कैलालीमा व्यवसायीक रुपमा उत्पादन शुरु भएको चारकोल (कोइला) ले बजार पाउन थालेको छ। शुरुमा बजार पाउन मुस्किल भए पनि अहिले भने बजारको माग बढ्दै गएको चारकोल उत्पादनमा संलग्न व्यक्तिहरुले बताएका छन्।
बायोमास उर्जा परियोजना अन्तरगत जिल्लाका ५ ठाउँबाट चारकोल उत्पादन शुरु भएको हो। उत्पादित चारकोल धनगढी, टीकापुर लगायतका ठूला होटेलहरुमा प्रयोग भईरहेको छ।
'शुरुमा बजार पाउन मुस्किल थियो। अहिले भने माग अनुसार पूर्ति गर्न सकिरहेका छैनौं’ कैलालीको चौमाला गाविस वडा नम्बर ८ मा भट्टी निमाण गरेर चारकोल उत्पादन गरिरहेका बिक्रम कुँवरले भने–'अब उत्पादन बढाउने सोचमा छौं।’
कुँवरले धनगढी र अत्तरियाका विभिन्न होटेलहरुमा चारकोल बिक्री गरिरहेको जानकारी दिए। ४५ हजार लागतमा माटोको कोइला उत्पादन गर्ने भट्टि निर्माण गरिएको बताउँदै उनले अहिले मासिक ५०/६० हजार आम्दानी भइरहेको बताए।
बनबेहडा, मसुयिा, रतनपुर, हसुलिया र टीकापुरमा चारकोलको उत्पादन शुरु भएको हो। टीकापुरमा उत्पादित चारकोल टिकापुरमै र बनबेहडा, मसुरिया, रतनपुर र हसुलियामा उत्पादित चारकोल धनगढी र अत्तरियाका होटेलहरुमा प्रयोग भईरहेको छ।
केही ठाउँमा व्यक्तिगत र केही ठाउँमा सामुदायिक वन तथा समूहमार्फत चारकोल उत्पादन भइरहेको बायोमास परियोजनाका ज्ञान व्यवस्थापन अधिकृत उषा पाण्डेयले जानकारी दिइन।
चारकोल उत्पादनमा संलग्न रतनपुर गाविस वडा नम्बर २ का ज्ञानु चौधरीले भने–'शुरुमा बजार पाउन मुस्किल थियो। होटेलहरुमा गएर यसबारे जानकारी दिएपछि अहिले माग बढेको छ। इट्टाभट्टामा समेत माग भईरहेको छ।’
बनमारा र काठको प्रयोगबाट जैविक कोइला बनाइने गरिन्छ। भट्टीमा वाफद्वारा सेकिएर कोइला बन्ने गर्छ। यसले साधारण कोइला भन्दा कार्बन उत्सर्जन समेत कम गर्ने बताइन्छ। बनमारा प्रयोग गरेर बनाइएको कोइलाको मुल्य दाउरा प्रयोग गरेर बनाइएको कोइलाको भन्दा सस्तो छ।
दाउरा प्रयोग गरेर बनाइएको चारकोल प्रतिकिलो ४५ रुपैया र वनमाराबाट बनाइएको कोइला प्रतिकिलो २५ रुपैयासम्ममा बिक्री भइरहेको छ। व्यवसायिक रुपमा चारकोलको उत्पादन हुन थालेपछि होटल तथा रेस्टुरेन्ट व्यवसायीलाई पनि सुविधा भएको छ।
'पहिले नियमित कोइला नपाइने, पाइएको साधारण कोइला पनि छिटो खरानी बन्ने समस्या थियो' धनगढी स्थित साथी होटलका सेफ प्रमुख कितापसिंह राईले भने–'अहिले त्यो समस्या छैन। चारकोल एउटै साइजको हुने भएकाले तन्दुरीमा पाक्ने परिकारको गुणस्तर पनि राम्रो बन्ने गरेको छ।’
चारकोल उत्पादनमा वनमारा झाडीको प्रयोग हुने भएकाले यसले वन संरक्षणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको सामुदायिक वन उपभोक्ता महासंघ कैलालीका अध्यक्ष तुल्सी देवकोटाले बताइन्।
सामुदायिक वनहरुले वनमारा प्रतिकिलो दुई रुपैयाका दरले बिक्री गरिरहेका बताउ“दै अध्यक्ष देवकोटाले भनिन्–'वन विनास गरिरहेको काम नलाग्ने बनमारा अहिले आयआर्जनको श्रोत बन्न पुगेको छ। वन संरक्षणका साथै सामुदायिक वनको आम्दानी बढ्न थालेको छ।’
खेर गइरहेको वनमाराको प्रयोगबाट उपाभोक्ताको आयस्तर वृद्धि गर्ने तथा वनमा आधारित हरित रोजगारी बढाउने उदेश्यले वायोमास इनर्जी परियोजना र सामुदायिक वन उपभोक्ता महासंघको पहलमा चारकोल उत्पादन शुरु गरिएको हो।
इट्टाभट्टामा समेत माग भईरहेकाले यसले भारतबाट कोइलाको आयात घटाउने अपेक्षा गरिएको सामुदायिक वन उपभोक्ता महासंघ कैलालीका सदस्य डण्डीराज सुवेदीले बताए।
जिल्लामा यसअघि व्यवसायिक रुपमा कोइलाको उत्पादन हुन नसक्दा भारतबाट कोइला आयात हुने गरेको उनले बताए। कैलालीमा इट्टाभट्टा कम्पनीले मात्रै वार्षिक लाखौं रुपैया मुल्य बराबरको कोइला भारतबाट आयात गर्ने गरेका छन्।
कैलाली, कञ्चनपुर सहित ११ जिल्लामा लागु भएको परियोजना अन्तरगत चार वर्षको अवधिमा ७ सय चारकोल उद्यमी तयार पार्ने र १० हजार ५ सय जनालाई रोजगार दिने लक्ष्य रहेको वायोमास परियोजनाका व्यवसाय विकास अधिकृत राजकुमार सेतीमहरले जानकारी दिए।
परियोजनाले उत्पादकलाई प्राविधिक तथा क्षमता अभिवृद्धिमा सहयोग गर्ने, प्रयोगकर्तासंग समन्वय गरिदिने लगायतका सहयोग गर्ने गरेको छ।
के हो चारकोल?
चारकोल कोइलाजस्तै उर्जा दिने एउटा वस्तु हो। यसको उत्पादन रुखका हांगाबिंगा तथा झाडी वुट्यानका डाठबाट गरिन्छ।
यो हलुका हुन्छ र हेर्दा कोइलाजस्तै भए पनि यसमा साधारण कोइलाको भन्दा बढी ताप दिने शक्ति हुन्छ। विशेष प्रविधि (रिट्रोट)को माध्यमबाट रुखका स–साना हांगाविगां र झाडी बुट्यानका डाठलाई ४–५ घण्टासम्म नियन्त्रित तापक्रममा तताइन्छ।
यसरी राख्दा त्यसमा भएको पानीको भाग र अरु हानिकारक ग्यास बाहिर निकाली बल्ने क्षमता भएको पदार्थ मात्र बा“की रहेको कालो पदार्थको रुपमा चारकोलको उत्पादन गरिन्छ।