रट्टेको रट्यई गर्नु पर्ने। भट्ट्याको भट्याइ गर्नु पर्ने। जाँच आउनु अघि मेरो पसिना छुट्थ्यो। पढ्न, अहँ रुचि लाग्दैन्थ्यो। ७ कक्षा पास गरेपछि भने मेरो विद्यालयको पढाइले पूर्णबिराम लियो। काठमाडौंको फर्पिङ गाउँ। घरमा हुँदा खेतबारीको काममै रमाउँथेँ। मौसम अनुसार काउली, बन्दा, इस्कुश, सिमी गाँजर यस्तै त हो। बारीमा तरकारीको कमी हुन्थेन। मेहनत भने मज्जैले गर्नु पथ्र्यो।
समस्या नपर्ने त कहाँ थियो र ? तरकारीमा रोग भने के के हुन के के लाग्नी। के गर्नु पर्छ पत्तो हुन्थेन। पढेर जानेका मानिसहरू कम थिए, परेर जानेका धेरै। वरपरका काका काकी दाइ दिदीलाई गुहार्न जानु पथ्र्यो। ‘मेरोमा केही समय काममा आइजा सिकिहाल्छस् नी’ उनीहरू सकेसम्म कुरा छोट्याउँथे। मलाई काम गराउँथे। लुरुलुरु उनका बारीमा सघाउन जान्थेँ, केही सिक्थेँ पनि। ‘लु यति औषधी हाल चट भैहाल्छ’ उनीहरूले भनेपछि भने म हनुमानले सञ्जिवनी बुटी भेट्टाएजस्तो फुरुँङ्ग हुन्थेँ। झोल, धुलो के के हुन के के, लगेर हाल्थेँ। केही सयममा तरकारी हलक्कै हुन्थे।
म दंग। बा आमा, छक्क। तै पनि मन भने मान्थेन, ‘आफूले राम्ररी नबुझेपछि अरुको भर पर्नु पर्ने नै रैछ’। विद्यालय छाडिसकेपछि भने बाहिरी किताब नै किन नहोस्, मलाई केहि पढ्नु पर्छ, बुझ्नु पर्छ भन्ने दिमाग पलाउन थाल्यो।
मेरा गाउँमा केही मिल्तीका साथी थिए। २०६६ सालको कुरा। म १७ वर्षको अल्लारे थिएँ। ‘खेतीबारीमा मात्र कति काम गर्नु जाइर गर्नु पर्छ’ जाडोमा आगो ताप्दै गर्दा सुन्दर लगायतका साथीहरूले कुरो निकाले। ‘जाइर खायो भने अरुले हेर्ने नजरै बेग्लै नी’ सुजनले भन्यो। ‘फलानोको छोरो ले जाइर खाछ भनेर चार गाममा नाम हुन्छ’ अर्कोले सुदिपले थप्यो। ‘मुला, केटी दिँदा, जाइर के गर्छ भनेर सोध्छन्, तँ त मरिन्जेल कुमारै हुन्छस्,’ तेस्रो गफाडी हरिशरणले हो नै जस्तो गरि भन्यो। आफू त दाउरा घचेट्यो। आगो दन्कायो। आलु पोल्यो। गफ सुन्यो।
बाहिर भन्दा मन भित्र धेरै दन्कँदो रैछ यस्तो बेलाँ आगो त। मलाई पनि जान्न मन लाग्यो, ‘के जागिर गर्दैमा ठूलै भइन्च र ?’
