सिराहाको मौवाही गाविसको जनता माविका शिक्षक रामखेलाउन यादव। तस्बिर: सेतोपाटी
कक्षा सातमा पढ्ने १४ वर्षकी इन्दिरा साहलाई बिहीबार मैले स्कुलमै भेटेँ।
एक महिनाअघि उनको बिहे गर्ने कुरा चलेको रहेछ। केटा पक्षका मानिस उनलाई हेर्न स्कुलमै आएका रहेछन्। उनीहरूले कक्षाबाहिर बोलाएर इन्दिरालाई भेटे।
तर, उनको विवाह हुन सकेन।
सिराहाको लाहान बजारबाट करिब १० किलोमिटर दक्षिणमा पर्ने मौवाही गाविसको जनता माविकी विद्यार्थी हुन् इन्दिरा।
नेपालमा धेरै बालविवाह हुने जिल्लामध्ये सिराहामा पनि एउटा हो। इन्दिरा भने भाग्यमानी रहिछन्। उनको विवाह कसरी रोकिएछ भन्ने बुझ्न उनलाई कक्षाकोठामै छाडेर हामी उनको घर गयौं।
मौवाही–९ मा पर्ने उनको घर स्कुलबाट तीन–चार किलोमिटर टाढा छ। खेतका आली र हिलो बाटोमा मोटरसाइकल हाँक्दै हामी उनको घर पुग्यौं।
इन्दिराका बुवा श्याम साह ट्युबेलमा नुहाइरहेका थिए। उनकी आमा भोलादेवी साह धान सुकाइरहेकी थिइन्। बाख्राका पाठाले उनलाई हैरान बनाइरहेको दखिन्थ्यो। आँगनमा भैंसी बाँधिएको हुँदा निकै फोहोर थियो। घर वरपर प्रशस्तै हरियो झिँगा भन्किरहेका थिए। सँगै जोडिएका पाँचवटा झुपडीका बालबालिका भेला भएर त्यहीँ खेलिरहेका थिए।
जस्ताको छानो हालेको र बाँसको टाटीले बारेको एककोठे झुपडी इन्दिराको घर हो। धुरीमा करिब छ फिट अग्लो छानो बलेँसीमा मुस्किलले चार फिट अग्लो थियो।सात कक्षासम्मको पढाइ उनले यहीँबाट अगाडि बढाएकी हुन्। यो घर बर्खाको पानी र हिउँदको शीतलहर छेक्न सक्नेजस्तो पटक्कै देखिँदैन।
भोलादेवीले पुराना लुगाफाटो पन्छाइदिएपछि हामी सिकुवामा राखेको खाटमा बस्यौं।
‘इन्दिराको बिहे गरिदिन लाग्नुभएको थियो। के भएर बिहे नभएको?’
मैले नेपालीमा सोधेको प्रश्न उनले बुझिनन्। मसँगै गएका साथीले मैथिलीमा अनुवाद गरिदिए।
त्यसपछि भोलादेवीले इन्दिराको नभएको बिहेको कथा सुनाइन्, मैथिलीमै।
***
दुईवटी छोरी भएपछि भोलादेवीलाई पहिल्यैदेखि यिनको बिहे कसरी गरिदिने भन्ने चिन्ता थियो। दुई छोरीसँगै उनको एउटा छोरो पनि छ, तर छोरोको विवाहको चिन्ता गर्नुपर्ने कुनै कारण छैन।
श्रीमान बोल्न नसक्ने भएकाले पनि भोलादेवीलाई थप समस्या छ। इन्दिराका बुबा श्याम सबै काम गर्छन् तर बोल्न सक्दैनन्। भोलादेवी सानै हुँदा उनका अभिभावकले श्यामसँग विवाह गराइदिएका थिए। अहिले सीमित खेतको भरमा परिवार धानिरहेकी उनलाई दुई छोरी अन्माएर पठाउने चिन्ताले सताउने नै भयो। त्यसैले उनी त्यही खेत बेचेर इन्दिराको विवाह गराइदिने सोचमा थिइन्।
उनको भन्दा अलि राम्रो आर्थिक अवस्था भएका आफन्तले उनलाई भनेका रहेछन्, ‘हाम्री छोरी ममतासँगै इन्दिराको बिहे गराइदिनु। खर्च ज्यादा पर्दैन।’
भोलादेवी त तयार थिइन्, तर सँगै बिहे गराइदिन सम्भव भएन। इन्दिरालाई हेर्ने केटा ममताको बिहेपछि मात्रै आए। बिहे हुँदा ममता पाँच कक्षामा मात्रै पढ्दै थिइन्।
ममताको बिहे भएको केही दिनमै इन्दिरालाई हेर्न केटा आइपुगे। इन्दिरा घरमा थिइनन्। उनीहरू स्कुलतिरै लागे। बेलुकी स्कुलबाट फर्किएपछि इन्दिरा आमासँग रून थालिन्। आमालाई छाँद हालेर इन्दिराले भनिछन्, ‘अभी हम शादी नहीँ करवै माइ!’ (म अहिले बिहे गर्दिनँ आमा!)
