँझको बेला सँघारमा के उभिनु त?' विमलीले बाटो छोडीदिई।
पवन पहिलोपल्ट कटेरोभित्र पसेका थिए। भावशून्य आँखा वरिपरि घुमाए।
सानो कोठा थियो। एउटा कुनोमा चुल्हो। अर्कोपट्टी सुत्ने खाट। भाँडाकुँडा थान्को लाएर राखिएका। काठको पुरानो दराज अनि दराजमाथि बत्ती कात्ने ढक्की। छानो चुहिएर पानी थाप्न राखिएको घल्चो देखेर उनले बिस्तारै मुन्टो निहुराए।
‘यसमा बस्नुस्। ठाडै खुट्टा फर्कनु हुन्न। चिया बसालुँ कि?' विमलीले थोत्रो मुडा अघि सारी।
‘भो चिया पर्दैन। बरु तँ नि बस्। तँसित कुरो गर्नुछ।' पवनको स्वर अझै मसिनो भो।
विमली राडी तानेर छेउमै बसी र टुलुटुलु पवनको अनुहार हेर्न थाली। ‘बरा कत्ति दुब्लाएछन्। गाला त पुरै सोहोरीएछ,' मनमनै सोची।
‘म तँलाई लिन आ'को, विमली। यत्रो वर्ष तँलाई यस्तो नर्कमा छोडें। मलाई सत्तोसराप जे गर्नुछ गरेस्। तर मसित घर हिँड्। तँ त लक्ष्मी रैछेस्। तँ नभा'को घर मसान जस्तो भा'छ।'
विमलीलाई गला अँठ्याएजस्तो भो। धेरैपछि आज उसका आँखा रसाए। आकाश डाँको छोडेर रोइरह्यो। तामाको घल्चोमा पानी खसिरह्यो।
तपतप...।
पवन बोलिरहे। मानौं वर्षौंपछि बोल्ने मौका पाउँदैछन्।
‘तँलाई रुवाएँ। दुनियाँ हसाएँ। घरव्यवहारले रन्थनिँदा आफैंलाई गुमाएँ। आफ्नो गल्तीको हेक्का नभा'को हैन। तर म पापी, स्वार्थी, काँतर, मुर्ख, ना...'
‘छि भो के...' पवनको आत्मग्लानीको बाढीलाई विमलीले बाँध बाँधीदिई।
पवन सम्भालिए।
‘वर्षदिन भो हरा'को। सुमती भेटिइन् त?' विमलीले सोधी।
पवनको निधारमा गाँठो पर्यो। ‘खै, शहरतिरै छे भन्ने सुन्याछु। लाउरे मुग्लान पस्याछ रे। बरोबर पैसा पठाउँछ रे। ऊ चैँ पसल गर्छे रे। छोरो नि छ रे एउटो।'
पवनले खुइय्यँ सुस्केरा काढे।
‘मैले तँलाई क्यै दिन सकिनँ, विमली। न आमा हुनुको सौभाग्य, न पत्नी हुनुको सम्मान। तर आज एउटा वाचा गर्छु। तँ र म भोलि नै शहर गएर डाक्टरलाई जँचाउने। बाँकी दैवको जो इच्छा।'
विमलीको अनुहार शान्त थियो। मानौं कुनै महान कलाकारको रचना हो। र जब उसका मुखबाट शब्द निस्किए तिनमा पनि कटुता थिएन।
‘म घर फर्किन्नँ।'
विमली र पवनका आँखा जुधे।
‘जुन दिन हजुरले मेरो स्थान अरु कसैलाई दिनुभो, त्यै दिन मैले निधो गरिसकेकी थिएँ म फर्किन्नँ भनेर।'
विमलीको बोलीमा विचित्रको उर्जा थियो।
पवनको अनुहार सुकेको फूल जस्तो भयो। फुस्रो।
‘बिहाको गहना बेचेर २/४ पैसा जोडेकी छु। गाउँकै कृष्ण मन्दिरको भजनमण्डली वृन्दावन जाँदैछ। म नि जान्छु। सास रहुन्जेल उतै बस्छु।'
पवन पराजित भए। कुन हकले रोक्न सक्थे र उनी विमलीलाई?
‘मेरो घर त उजाड हुने भो।'
उनी क्लान्त देखिए। नौ डाँडा छिचोलेजस्ता।
‘घर हुन पर्छ। सम्हाल्ने त जति नि भेटिइहाल्छन्। सुर्ता नलिनुस्।'
विमलीले त बडो सरलताका साथ भनिदिई। तर उसका वचनले पवनको मुटु छेडे।
‘भो अब कोइ चाहिँदैन मलाई। बरु के भन्छेस्? म नि आउँ तँसित?'
विमलीले जिब्रो टोकी।
‘आम्मै! के भन्नुभा'को? वृद्ध बाउआमालाई तड्पाएर मेरो पछि लाग्नुहुन्छ? जे हुनु भैगो। आफ्नो कर्तव्य पालना गर्नुस्। तँलाई क्यै दिन सकिनँ भन्नुहुन्छ। आज माग्छु। मलाई विदा दिनुस्।'
यति भनेर विमली चुप लागी।
पवन चिसो भइसकेको चुल्होतिर हेरेर टोलाइरहे।
घल्चोमा पानी खसिरह्यो। तपतप...।