त्यो घर देख्दै अनौठो छ। फेरि कुनै परिवार बस्नको निम्ति होइन, गतिलै भारवहन गर्नुपर्ने मुलुककै एउटा सार्वजनिक महत्वको भवन उभ्याउन केवल बाँस र माटोको प्रयोग भएको छ।
सहरी विषयवस्तुमा चासो राख्दैआएका वातावरण इन्जिनियर भूषण तुलाधरले मदन पुरस्कार पुस्तकालयको यस नयाँ भवनका तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए। त्यो हरित भवन जति प्राकृतिक थियो त्यत्तिकै आधुनिक पनि देखिन्थ्यो।
त्यस भवनलाई लिएर मानिसका जिज्ञासा बढ्दै गए। खासगरेर भूकम्पका कारण राजधानीका महत्वपूर्ण पुस्तकालयका किताबहरू अझै बोरामै थन्किरहेको बेला मदन पुरस्कार पुस्तकालयले यो भवन उभ्याएको थियो।
जिज्ञासाले खोतल्दै लगेपछि तुलाधरको ट्वीटमा पुस्तकालयका सदस्य सचिव एवं पत्रकार कनकमणि दीक्षित पनि जोडिन आइपुगे।
‘यो प्रविधि इन्जिनियरिङ गरिएको बाँस र बेस्सरी कोचिएको माटोमा आधारित छ,,’ दीक्षितले उल्लेख गरेका थिए, ‘यसलाई आबारीका नृपाल अधिकारीले तयार पारेका हुन्।’
दीक्षितका ट्वीट पढ्नेवित्तिकै मेरो दिमागमा एक दसकभन्दा पुरानो सम्झना घुम्न थाल्यो। त्योताका म अग्रणी ब्रोडसिट दैनिकको शनिबार प्रकाशित हुने परिशिष्टांक संयोजन गर्थें। एक जना नपत्याउँदो भर्खरको तन्नेरीले गरेका कुराहरू अचम्मलाग्दा थिए। अमेरिकाको न्यू मेक्सिकोस्थित माटोसम्बन्धि स्कुलमा अध्ययन गरेका र सिटी युनिभर्सिटी अफ न्यूयोर्कबाट आर्किटेक्चर डिजाइनमा स्नातक गरेका ती तन्नेरीले मंगोलियामा गरेका कामहरू घतलाग्दा थिए।
मरुभूमिको माटोमा उँटको विस्टा मिश्रण गरेर उभ्याइएका उनका घरहरूले त्यहाँको सरकारबाट उनलाई पुरस्कृतसमेत गराएका रहेछन्। चीनजस्तो मुलुकको छिमेकी भइकन पनि हामीले माटो र बाँसको महत्वलाई ध्यान नदिएकोमा उनी उदेक मान्दै थिए।
‘साइकलमा हावा हाल्ने पम्प प्रयोग गरेर बाँसभित्र रहेको सम्पूर्ण पानीलाई निकाल्न र त्यसपछि फेरि निमको झोल भर्न सकिन्छ,’ उनी भनिरहेका थिए, ‘यति उपचार गर्ने हो भने त्यो बाँस अग्राखको काठभन्दा बलियो हुन्छ।’
त्यतिबेला राम्ररी जुँगाको रेखीसमेत नबसेका नृपालका एकपछि अर्का कुराहरूले उनीप्रति विश्वास बढाउँदै लगेपछि मैले उनको बारेमा त्यस परिशिष्टांकमा लेख प्रकाशित गरेको थिएँ।
यो बीचको अवधिमा त्यस्ता धेरै आशलाग्दा तन्नेरीहरू नेपाल छाडेर बाहिरिएको देखिरहँदा मैले नृपाल पनि कतै गइसकेका होलान् भन्ठानेको थिएँ।
तर, उनी त यतै रहेछन्। त्यो पनि यस्तो गजबको काम गरिरहेको अवस्थामा पो देखिए। म पो अपडेट भएको रहेनछु। भुइँचालोलगत्तै उनका बारे त सेतोपाटीमै पनि प्रकाशित भइसकेको रहेछ। मैले तुरुन्तै उनको नम्बर पत्ता लगाएँ र एसएमएस गरेँ। उनले पनि बिर्सेका रहेनछन्। हामीलगत्तै भेट्यौं, उनैले भर्खर उभ्याएको त्यही मदन पुरस्कार पुस्तकालय भवनमा।
