सल्यानमा आज बिहान भएको ३ वटा यात्रुबाहक बस लुटपाटमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ
अहिले केहीबेर अघि दोहोरो भीडन्तका क्रममा प्रहरीले लुटेराहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा जाजरकोट खलंगा ८ का २१ वर्षीय सविन राना र अरूको परिचय प्रहरीले खुलाएको छैन।
श्रीकोट ६ राघेचौर जंगलमा एसएसपी प्रेमचन्द्रको नेतृत्वमा गएको टोलीसँग दोहोरो झडप भएको राप्ती अञ्चल प्रहरीका प्रवक्ता कृष्ण शर्माले सेतोपाटीलाई बताए।
नेपालगन्ज–दाङ तुलसीपुर हुँदै रुकुमको चौरजहारी तर्फ जाँदै गरेका ३ वटा यात्रुबाहक बस सल्यानको स्विकोट गाविसको बरुली भन्ने स्थानमा आज बिहान साढे २ बजेतिर नौ जनाको संख्यामा रहेका लुटेराको समूहले यात्रुहरुलाई पेस्तोल देखाई लुटपाट गरेका थिए।
अञ्चल प्रहरी कार्यलय राप्तिका प्रवक्ता एसपी कृष्ण शर्माका अनुसार ३ जनालाई नाइन एमएम पेस्तोल र ३ लाख सहित उनीहरूलाई पक्राउ गरेको हो। लुटेराहरूमध्ये ३ जना जाजरकोट, २ जना सल्यान र एक जना सुर्खेतका हुन्।
दोहोरो झडपमा घाइते भएका दुई जना फरार छन्। उनीहरूको खोजी भइरहेको कार्कीले बताए।
लुटेराहरुले यात्रुबाट अन्दाजी १० देखि १२ लाखसम्म रकम र ५५ देखि ८० थानसम्म मोवाइल समेत लुटेर लगेका थिए।