नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले सरकारले विद्यार्थीको शैक्षिक प्रमाणपत्रका आधारमा ऋण उपलब्ध गराउन गरेको निर्णय विद्यार्थी आन्दोलनको ऐतिहासिक र महत्वपूर्ण उपलब्धि भएको निष्कर्ष निकालेको छ ।
सङ्गठनको आज बसेको स्थायी समितिको बैठकले आगामी जेठ १ गते ५२औँ स्थापना दिवसका दिन सरकारको उक्त निर्णयलाई कार्यान्वयन गराउनका लागि एक हजारभन्दा बढी विद्यार्थीले काठमाडौँ उपत्यकामा म्याराथुन दौड गर्ने निर्णय गरेको सङ्गठनका सचिव आरसी लामिछानेले जानकारी दिए।
त्यसैगरी बैठकले विगतको विद्यार्थी आन्दोलन तथा आगामी दिनमा विद्यार्थीको भूमिका विषयमा विसं २०३६ का विद्यार्थी नेताहरु टङ्क कार्की, बलबहादुर केसी र लीलामणि पोख्रेलका दृष्टिकोण तथा सुझाव सङ्कलन गर्ने निर्णय गरेको छ । यसैगरी शिक्षाविद् मनप्रसाद वाग्ले र विद्यानाथ कोइरालालाई सम्मान गर्ने निर्णय गरेको छ ।
बैठकले आगामी जेठ २ गते बस्ने सङ्गठनको पूर्ण बैठकको तयारी तथा विधान, राजनीतिक प्रतिवेदनमाथि छलफल गरेको छ । रासस