दिल्लीको रेलवे स्टेसनमा अलपत्र अवस्थामा फेला परेका चार बालकलाई कैलालीको एक संस्थाले आइतवार उद्दार गरेको छ।
कैलालीको गेटा ४ श्रीलंका स्थायी घर भएका सन्तोष विक, दीपक जोरा, पवन विक तथा अर्जुन कामीलाई भारतको दिल्लीमा अलपत्र परेको अवस्थामा कैलालीमा कार्यरत शान्ति पुर्नस्थापना गृहले भारतमा कार्यरत प्रवासी नेपाली मित्र मञ्चको सहयोगमा उद्दार गरेको हो। उद्दार गरिएका बालकलाई गृहले आइतबारै प्रहरीको रोहवरमा परिवारको जिम्मा लगाएको छ। उनीहरु क्रमशः १३ र १४ वर्षका छन्।
उनीहरु वैशाख ५ गते दिउँसो साढे १२ बजेको आसपासमा गेटास्थित आफ्नै घरबाट हराएका थिए। हराएको घण्टौ वितिसक्दा पनि फेला नपरेपछि बालकका परिवारले जिल्ला प्रहरी कार्यालय, कैलाली, लगायतका विभिन्न संघसंस्थामा उजुरी गरेका थिए।
कयौ ठाँउमा उजुरी गर्दा पनि फेला नपरेका उनीहरु सोही दिन धनगढीको व्यस्त नाका गौरीफन्टा, पलिया हुदै बरेली गएको उद्दार गरिएका मध्यका एक सन्तोष विकले बताए। 'त्यस दिन घुम्न जाने भनेरै हामी चारैजना गौरीफन्टा हुदै बरेली हिडेका थियौ ’, आइतबार उद्दार गरिएको मध्यका एक सन्तोष विकले भने, ‘बरेली पुग्ने क्रममा अवेर भैसकेकोले रेल चढेर दिल्ली पुगेका थियौ ’।
रेलवे स्टेशन पुगेको घण्टाभरमै उनीहरुलाई डनबस्को, ओक्लाका कार्यकर्ताले अलपत्र अवस्थामा फेला पारी झण्डै २७ दिन राखेको थियो। त्यसपश्चात्त कोर्टमार्फत प्रवासी नेपाली मित्र मञ्चले बालकको कस्टडी आफ्नो हातमा लिई शान्ति पुर्नस्थापना गृहसितको सहकार्यमा धनगढी ल्याई परिवारको जिम्मा लगाइएको थियो।
हराएको झण्डै महिना दिन पश्चात सबै बालक फर्किएकोमा उनीहरुका परिवार दंग परेका छन्।
‘छोरा हराएपछि बरेलीको गल्ली गल्ली खोजेनौ कि देवी देवता भोकेनौ’ उद्धार गरिएका मध्येका सन्तोषका बुवा धौली विकले भने, ‘अन्ततः संस्थाकै सहयोगमा भएपनि बालक सकुशल फर्किएकोमा निकै खुशी छु’। उनले गहभरी आँशु पार्दै भने।
पछिल्लो समय बालबालिकाहरु समान्य झगडा हुदा साथीभाईको लहलहैमा लागेर पनि घर छोडी भारत जाने र विभिन्न शोषणमा पर्ने गरेका छन्। यसरी जानेहरु बेचविखनको उच्च जोखिममा पर्ने गरेको गृहका संयोजक बासुदेव भट्टराई बताउँछन्। गृहको तथ्यांक अनुसार पछिल्लो दश महिनामा सिमा क्षेत्रबाट उद्धार गरिएका २९ जना मध्ये १९ जना बालबालिका छन् ।