भोलादेवीले तीनछक परेर सोधिन्, ‘कथिला शादी नहीँ करभी?’ (किन बिहा गर्दिनस्?)
‘राम सरले मलाई साह्रै गाली गर्नुभयो,’ इन्दिराले आमासँग रुँदै भनिछन्, ‘मसँग पढ्ने साथीहरूको पनि बिहे भएको छैन। मलाई राम सरले पढ्नुपर्छ भनेको छ।’
इन्दिरा असाध्यै रोएपछि भोलादेवीले जबर्जस्ती गर्न सकिनन्। उनले थाहा पाइन्, राम सरकै कारण इन्दिराको बिहे रोकिएको हो।
तिनै राम सर मलाई लिएर भोलादेवीको घर पुगेका थिए।
राम सर अर्थात् रामखेलाउन यादव। उनी मौवाहीमा बालिका विवाह रोक्न दुई वर्षदेखि लागिपरेका छन्। ममता साहको परिवारमा पनि सानै उमेरमा बिहे नगरिदिनु भनेर उनले सम्झाउन खोजेका थिए। तर, उनको प्रयास सफल भएन।
ममताकी आमाले रामलाई सोधिछन्, ‘हाम्रो छोरी पछि अर्कैसँग भागिदियो भने तिमी जिम्मा लिन्छौ?’
‘कसैले कसैको जिम्मा लिने कुरा छ यहाँ?’ रामले आक्रोश मिसाएर सुनाए, ‘मैले भनिदिएँ, तिमी अहिले नै अर्कैसँग भागिगयौ भने कसले जिम्मा लिन्छ? भागिजाने कुरा उमेरले रोक्छ र? भागिजान्छ भनेर बच्चाको बिहा गराइदिने?’
विगत दुई वर्षमा उनले करिब छ जना बालिकाको विवाह रोक्न प्रयास गरेका थिए। यसपालि उनी पहिलोपल्ट सफल भएका हुन्।
बिएडसम्मको अध्ययन सकेका उनी जनता माविका अंग्रेजी शिक्षक हुन्। हट्टाकट्टा ज्यान र हँसिलो अनुहार भएका यी युवक त्यत्तिकै आत्मविश्वायुक्त देखिन्छन्। आफ्नो गाउँसमाज पछाडि परेकोमा उनलाई पीडा छ। सँगसँगै प्रयास गर्यो भने समाज बदल्न सकिन्छ भन्ने विश्वास पनि छ।
‘हाम्रो समाज एकदमै पछाडि परेको छ,’ इन्दिराको घर जाँदा हिलो बाटोमा मोटरसाइकल ब्यालेन्स गर्दै उनले भनेका थिए, ‘एकदमै कुरीति छ यहाँ। यहाँको मान्छेमा चेतना छैन। त्यसैले सुधार गर्नु धेरै गाह्रो परिरहेको छ।’
‘तपाईँ कहिलेदेखि यसरी बालविवाह रोक्न भनेर लाग्नुभयो?’