‘यो बीचमा बाँसलाई पहिलेभन्दा अझ बलियो पार्नेगरी प्रविधि विकास गरिसकेका छौं,’ नृपाल भनिरहेका थिए, ‘घनत्वको आधारमा यसको तौल चराको हाडभन्दा हलुका हुन्छ भने मजबुतीमा स्टिलजत्तिकै दह्रो।’
हो, हाम्रा डाँडाकाँडादेखि तराईका फाँटसम्म जताततै उम्रिने यही थप बलियो प्राकृतिक ‘छड’ प्रयोग गरेरै मदन पुरस्कार पुस्तकालयले पहिलेभन्दा बलियो भवन प्राप्त गरेको छ।
त्यसो त गत वर्षको भूकम्पले पनि पुस्तकालयको पुरानो भवन ढलेको थिएन। राणाकालकै घोडा तबेलामा ४० वर्षपहिले एकतल्ला र १० वर्षअघि एक तल्ला थपेर तीन तल्ले बनाइएको त्यो घर चर्किएको मात्र थियो।
‘केही इटालियन र नेपाली इन्जिनियरहरुले परिक्षण गरेपछि त्यसलाई भत्काउनु नै उपयुक्त हुने सल्लाह दिए,’ सदस्य सचिव दीक्षित भन्छन्, ‘त्यसपछि भत्काइएकै ठाउँमा रैथाने सीप र सामग्री प्रयोग गरेर आधुनिक भवन उभ्याउने निधो अनुसार नृपाललाई जिम्मा दिएका हौं।’
नृपालले जिम्मा पाएपछि सुरूमा त लामै समय यो पुस्तकालयको प्रकृति र यसका आवश्यकताबारे छलफल भए। अनुसन्धाताहरूलाई अनुमति लिएर मात्र प्रवेश दिइने यो पुस्तकालयबाट कुनै पनि सामग्री अन्त लगेर अध्ययन गर्न पाइँदैन। अर्थात् भएभरिका संग्रहित सामग्री सदैव यहीँ रहिरहने।
त्यसबाहेक अध्ययन गर्नेहरू र प्रशासनिक प्रयोजनका निम्ति राम्रो भारवहन क्षमता पनि चाहिने। यस्तो अवस्थामा यो झट्ट हेर्दा एउटै भवन भए पनि यसभित्र दुई बेग्लै तवरले निर्मित दुई वटा खण्ड छन्। उही छानामुनि भएर पनि पुस्तक संग्रह गरिने खण्ड सिँगो एक तल्ला छ भने प्रशासनिक र अध्ययनकर्ताहरू आवतजावत गर्ने खण्ड दुइतल्ले।
‘पुरानो भवनको बनावट अनुसार पढ्ने मान्छे एक ठाउँमा बस्नुपर्ने र किताबजति नदेखिने अर्कै ठाउँमा राखिने गरिन्थ्यो,’ नृपाल भन्छन्, ‘अहिले बनेको भवनमा अध्ययन गर्ने मानिसले पुस्तकालयका सम्पूर्ण किताबहरू देखिरहेका हुन्छन् तर त्यसलाई छुन भने सक्दैनन्। प्रशासन विभाग भएरै त्यता जानुपर्ने हुन्छ।’
यसरी यी पुराना पुस्तकलाई आगन्तुकबाट धेरै नबिथोलिने गरी सुरक्षा बन्दोबस्त गरिसकेपछि यसको उचित संरक्षणका निम्ति प्राकृतिक रुपले नै वातानुकूलित कोठा पनि तयार पारिएको छ। यसका झ्यालहरू आम भवनहरूभन्दा एकदमै बेग्लै छन्। माथि पनि र तल पनि स–साना आकारमा राखिएका झ्यालहरूले आवश्यकताअनुसार हावाको आवतजावत सहज बनाइरहन्छ।
यो सबै कुराको बन्दोबस्त गरेर व्यवस्थित पारिसकिएको भवन बलियो चाहिँ कत्तिको हुन्छ?
