एक दिन प्राध्यापक अरूण गुप्तोलाई छोरी पल्लवीले सोधिछन्, ‘बाबा! म बंगाली कि नेपाली? मेरो पहिचान के हो?’
त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अंग्रेजी विभागमा वर्षौं समालोचना सिद्धान्त पढाएको अनुभव संगालेका गुप्तो दर्शनका गाह्रोभन्दा गाह्रो प्रश्नसँग जुधेका छन्। विश्वविद्यालयमा विद्यार्थीका निकै गह्रुङ्गा प्रश्न झेलेका छन्। सबैको चित्त बुझाउने प्रयास पनि गरेका छन्। छोरीको यो प्रश्न भने उनलाई सबभन्दा जटिल लाग्यो।
गुप्तो परिवारको पुर्ख्यौली थलो बंगलादेश हो। समय क्रममा यो परिवार भारत हुँदै नेपाल आइपुग्यो। उनी नेपालमै जन्मिए, हुर्किए। घरमा बंगाली बोल्छन्। गाउँमा अवधि बोल्छन्। उनको शिक्षादिक्षा सबै नेपालमा भयो। आफ्नो भन्नु सबथोक नेपालमै छ। नागरिकता नेपालकै छ, संस्कृति भने बंगाल, नेपाली पहाड र मधेसको मिसिएको छ।
गुप्तोको मावली दार्जिलिङ हुँदै झापा आइपुगेकको मजुमदार हो। मजुमदार परिवारमा पहाडी नेपालीको रगत मिसिएको छ रे।
आफ्नो यो सबै पृष्ठभूमि खुलाएपछि गुप्तोले भने, ‘अब मैले छोरीलाई हाम्रो पहिचान के हो भन्ने?’
हुन त कुनै बेला गुप्तो आफैंलाई पनि यो प्रश्नले सताउने गर्थ्यो। उनले कसैलाई सोध्न भने सकेका थिएनन्। त्रिभुवन विश्वविद्यालमा अध्यापन गर्दाताका यही प्रश्नमा निकै घोत्लिने गर्थे उनी। कहिले चिन्ता लाग्थ्यो, कहिले छटपटी हुन्थ्यो।
‘म कपिलवस्तुमा हुर्किएँ, त्यहाँ अवधि भाषा बोल्नुपर्छ,’ उनको अनुहार क्रमश: गम्भीर हुँदै गयो।
मन्डिखाटारमा रहेको तीनले घरको छतमा थियौं हामी, उनको पढ्ने कोठामा। विषयहरू छरपस्ट थिए। तँछाडमछाड गर्दै एकपछि अर्को सन्दर्भ आइरहेका थिए।
मंसिरको न्यानो घाम सिसाको भित्ता पार गरेर कोठामा पोखिइरहेको थियो। सांघुरो कोठाको भित्तामा थरीथरीका चित्र टाँसिएका थिए। एउटामा लेखिएको थियो, ‘नाओ सोइङ- म्याकवेथ’।
शेक्सपियरको प्रसिद्ध नाटक ‘म्याकवेथ’ सँग सम्बन्धित सामग्री त्यहाँ जम्मा भएका रहेछन्। यो काल्पनिक रंगमञ्च रहेछ।
‘छोरी र मैले बनाएको,’ रहस्यको पोयो फुकाएझैं गरी कोठाभित्र पस्नेबित्तिकै उनले भनेका थिए, ‘अभि (सुवेदी) सरको छोराले पनि।’
अनि थपे, ‘अभि सर र म यहाँ बसेर घन्टौं कुरा गर्छौं।’
‘गम्भीर विषयमा घोत्लिएका बेला यस्ता स-साना कुराले रमाइलो गराउँछ,’ उनले भने।