‘पहिलैदेखि यो खराब हो भन्ने त थियो,’ उनले जवाफ दिए, ‘तर काम गर्न थालेको त दुई वर्ष मात्रै भयो।’
विवाह हुँदा उनले भर्खरै १२ कक्षाको परीक्षा दिएका रहेछन्। उनकी श्रीमती बिन्देश्वरी यादव कक्षा ११ मा पढ्दै थिइन्। रामको उमेर २० वर्ष थियो भने बिन्देश्वरी १८ वर्षकी थिइन्। बिहे भएको तीन वर्षपछि बिन्देश्वरी गर्भवती भइन्। श्रीमतीको स्वास्थ्य जचाउन उनी लाहान गएका थिए। त्यहाँ डा. पशुपति चौधरीले गर्भवती महिलाको स्वास्थ्य जाँच गरिरहेका थिए।
त्यहाँ कलिलो उमेरकी एक गर्भवती किशोरी उनले देखे। किशोरी शरीरमा उनको ठूलो पेट देख्दै रामलाई साह्रै नराम्रो लागिरहेको थियो।
डा. चौधरी ती किशोरीका श्रीमानलाई सम्झाइरहेका थिए, ‘अब भगवानको कृपा भयो भने मात्रै आमा र बच्चामध्ये कसैलाई बचाउन सकिएला। नत्र गाह्रो छ।’
रामकी श्रीमती बिन्देश्वरी पनि गर्भवती थिइन्। उनको मनमा चिसो पस्यो। डा. चौधरीको कुरा उनको मुटुमा बिझ्यो, च्वास्सै। उनी रन्थनिए।
उनले डा. चौधरीलाई सोधे, ‘किन ती बहिनीलाई बचाउन सकिँदैन भन्नुभएको?’
चौधरीले जवाफ दिए, ‘तिनको उमेर बच्चा जन्माउन सक्ने भएकै छैन। सानो उमेरमा बिहे गर्ने र बच्चा जन्माउने भयो भने यस्तो हुन्छ।’
यो कुरा उनको मनमा रहिरह्यो।
‘आजकल हाम्रा यादवहरूको किन अपरेसन नगरी छोराछोरी हुँदैन भन्ने मैले अनिमात्र थाहा पाएँ,’ उनले भने, ‘सानो उमेरमा बच्चा जन्माउन सक्ने नभई बिहे गराइदिँदा यो सब भएको रहेछ।’
बिन्देश्वरीले भने अपरेसन नगरीकनै छोरो जन्माएको उनले बताए। श्रीमती र छोराको स्वास्थ्य पनि राम्रो भएको उनले सुनाए।
यतिबेला उनी जनता माविमा पढाउन थालिसकेका थिए। अंग्रेजीसँगै उनले कक्षा ९ र १० को स्वास्थ्य विषय पनि पढाउनुपर्ने भयो, जसमा महिलाको प्रजनन् प्रणालीबारे सबै लेखिएको छ।
‘त्यहाँ महिलाको प्रजनन् स्वास्थ्यबारे सब लेखिएको छ सर,’ उनले भने, ‘सानो उमेरमा बच्चा जन्माउँदा आमा र बच्चा दुवैको ज्यान खतरामा पर्छ भनेर लेखिएको छ। १८ वर्षपछि मात्रै महिलाको प्रजनन प्रणाली राम्रोसँग विकास भइसक्छ भनेर पनि लेखिएको छ।’
लाहानको क्लिनिकमा भएको घटना र पाठ्यपुस्तकमा भएको कुरा मिलेपछि उनलाई बालविवाह रोक्नैपर्छ भन्ने थाल्यो।
यसैबला बिन्देश्वरीले जागिर पाइन्। रेडक्रसले सञ्चालन गर्ने एउटा परियोजनामा सामाजिक परिचालकका रूपमा। महिला हिंसाविरुद्ध काम गर्ने यो परियोजनामा बालविवाहबारे निकै छलफल हुन्थ्यो। बिन्देश्वरीसँगै राम पनि प्रायः छलफलमा सहभागी हुन्थे।
बालविवाह रोक्नुपर्छ भन्ने चेतना त जाग्यो, तर के गर्ने उनलाई थाहा थिएन। दुई वर्षअघि जब आफैंले पढाउने कक्षा पाँचकी बालिकालाई अन्माएर पठाइयो, तब उनलाई असह्य भयो। यसपछि उनी आफूले थाहा पाएसम्म बालिका र कम उमेरका किशोरीहरूको विवाह नहोस् भनेर रोक्न प्रयास गर्छन्।
***

भोलादेवी साह
भोलादेवीलाई थाहा थियो यिनै राम सरको कारण इन्दिराको बिहे नभएको भन्ने।
त्यतिबेला इन्दिराको कुरा सुनेर उनी छक्कै परिछन्। बिहेको कुरा आउँदा छोरीले यस्तो कुरा गर्ली भन्ने उनले कल्पनै गरेकी थिइनन्। यहाँको ‘संस्कार’ मा इन्दिराको प्रतिरोध ज्यादै ठूलो घटना थियो।
दिनप्रतिदिन इन्दिराको उमेर बढ्दैजाँदा भोलादेवीको मनमा त्यति नै बेचैनी बढ्दै जान थालेको छ।
‘किन सानै उमेरमा इन्दिराको बिहे गराइदिन खोजेको त?’ मैले सोधेँ।
भोलादेवीले मुख्यतः तीनवटा कारण बताइन्।
पहिलो नम्बरमा थियो, दहेज अर्थात दाइजो। छोरीको उमेर जति बढ्दै जान्छ, त्यति धेरै दहेज दिनुपर्ने हुन्छ भन्ने चिन्ता छ भोलादेवीलाई।
‘अहिले कतिसम्म खर्च गर्नुहुन्छ इन्दिराको बिहेका लागि?’