‘यहाँ बन्दैगरेका कंक्रिट भवनभन्दा पक्कै बलियो हुन्छ,’ नृपाल भन्छन्, ‘सबैभन्दा ठूलो उदाहरण त मैले यतिका वर्षसम्म बाँस र माटो प्रयोग गरेर बनाएका कुनै पनि घर गएको भुइँचालोमा चर्किएकोसमेत छैन।’
भुइँचालोकै कारण हामीले ‘जाबो’ भन्दै आएका बाँस र माटोका घर पनि नृपालले कति बलियोसँग बनाउन सक्छन् भन्ने यस्तरी साबित गरिदियो कि बितेको एक दसकदेखि उनले गरेका कामलाई कसैले खासै महत्व नदिइरहेको बेलामा अब आएर उनलाई भ्याइनभ्याइ हुनथालेको छ।
‘माटो र बाँसलाई जस्ताको त्यस्तै प्रयोग नगरेर बलियो पार्न त्यसमा इन्जिनियरिङ गर्नुपर्छ,’ नृपाल भन्छन्, ‘त्यति गरेपछि हल्का र लच्किने गुणसमेत बोकेको बाँसले हत्तपत्त कुनै पनि संरचना ढल्न दिँदैन।’
मदन पुरस्कार पुस्तकालयका अमर गुरुङलगायतको टोलीले नृपालको प्रस्ताव मनपराएपछि यो ५४ फिट लामो र २१ फिट चौंडा भवन एक वर्षमै तयार भएको हो।
प्रशासन र अध्ययन कक्षलाई बाक्लो माटोको गारोले उभ्याएको छ।
‘यो माटोको गारो त्यसैगरि तयार पारिएको छ जुन प्रकारबाट पर्वतहरु बन्ने गर्छन्,’ नृपालले सुनाए, ‘यसमा माटो, गिट्टी र बालुवाको मिश्रणलाई प्रयोग गरिएको छ।’
सबैभन्दा पहिले कंक्रिट घर बनाएजस्तै गरी ढुंगा र सिमेन्टले बलियोसँग जोडेर जग उभ्याइएको छ। तीनफुटको जगलाई त्यसपछि क्रमशः सानो पार्दै उठाइएको छ। त्यसपछि जगमाथि नै कंक्रिटकै ठूलो बिम राखिएको छ। त्यसपछि माटो गिट्टी र बालुवा राखेर १६ इन्च चौडा पर्खाल उभिन सुरू भएको छ।
पर्खाल उभ्याउन सबैभन्दा पहिले फर्मा राखेर त्यसभित्र माटो, गिट्टी र बालुवाको मात्रा मिलाइएको थियो। त्यसपछि बेस्सरी धुर्मुसले कुट्ने काम गरियो। चार इन्चीको सामग्री थुप्रिएको छ भने सोलिड बन्दा केवल दुई इन्चीको हुनेगरी। धुर्मुसले कुटेपछि पनि बेस्सरी कम्प्रेसन (च्याप्ने) काम गरियो। त्यसरी क्रमशः माथि उठाउँदै लैजादा बीच बीचमा रि इन्फोर्समेन्ट (एउटा पर्खालमा दुइवटा फलामले बाँध्ने) गर्दै लगिएको थियो।
‘माटोको गुण भनेकै यसले माथिबाट आउने लोड चाहिँ सबै लिन्छ जबकि साइडबाट आउने लोड थेग्दैन,’ नृपाल भन्छन्, ‘त्यसैले रि इन्फोर्समेन्ट गर्दै लैजानुपर्छ।’
त्यतिले नपुगेर प्रत्येक दुई–दुई फिटमा प्लास्टिकको मेस राखिएको छ जसले माटोलाइ छुट्टिन दिँदैन।
‘यसरी ठोक्दै माथि उठाउँदै लगिएको पर्खाल पर्वतजस्तै बलियो हुन्छ,’ नृपाल भनिरहेका थिए, ‘पर्वत बनाउन प्रकृतिले धेरै वर्ष लगाउँछ भने यहाँ हामीले प्रविधिको प्रयोग गरेर छिट्टै बनाएका हौं।’
नृपालका कुरा सुन्नेवित्तिकै मेरा हात अनायासै त्यो पर्खाल समात्न पुगे। यो पर्खाल हो कि सँग्लो ढुंगा भनेजस्तै महसुस हुनेगरी जब्बर देखिन्थ्यो।
‘यति हुँदाहुँदै पनि यो भवनको छानोलाई यो पर्खालले मात्र थेगेको छैन,’ नृपालले थपे, ‘कसैगरी यति बलियो पर्खाल पनि ढलेछ नै भने पनि छानोलाई बेग्लै टेकोले अड्याइ रहन्छ।’
यसरी उठाएको पर्खाल सात फिट अग्लो छ। त्यस भन्दामाथि फेरि १६ बाई ९ इन्चीको टाइबिम लगाइएको छ। यसरी लगाइएको टाइ बिममाथिबाट फेरि बाक्लो फलामको खापाहरू हालिएको देखिन्छ।