***
कुरो गर्दा कुलो सोझिएर आए जस्तो। २०६९ सालको कुरा। हामीलाई ‘जागिर खाने हो ?’ भन्दै काकाले सोध्न आउनु भो। जागिर त भातै खाएरपछि आइपर्यो भने पनि थपेर खाइन्छ। मेरो चटपटे कुरोले काका हाँस्नु भो। कुरो मात्र होला भनेको लौं साँच्चिको रैछ, एक दिन काकाले आफ्नो छोरो र मेरो लागि जागिर खोजेर आउनु भो। ग्याँस कम्पनीमा, काठमाडौं बजार। मैले घरमा कुरा गर्नुपर्ने भो। आमा त मेरो बीचार सुन्ने बित्तिकै तर्की हाल्नु भो, ‘याँ काम अर्ने मुन्छे छैनन्। घराँ, खेताँ म एउटैले क्यारी भ्याउनु? बाको ताल उहि हो, जुनै काममा नी सुस्ते।’
हुन पनि जंगलबाट स्याउला ल्याउनु, गोठेधन्दा भ्याउनु। बाख्राको मुखमा घाँसको बुझो लगाउनु। खेतका माटाका डल्ला फुटाल्नु। घरमै जागिरको लागि भेकेन्सी खोल्नु पर्ने भाथ्यो। मलाई भने घर बाहिरको जागिर खाउँ खाउँ लागेर आयो। आमालाई बल गरिगरि सम्झाएँ। ‘बालाई सोध, अब म के भनुँ त?’ आमाले बल्ल तल्ल यतिका कुरा गर्नु भो। उफ्, धेरै सयम लाग्यो बुझाउन पनि। ‘जाने भे जा’ बाले त एक पालीमै फुत्त कुरो टुंङ्गाए। मलाई हाइसञ्चो। भोलिपल्टैबाट जाागिरमा दुकुरेँ।
***
ललितपुरको सानेपा। जागिरमा ठाँटिएर गइयाथ्यो। ग्यास कम्पनी। काम उहि त हो, सिलिन्डर उचाल्ने र थेचार्ने। दोस्रो दिनमै हात किच्यो, बुढी औंलाको नङ्ग कप्लक्कै। मैले ब्यान्डेज लगाएर केहि दिन आराम गर्नुपर्ने भो। नयाँ जागिर, कि गर कि बाटो लाग। एक दुई दिनमै फेरि पनि हात बढाउन सुरु गरेँ। ८ महिना सम्म दौडियो काठमाडौं सररऽऽ। गाडी टाटाको, चप्पल बाटाको भन्ने। ड्राइभरदाइ थिए, अचम्मका। एक श्रीमती, ६ छोराछोरी। तै पनि सधैं फिलिलि। यसो स्टेरिङ घुमाउन देउन हामी पनि सिक्छौं भन्यो ‘राती गिलास भर्छस?’ भन्दै सोध्थे। आफू चुप्प। उनलाई बेलुका पिलाउने हो भने दिउँसो स्टेरिङ मिलाउन पाइने। कस्तो अचम्म। भनुम न ड्राइभर दाजु त, ‘नखाइन्जेल ढल्न नसक्ने, ढलेपछि चल्न नसक्ने।’
साँझ पर्यो कि जाम भनिहाल्थेँ। म भैगो भनेर मुन्टो हल्लाउँथे। मेरो एउटो साथे भने पछि लाग्यो। म झण्डै रक्सिको पछि लागिन्। कसो कसो, यस बीचमा गाडी भने सिकियो। ट्याक्क ट्राल पनि दिइयो। फ्याट्ट फेल पनि भइयो। पहिलो जागिरबाटै थकाइ लाग्न थाल्यो, मेरो पालो अब यो बमको सिलिन्डर गुल्टाउने काम चाइ गर्दिन भन्ने भो। कुन दिन ड्याम्म गर्यो भने, खेल खत्तम।