उनले त्रिविमा काम गर्दाका केही किस्सा सुनाए। ती किस्सा सुनेर हामी निकै हाँसेका थियौं। पछिल्लो समय भने उनी धेरै कुरा बिर्सिन थालेका छन्। कतिसम्म भने, ‘बिर्सिने प्रोफेसर’ भन्यो भने त्रिवि अङ्ग्रेजी विभागमा तीन वर्षअघि सम्म भर्ना भएका विद्यार्थीले ठम्याइहाल्छन्। पढाउँदा-पढाउँदै बीचमा प्रश्न सोध्यो भने फेरि पहिलाको विषयमा फर्कनै सक्दैनन् भनेर विद्यार्थीहरू उनलाई हतपती सोध्दै सोध्दैनन्।
‘यतिसम्म बिर्सिने भएँछु कि…’ उनले एउटा उदाहरण दिए।
एकपटक उनले आफ्ना गुरू श्रीधर लोहनीलाई बिर्सिएर बाटोमै छाडेका थिए। प्रोफेसर लोहनीलाई फोन गुप्तोले आफैं गरेका थिए, ‘सर तपाईंको क्लास छ टियुमा? छ भने म बाइकमा पुर्याइदिन्छु। सँगै जाउँला।’
प्रो.लोहनीले 'हुन्छ' भने।
‘म बाटोमा पर्खिराख्छु, तिमी हेर्दै आउ है,’ प्रोफेसर लोहनीले उनलाई भने।
फोन राखेर गुप्तोले बाइक हाँके। मैतीदेवी पुल पार गर्नेबित्तिकै कसैले हात हल्लाएको देखे। उनले पनि जवाफमा हात हल्लाए। र, अघि बढे। अहिले सम्झिन्छन्, ‘त्यो बेला मलाई लाग्यो कोही विद्यार्थी वा प्रशंसकले हात हल्लायो। मैले पनि हात हल्लाएर हिडिदिएँ।’
त्रिवि पुगेर क्लास लिए। बाहिर निस्किँदा लोहनी सर उभिइरहेका।
‘मेरो त एकपल्ट सातो गइगो,’ प्रो.लोहनीलाई देखेपछि बल्ल उनले फोनमा भएको कुरा सम्झिए। बाटोमा हल्लिएको हात सम्झिए।
‘लोहनी सरले हात हल्लाउनुभएको रहेछ, मैले बिर्सिसकेछु।’
त्यसपछि त उनको बिर्सिने बानी ‘ट्रेडमार्क’ भइगयो।
बिर्सिने बानीका अरु पनि किस्सा उनले सुनाए। हँसाए।
जब पहिचानको विषय त्यो सानो कोठामा छिर्यो, उनीसँगै हामी गम्भीर हुँदै गयौं।
‘हामी हिन्दु भएकाले पनि यहाँ छौं, यो मेरो पहिचान हो कि होइन?’ उनले प्रश्न गरे।
गुप्तो परिवारको पुर्ख्यौली थलो पूर्वी बंगाल हो, अहिलेको बंगलादेश। सन् १९४७ मा स्वतन्त्रतासँगै भारत विभाजित भयो। स्वतन्त्रताको संघर्षसँगै हिन्दु-मुस्लिम दंगा भड्कियो। भारत र पाकिस्तान छुट्टियो। अहिलेको बंगलादेश त्यसबेला पूर्वी पाकिस्तान थियो। भारतबाट मुस्लिमहरू पाकिस्तान जाँदै थिए भने पाकिस्तान/बंगलादेशका हिन्दु भारत सर्दै थिए।
गुप्तोको परिवार भने विभाजनअघि हिन्दु-मुस्लिम दंगा भड्किन थालेपछि नै आफ्नो पुर्ख्यौली थलो छाडेर कलकत्ता सरेको थियो।
कलकत्ता पनि शान्त थिएन। उनका हजुरबुबा डा. सुरेशचन्द्र गुप्तोलाई त्यहाँ बस्न मन लागेन। उनी शान्त भूमि खोज्दै नेपाल पसे।
‘कहिले?’
उनले ठ्याक्कै मिति बताउन सकेनन्, ‘चन्द्रशम्शेरको पालमा हो कि मोहन शम्सेरको पालामा हो!’