यति गरिसकेपछि यो संरचना इँटाहरूको जोडाइजस्तो नभएर एक ढिक्का ढुंगाजस्तै बन्न पुगेको देखिन्छ। फलस्वरुप यसको माथिल्लो तल्लामा एकसाथ पचास जना अध्ययनकर्ता बसेर पढ्न सक्छन्।
उता, पुस्तकहरू राखिएको कक्षको भित्ता भने फेरि अत्यन्तै पातलो (केवल दुइ इन्चको) छ। त्यसमा सबैभन्दा पहिले फलामे जाली लगाइएको छ। माटोले फलाम नसमात्ने भएकाले सबैभन्दा पहिले पातलो पत्र सिमेन्टले त्यसलाई छोपिएको छ भने त्यसपछि माटोको लेप लगाइएको छ।
सम्पूर्ण पर्खाललाई यसरी माटोकै प्रयोगबाट उभ्याउने, माटोकै लेप लगाउने र माटोकै बेग्लाबेग्लै रंगले रंग्याउने काम गरिएको छ। प्राकृति चोप प्रयोग गरेर माटोको रंग लगाइएको हुनाले भित्तामा हात रगड्दा पनि माटो निस्कँदैन। अर्थात्, पूरै प्राकृतिक भइकन पनि अन्य रंगहरुजस्तो पक्का छ। भुइँमा समेत माटोबाटै बनेको तेलिया इँटा प्रयोग गरिएको छ।
‘माटोले स्वास फेर्छ भनिन्छ,’ नृपाल भन्छन्, ‘त्यसको अर्थ यसले हामीलाई सदैव अनुकूल तापक्रम दिनुका साथै मजबुती पनि प्रदान गर्छ।’
त्यसपछि देखिन्छ बाँसको काम।
यो भवन बनाउनका निम्ति ६५ प्रतिशत सामग्रीको रुपमा बाँसकै प्रयोग भएको छ। बाँकीमा २० प्रतिशत माटो र १५ प्रतिशत फलाम सिमेन्ट इत्यादि।
‘यी बाँसलाई यस्तरी उपचार गरिएको छ कि ६०–७० वर्ष बिग्रने कुरै आउँदैन,’ नृपाल थप्छन्, ‘त्यसपछि पनि जुन बाँस बिग्रिएको छ त्यसलाई खप्लक्क एउटा मात्र निकालेर अर्को बाँस सजिलै जोड्न सकिन्छ।’
त्यसका निम्ति प्रत्येक बाँसको जोडमा फलामको प्रयोग गरिएको छ। यी फलामको फ्रेमबाट निस्केको चुच्चोले बाँसको एउटा आँख्लासम्म प्रवेश गरेको हुन्छ। त्यतिले नपुगेर नटबोल्ट पनि कसिएको छ। यसरी बाँसै बाँसको त्रिकोण आकार दिँदै उभ्याइएको छ।
‘एक त बाँस त्यसमाथि प्रकृतिमै सबैभन्दा बलियो संरचना मानिने त्रिकोण आकार,’ नृपाल भन्छन्, ‘यि कंक्रीटका पिलरहरुभन्दा असाध्यै बलिया छन्।’
भुइँचालोबाट त सुरक्षित भयो तर यसरी बाँसैबाँसले बनेको घर आगलागीबाट चाहिँ कत्तिको जोगिन्छ?
‘राम्ररी उपचार गरिएको बाँस भएकाले यसमा सुख्खा दाउराजस्तो एकैपटक ह्वार ह्वार आगो नलागेर कालो हुँदै धुवाँ निकाल्ने गर्छ,’ नृपाल भन्छन्, ‘अमेरिकी भवन संहिताको मापदण्ड अनुसार यो आगलागीबाट पनि सुरक्षित छ।’
यसरी तयार भएको घर महँगो चाहिँ कत्तिको हुन्छ?
‘किन महँगो हुन्थ्यो र?’ नृपालले भने, ‘बरु यत्तिकै क्षमताको कंक्रीट भवनभन्दा धेरै सस्तो परेको छ।’
नृपालका अनुसार यति जग्गामा यस्तै भवन कंक्रीटबाट बनाइएको भए एक करोड रुपैयाँभन्दा घटी लागत पर्दैन थियो। जबकि नृपालले केवल ६५ लाख रुपैयाँमा यसलाई तयार पारेर सुम्पेका छन्।
‘यति मात्र होइन,’ नृपाल भन्दैथिए, ‘पोहोर साल नाकाबन्दीले गर्दा सबै निर्माण कार्य रोकिएको समयमा पनि हाम्रा आफ्नै बाँस र माटोले उभिएको यो घर बनाउने काम स्थगित गर्नुपरेको थिएन।’
यी हरफहरु टुंग्याउँदै गर्दा उतिबेला जुँगाको हल्का रेखी मात्र बसेका नृपालसँगको सम्झना फेरि ताजा भएर आए।
‘म नेपालमै बसेर केहि गर्न चाहन्छु, हाम्रा आफ्नै चिजहरुको महत्व बढाउन चाहन्छु,’ उनले भनेका थिए।
उनले गर्दै पनि रहेछन् ...।