दशैंमा घर गएर फर्केपछि। गएको वर्ष कार्तिक तिर। मैले रविभवनको एक सिक्योरिटि कम्पनीमा जागिर पाएँ। लु अब भने बसेरै खान पाइने भो भन्ने भो। धनकुटाको एकजना साथी थियो, निर्मल। उसैले मिलाइद्या। बीचरोसँगै बस्दा एक फेर मार्निको बिरामी पर्यो उ। खोले बनाएरै एक हप्तासम्म सेवा गर्ने मौंका मिल्यो, तंग्रियो पनि। उसले पनि नयाँ जागिरमा बोलाउने गुन लाको थियो, थोरै भएपनि तिर्न पाइयो। जिन्दगीको किताब यस्तैबाट पढ्ने होला भन्ने मनमा सोच आयो। ‘हैन पढ्न पर्छ यार, स्कुल नपढेनी बाहिरी किताब त हेर्न पर्छ’ उ मलाई हौंस्याउँथ्यो। आफ्नो भने जाँगर, पाकेको मेवा झै, फतक्कै।
तै पनि एक दिन थापाथलीमा पुगेर एउटा किताब किनियो, आफ्नै खल्तिको पैसो हालेर। सानामा भगवान भनेपछि खुबै बलिया हुन्छन भनेर हुरुक्कै हुने म। भगवान सम्बन्धी कै किताब किनेँ। पढ्छु भन्दा भन्दै एक पटक घर लगेथेँ। किताबले उतै आराम गर्यो, मैले यतै आराम गरेँ।
गार्डको काम गर्दा नाइट ड्युटि हुन्थ्यो। त्यसै शिलशिलामा अर्को साथीसँग भयो, बिमल। उ पनि रातिकै ड्युटि गथ्र्यो। निन्द्रा भगाउन भएपनि पढ्न पर्छ भन्थ्यो। मलाई भने ठीक उल्टो, किताब देखेपछि निन्द्रा लाग्ने। तै पनि उसले मेरो हातमा जबरजस्ती एउटा किताब थमाइदियो, हृदयचन्द्रसिंह प्रधानले लेख्नु भएको ‘एक चिहान।’ कस्तो पढ्ने कामको सुरुवात पनि चिहानबाट गर्नु पर्ने भो भन्दै हाँसे। सुरक्षा गार्डको ड्युटी।
दिउँसो भने दिउँसै राति भने राति नै। जागिर भन्ने कुरो, थोरै नै किन नहोस् पैसा छाप्ने मेसिन झै लाग्थ्यो। जति खिइयो, उति तलब खप्टिने। हातमा दुई चार पैसा पर्न थालेपछि मैले निन्द्राको तालिकालाई पनि गोलमटोल गर्दिएँ। समय मिलाएर एक चिहान पुस्तकका पान्ना पनि पल्टाएँ। बिस्तारै रस बस्दै गयो। किताब भनेपछि स्कुलको सम्झाना आउँथ्यो। बुझे नि नबुझेनी रट्टेको छ रट्टेको छ। तर उपन्यास कथा पढ्न थालेपछि छुट्टै आनन्द आउँदो रैछ।
गरिब परिवारको दुःख। मानिसको कर्तव्य। जिन्दगीको परिभाषा, यस्तै धेरै कुरा बुझ्न पाएँ। रस बसेपछि पढ्ने भन्ने कुरो पनि लागूऔषध जस्तै रैछ, एउटा सकिएपछि अर्को किताबको खोजी हुन थाल्यो।
तर ढ्याक्कै पैसा तिर्न आँट अझै आएन। सुरक्षा गार्डको काम न हो। कहिले काही समयमा तलब हुँदैन्थ्यो। केहि फटाहाले काठमाडौंका किराना पसलमा उधारोको पहाड उठाएर फरार भएका रहेछन्। हामीले पछि तिर्छु भन्दा पनि उधारो पाउन मुस्किल हुन्थ्यो। घरमा पैसो पठाउनै पर्यो। एक पटक खर्च गर्दा चार पटक सोच्नु पर्ने। तेस्रो पटक सोच्दैमा भैगो पछि किनौंला भन्ने हुन्थ्यो।
