खासाबाट काठमाडौं हुँदै भारततर्फ चोरी निकासी गर्न लाग्दा पक्राउ परेको ३५ केजी सुनको सुराकीको विषयमा प्रहरीले नक्कली सुराकी खडा गरी सक्कली सुराकीलाई उनीहरुले पाउनुपर्ने रकम नदिने अभिव्यक्ति सहितको भिडियो सार्वजनिक भएको छ।
भीमबहादुर तामाङ्, पुदमबहादुर तामाङ, संजय झाले दिएको सुराकीका आधारमा २०७० असार २३ गते कोटेश्वरमा पक्राउ परेको सुनको सुराकी प्रहरी अधिकृतहरुले नै आफ्न नातागोता र इष्टमित्रलाई नक्कली सुराकीकाे रूपमा प्रस्तुतगरी सक्कलीले पाउने रकम दामासाहीले बाड्ने अभिव्यक्ति दिएको भिडियो सार्वजनिक लेखा समितिमा पेश भएको हो।
नेपाल प्रहरीका प्रमुख उपेन्द्रकान्त अर्याल र गृहसचिव सूर्य सिलवालको उपस्थितिमा बुधबार समितिका सदस्य धनराज गुरुङले १४ मिनेट लामो गोप्य भिडियो प्रस्तुत गरेका थिए।
उनले ल्यापटपबाट पेश गरेको भिडियोमा तत्कालिन केन्द्रीय अनुसन्धान व्यूरोका हवलदार सुरेन्द्र स्वारले आफ्नो कार्यालयमा उक्त सुनको सुराकीवालासँग गरेको सम्बाद छ।
जसमा स्वारले सक्कली सुराकीवालाहरुसँग कुरा गर्दै भनेका छन, 'सक्कली सुराकी तपाईहरु नै हो। तपाईहरुले पाउनु पर्ने प्रोत्साहन रकम पाउनु हुन्छ तर तपाईहरुले भनेजति १५ प्रतिशत नै पाउनुहुदैन। १५ प्रतिशत पूरै तिमीहरुलाई दिन सकिदैन। सबै तिमीहरूलार्इ दिएर हामीले के खाने? हाम्रा छोरा छोरी छैनन्?। सक्कली सुराकीको सूचीमा तिमीहरुमात्रै रह्यौ भने तिमीहरु मर्छौ,' सम्म स्वारले भिडियोमा भनेका छन।
'भिडियोकोे प्रमाण र उक्त घटनाबारे अख्तियारमा पनि छलफल भएइरहेको छ। धेरै पल्ट सुराकीवालासँग कुरा गर्ने क्रममा भएकाे फाेन रेकर्ड मसँग सुरक्षित छ', गुरुङले भने, 'यतिसम्मकी आफूसँग डिएसपी ईश्वरबाबु कार्कीले अर्को सुराकीसँग गरेको फोनवार्ता पनि सरक्षाित राखेकाे छु।'
ईश्वरबाबु कार्कीले पनि सुराकीलाई नयाँ डलर र सुनको सुराकी ल्याउ अनि हामी तिमीलाई कमिशन दिउँला भनेका छन्।
'३५ केजी सुनको सुराकीका बारेमा सुन्दा सामान्य लागे पनि राजस्व र किर्ते काम र ठगीको काम भएको छ। यो मुद्दा आर्थिक भ्रष्टाचार सँग जोडिएको छ,' उनले भने।
आइजी अर्याल केन्द्रीय अनुसन्धान व्यूराेकाे हाकिम हुँदा एक केजी र एसपी केशबहादुर शाही हुँदा पाँचकेजी पक्राउ परेकाे सुनकाे पिन नक्कली सुराकी देखाएर रकम लिएको आरोपबारे के भन्नु हुन्छ? भनि प्रश्न गरेका थिए।
सर्वोच्च अदालतबाट ३५ केजी सुनको फैसला भएपछि तत्कालिन अनुसन्धानका डिजी खुमराज पुञ्जाली हुँदा सक्कली सुराकीलाई रकम नदिन दबाब दिएको रिपोर्ट आएको छ। सार्कको लागि खरिद गरेका गाडी, प्रहरी पोसाक र हातहतियार खरिदबारे पनि स्पष्ट पारिदिन आग्रह गरेका छन्।
यसअघि समितिको माग अनुसार विगत ३ वर्षको अवधीमा झण्डै २८४ केजी भन्दा बढी सुनको करिब २० करोड रुपैया सुराकीले पाउनु पर्ने प्रोत्साहन रकम स्वरुप जाने देखिन्छ।
प्रहरी प्रमुख उपेन्द्रकान्त अर्यालले ६९/७० मा ८३.२ केजी, ७०/७१ सालमा ८९.४५० केजी, र ७१ सालमा १११.४४५ केजी सुन बरामत भएको बताएका थिए।
उक्त सुन पक्राउमा सुराकी दिनेको नाम र उनीहरुले पाउनु पर्ने रकमबारे राजस्व अनुसन्धान विभागको ऐन र नियम अनुसार सार्वजनिक गर्न नहुने प्रावधान अनुसार राजस्व विभागबाट तथ्यांक नआएको बताए।