खेत बेचेर दुई लाखसम्म दहेज दिने सोच रहेको उनले बताइन्। यो नै उनले देखेको सबैभन्दा उत्तम विकल्प थियो।
‘त्यो दुई लाख खर्च गरेर इन्दिरालाई धेरै पढाउनु, आफैं पैसा कमाउन सक्ने बनाउनु,’ रामले भोलादेवीलाई सम्झाउन खोजे।
‘नहीँ नहीँ,’ भोलादेवी आत्तिइन्।
‘छोरी धेरै पढ्यो भने अझ धेरै पढेको ज्वाइँ चाहिन्छ। पढेको ज्वाइँले झन् धेरै दहेज माग्छ।’
पढेलेखेका केटाले अझ धेरै दहेज माग्ने भएकाले पनि बाबुआमाले छोरीलाई पढाउनु साटो सकेसम्म छिटो बिहे गरिदिने गरेका छन्। भोलादेवीलाई पनि यही चिन्ता थियो। इन्दिराको बिहे जति ढिलो हुन्छ, उनको पढाइ त्यति माथि चढ्दै जान्छ। छोरीको पढाइ जति धेरै हुन्छ, त्यति नै धेरै दहेज दिनुपर्ने हुन्छ।
भोलादेवीले बताएको दोस्रो कारण हो, पारिवारिक प्रतिष्ठा।
जसरी ममता साहकी आमाले रामलाई आफ्नी छोरी कसैसँग भागी भने तिमी जिम्मा लिन्छौ भनेकी थिइन्, भोलादेवीको पनि यही चिन्ता थियो।
‘हाम्रो समाजमा छोरीले आफूखुसी विवाह गरेमा पूरै खानदानको इज्जत जान्छ भन्ने मान्यता छ,’ रामले भने, ‘त्यसैले छोरीको छिटो विवाह गराइदिन्छ यहाँ।’
भोलादेवीले बताएको तेस्रो कारण सामाजिक दबाव थियो।
रामले उनलाई राम्रैसँग भनेका थिए, ‘२० वर्ष नपुगी इन्दिराको बिहे गराइदिनुभयो भने म पुलिसमा उजुरी गरिदिन्छु। अनि पुलिसले बिहे त रोकिदिन्छ नै, तपाईं र अंकललाई पनि छ महिना कैद गर्छ।’
भोलादेवीले ‘कैद’ को अर्थ बुझिनन्। छिमेकी महिलाले ‘पुलिसले जेलमा हाल्छ’ भनेपछि उनको अनुहारको रङ बदलियो। उनी डराइन्।
बालविवाह कानुनी अपराध हो भन्ने सम्झाइ सकेर रामले सोधे, ‘अब इन्दिराको बिहे २० वर्ष पुगेपछि मात्रै गराइदिनु हुन्छ त?’