जागिरको अस्थायी पोष्टिङ, नयाँ मान्छे म। अफिस पनि बदली रहन थाल्यो। म लाजिम्पाट स्थित एक अफिसमा पुगेँ। २०७०को अन्तिम तिरको कुरा हो यो। एक दिनको कुरा बाटोमा भेटेर ल्याको हो पढ भनेर एक कर्मचारीदाईले कागजको खोष्टो थमाइदिनु भो। त्यसमा ज्ञान सागर र धर्तिमा अवतार भन्ने पुस्तकका बारेमा लेखिएको रहेछ, सायद उनैलाई पत्तो थिएन। मनमा शान्ति दिने पुस्तक। फोन नम्बर पनि रहेछ। फोन गरेपछि पुस्तक भनेकै ठाउँमा ल्याइदिने, सित्तैमा।
अफिसको घण्टी पनि फ्रि नै थियो। बुझौंन भनेर फोन थिचिहालेँ। ट्याक्क, पुस्तक हात पर्यो। साँझ बिहान त यसै खाली। ड्युटिको समय पनि बेलाबेलामा खाली हुन्थेँ। पुस्तक पढ्न थालेँ। मानिसलाई निराशाबाट कसरी आशा जगाउने भन्ने खालका कुरा लेखिएका थिए। मेरा लागि रात दिनसँगै बस्ने साथी पनि भए तिनीहरू। पढ्दै गएँ हराउँदै गएँ। उसै त रक्सी कहिल्यै खाँदैन्थेँ। अब भने माछा, मासु पनि खाने बीचार छाडेँ।
मैले दोहोर्याएर पढेँ। किताब भित्र यतिका धेरै मन बहलाउने कुरा हुन्छन भन्ने सोचेको पनि थिइन। ज्ञानको खोजी गर्न थालेपछि मान्छे निक्कै भोको हुँदो रहेछ। खानाको भोको भन्दा अझ गहिरो। मैले बाइबल पढेँ। ओम शान्ति पढेँ। मन शान्ति पारेँ।
काममा पालो लाग्दा, फुर्सद हुन्थ्यो कि बजार निस्कन्थेँ। बाटोमा फिजाइँएका पुस्तक हेर्न थालेँ। कृषिका बारेमा धेरै सिक्नुपर्छ भन्ने मेरो मनमा थियो। बाख्रा, माहुरी, काउली, गोलभेडा बन्दा आदिको खेतीबारेमा किताब ल्याएरै पढेँ। बल्ल बुझेँ, ति काकाले किन र कसरी तरकारीमा औषधी हाल्ने कुरा ठीक पार्थे भन्ने।
यस्तै मेरो हातमा परेको अर्को पुस्तक थियो, बबिता बस्नेतले लेख्नु भएको ‘सम्बन्ध हिन सम्बन्ध’ थियो। यसले महिला पुरुष बीचको सम्बन्ध यसमा आउने उतारचढावको कुराहरू पस्केको छ। प्रेम बिनाको सम्बन्ध दिगो हुँदैन भन्ने मैले बुझेको यो पुस्तकमा दुःख नपरी मान्छेले सिक्दैन भन्ने तथ्य गहिरोसँग लुकेको थियो।
पढ्दै जाँदा झन झन भोको र अज्ञानी भैदो रहेछ। मैले बल्ल मेरा दुई आँखाहरूको अर्थ लगाउन थालेँ। एउटा आँखा ज्ञान थियो। अर्को आँखा परिश्रम। सहि के हो? गलत के हो ? यस्ता कुराको लेखाजोखा पनि गर्न थालेको छु। लाग्छ, सम्पत्ति त मुखमा हालेको चिनिको फ्वाँक जस्तो हो, एकैछिन पछि बिलाएर जान्छ। ज्ञान भनेको चराको प्वाँख जस्तो हो, जसले हामीलाई उडाएर दश दुनियाँ देखाउँछ।