‘छरछिमेकमा कुरा काट्छ, नराम्रो नराम्रो भन्छ,’ भोलादेवीले भनिन्, ‘एसएलसी दिँदा नि बिहा गराइदिएन भने त प्रतिष्ठा जान्छ।’
रामले भोलादेवीलाई सम्झाए, ‘छोरीलाई धेरै पढायो भने त्यति नै पढेको ज्वाइँसँग बिहा हुन्छ। दहेज पनि दिनु पर्दैन।’
उनले अझै थपे, ‘हाम्रै गाउँका चौधरीहरू हेर्नु त। उनीहरूको छोरीहरू कति ठूलो भएपछि बिहा गर्छ। सबै भागेको छ त? सिंहकोमा पनि बालविवाह गराउँदैन। यो समस्या हाम्रोमा मात्रै छ। यस्तो गर्नु हुँदैन।’
छोरीले जति पढ्छ त्यति नै पढेको ज्वाइँ म आफैं खोजिदिउँला समेत भनेर समेत सम्झाए।
तै भोलादेवी इन्दिरा २० वर्ष पुगेपछि मात्रै बिहे गराउने कुरा मान्न तयार भइनन्।
सबैकुरा गरिसकेपछि हिड्ने बेला मैले भोलादेवीलाई सोधेँ, ‘अब इन्दिराको बिहे कहिले गराइदिनुहुन्छ?’
‘अब यो साल त यस्तै भइगयो, अर्को साल चाहिँ कटाउँदिनँ,’ उनले जवाफ फर्काइन्।
राम फिस्स हाँसे।
‘हाम्रो मान्छेमा चेतना नै छैन,’ रामले दुखेसो पोखे, ‘अशिक्षा छ। कुरा बुझाउनै साह्रो छ।’
उनी विद्यालय र समुदाय दुवैमा रहेको अशिक्षाको अन्धार हटाउन लागिपरेका छन्। कम्तीमा आफ्ना विद्यार्थीको २० वर्ष नभई विवाह हुन नदिने उनको सोच छ।
‘मैले भनिदिएको छु कि १२ कक्षा पढाएर मात्रै छोरीको बिहे गरिदिनु, अनि विद्यार्थीलाई पनि त्यही भनेको छु,’ उनले भने, ‘१२ कक्षा पढ्दा त कम्तीमा पनि १९–२० वर्षको भइजान्छ।’
सुरुमा बालविवाह रोक्ने काममा उनी एक्लै पर्थे। गाउँसमाजमा उनको पक्ष लिने कोही थिएन। अहिले ‘सुशासन सहजीकरण’ कार्यक्रम अन्तर्गतको ‘आस्था’ परियोजनाले बालविवाहजस्ता कुरीतिविरुद्ध समाजलाई सचेत बनाउने अभियान चलाइरहेको छ। त्यसअन्तर्गत महिला विरुद्ध हुने हिंसा न्युनिकरणका लागि महिला र पुरुष समूह गठन भएका छन्।
पुरुष समूहमा राजनीतक दलका गाउँका अगुवा, शिक्षक, पुरोहित लगायत सहभागी छन्। त्यसैले पनि रामलाई यो समूहको साथले धेरै आँट दिएको छ।
उनी आफै पुरुष समूहका सचिव छन्।
यी सबैको आड पाएर अब रामलाई मौवाही बालविवाहमुक्त होलाजस्तो लाग्न थालेको छ। पूरै सिराहाबाट बालविवाह उन्मुलन गर्ने सपना पनि छ।
इन्दिराहरूले बीचैमा पढाइ छोडेर कलिलै उमेरमा विवाह गर्न नपरोस् भन्ने उनको चाहना छ।
***
बिहान उनको घर जानुअघि इन्दिरासँग हाम्रो छोटो कुराकानी भएको थियो।
‘अब तिमी कतिसम्म पढ्छौ?’
‘हम बहुते पढवै सर!’(म धेरै पढ्छु सर!)
‘अनि बिहे कहिले गर्छौ त?’
‘राम सर कहिछै १२ कक्षा पढ्के मात्रै शादी करवै। हम १२ कक्षा पढ्के साधी करवै।’ (रामसर भन्नुहुन्छ कि १२ पढेर मात्रै बिहे गर्नुपर्छ। म १२ पढेर बिहे गर्छु।)
‘आमा मान्नुहुन्छ त ?’
‘हम सम्झेवै। नहिँ मानवी त राम सरके कहिदेवै। राम सर अपने सम्झेतेइ।’ (म सम्झाउँछु। मान्नुभएन भने रामसरलाई भन्दिन्छु। रामसरले आफैं सम्झाउनुहुन्छ।)
रामको सपना त्यही हो। उनको चाहना छ, इन्दिरा जस्तै सबै विद्यार्थीले घरमा भनुन्, माइ! बाबा! हम अखन सादी नहिँ करवै।