दश दुनियाँ खोजि हुँदै गर्दा मैले सुनेको किताब थियो, ‘जीवन काँडा कि फूल।’ मैले त्यो किताब बजार गएर आफैले खोजेर ल्याएँ। कति हेपाइ, दुखाइ भएपनि संघर्ष गरेर माथि उठेकी झमक घिमिरेको कथाले मलाई निक्कै मन छोयो। झमकले त यतिका दुःख हुँदा केही गरेर देखाइन भने हामीले आफ्नो जीवन यस्तो भो भनेर गुनासो गर्नुको कुनै तुक छैन। पढ्दा लाग्यो जीवन फूल रहेछ, हामी काँडा बनाइराखेका छौं।
मैले बल्ल नजिकबाट बुझ्न थालेँ जीवनलाई। बाटो देखाउने पुस्तकको खोजी गर्दै जाँदा मलाई पत्रिका पढ्ने पनि रुचि हुन थाल्यो। पत्रिकामा पनि किताबका कुरा हुन्थे। साथीभाई, सरहरूसँग कुन किताब पढ्ने भन्ने रुचि राख्न थालेँ। पत्रिका पल्टाउँदा कृषिका कुरा लेखेको छ कि आँखा तन्काइ तन्काइ हेर्छु। सफलताका कथाले मन छुन्छ, आजै जाउँ। काम सुरु गरौं भन्ने हुन्छ। हैन केही रकम जम्मा गरेर मात्र सुरु गर्छु भन्ने कुराले मन बाँध्छु र बस्छु।
दिक्क भएको बेलामा पासपोर्टमा विदेशी भिसाको टिको लगाएर उडिहालुँ झै पनि हुन्छ। तर हैन यहिँ गर्नु पर्छ भन्ने कुरोले जित्छ। अनि खिस्स हाँस्छु, ‘धेर थोरै मैले पनि पढेको छु, बुझेको छु। त्यही भएर पो मन सम्हालिन्छ।’
यस्तै यस्तैमा मलाई एक जना स्वर्णिम दिदीले पुस्तक दिनु भो, ‘माइक्रोसफ्टदेखि बाहुनडाँडासम्म’। जोन ऊडले लेखेको यो पुस्तक जति पढ्दै जान्थेँ उती हराउँदै जान्थे। निराशालाई पाइताला मुनि राखेर आशहरूलाई शीरमा राखेर अघि बढ्न उनी सिकाउँथे।
माइक्रोसफ्ट कम्पनीको जागिर छाडेर गरिब बालबालिकालाई पढाइमा सघाउन अघि हिँडेका उनको सफलताको कथाले कम्ता मन छोएन। ज्ञानले गरिबहरूको दुःख मेट्न सकिन्छ भन्ने कुरा यसमा उल्लेख गरेको छ।
स्कुलमा थोत्रिन्छ भनेर किताब बाकसमा थन्काएर राख्ने चलन पनि छ हामी कहाँ। तर पुस्तक जति खेलायो उति नयाँ हुन्छ भन्ने मैले बुझेँ। जोन उडले आफ्नो खुसी छाडेर गरिबको खुसी खोज्दै हिँडे। उनलाई पढ्दा लाग्यो भगवान पक्कै छन्, तर कर्मले पुज्नुपर्छ। कर्मकै कुरो। मेरो अस्थायी घुमन्ते जागिरले पनि केहि दिनमै विश्राम लिँदैछ। मैलै अझ धेरै पढ्न, बुझ्न बाँकी छ, जुन कहिल्यै सकिँदैन। कर्मकै शिलशिलामा, जागिर खोज्दै हिड्दा मैले पुस्तक भेटेँ। पुस्तक खोतल्दै जाँदा जिन्दगी भेटेको छु। त्यसैले लाग्छ, मनलाई दह्रो बनाउने यस्ता पुस्तकहरू बारम्बार लेखिनु पर्छ। धेरै बुझेर, खोजेर, भोगेर लेखिनुपर्छ। सत्य हुनुपर्छ। ताकि म जस्ता धेरै अल्लारेले जिन्दगीको सहि बाटो समातुन।
(भवसागर घिमिरेसँगको कुराकानीमा आधारित)