गुप्तोका हजुरबुबा जनरल सर्जन थिए, वीर अस्पतालमा जागिर पाए। वीरमा सेवा गर्दै केही वर्ष काठमाडौं बसे। राणाकालको अन्त्यतिर कपिलवस्तुको बहादुरगञ्जमा जग्गा लिएर बसाईं सरे।
हजुरबुबाले सुनाएको कथा ‘अल्पोअल्पो’ (अलिअलि) याद रहेछ गुप्तोलाई, ‘त्यसबेला सर्जनहरू मृत्युदण्डको साक्षी बस्नुपर्ने रहेछ। हजुरबुबालाई यो कुरा चित्त बुझेन। त्यसैले जागिर छाडेर उहाँ कपिलवस्तु झर्नुभयो।’
उनका बुबा डा.निर्मलकुमार गुप्तो भारततिरै पढे। पढाइसकेर कपिलवस्तु फर्किए र त्यतै बसे। उनका दुई भाइ छन्। एक डाक्टर, अर्का भाइ कूटनीतिक क्षेत्रका जागिरे। बुबा र हजुरबुबा पनि डाक्टर। प्राज्ञिक कर्ममा लाग्ने उनी परिवारका एक्ला सदस्य हुन्। त्यही भएर गुप्तो आफ्ना विद्यार्थीसँग बेलाबेला जिस्किने गर्छन्, ‘राम्रोसँग पढ! मेहेनत गरेनौ भने मजस्तो प्रोफेसर हुन्छौ। म बिग्रिएर प्रोफेसर भको।’
बहादुरगञ्जको श्रीराम गोर्खा बहुउद्धेश्यीय हाइस्कुल पढेका हुन् उनले। उनले स्कुलमा पढ्ने एउटा किताबको नाम थियो, ‘बुटवल जिलेका भूगोल।’
यो किताब दिल्लीमा छापिएर आउँथ्यो, हिन्दी भाषामा।
उनले २०२७ सालमा एसएलसी दिए र गोरखपुर गए।गोरखपुरमा धेरै अडिएनन्, लखनऊ सरे। लखनउमा बिए पूरा गरेपछि उनी कलकत्ता हान्निए। कलकत्ता विश्वविद्यालयमा उनले फ्रान्सेली भाषामा पोष्ट-ग्र्याजुएट गरे।
उनले कलकत्ता विश्वविद्यालयमा एक जना ‘क्लासिक’ प्रोफेसर देखिरहन्थे। बाक्लो कपाल र ठूलो मुठो जुँघा भएका ती ‘क्लासिक’ प्रोफेसरको व्यक्तित्वले उनलाई सुरूदेखि नै तानेको थियो।
ती इतिहास र बुद्धिजम तथा पाली पढाउने प्रोफेसर रहेछन्, प्रो.सुकुमार सेन। एक दिन ती ‘क्लासिक’ प्रोफेसरले गुप्तोलाई आफ्नो कक्षमा बोलाए। उनी डराउँदै डराउँदै गए।
‘हिस्ट्रीको प्रोफेसरले मलाई किन बोलाए होला त?’ गुप्तोको मनमा कुरा खेलिरह्यो।
त्यहाँ गएर कोठाभित्र पसेपछि पो उनलाई थाहा भयो, ती क्लासिक प्रोफेसर त उनका मावलीतिरका हजुरबुबा पर्ने रहेछन्।
‘उहाँसँग बुद्धिजम र पाली भाषाको अत्यन्तै बृहत्तर ज्ञान थियो,’ गुप्तो पूरै प्रभावित भए।
प्रोफेसर सेनले उनलाई सोधे, ‘तिम्रो घर कपिलवस्तु होइन त?’
‘हो,’ उनले डराउँदै भने।
‘ल ल, त्यसो भए मलाई भन, तिमीलाई कपिलवस्तुबारे के के थाहा छ?’
गुप्तोले हाँस्दै हामीसँग भने, ‘अब के भन्ने! मलाई त केही थाहै थिएन कपिलवस्तुबारे।’
उनी रातोरातो अनुहार बनाएर चुपचाप बसिरहे। त्यसबेला प्रोफेसर सेनले उनलाई गाली गरेछन्। कपिलवस्तुबारे दर्जनौं रमाइला र चाखलाग्दा कुरा सुनाएछन्। गुप्तो छक्कै परे। प्रोफेसर सेनले बहादुरगञ्ज र तौलिहवा कति वरपर छ भन्ने पनि उनलाई बताइदिए। बुद्ध जन्मिएको कहाँ हो, अशोक स्तम्भ कहाँ छ सबै बताइदिए।
उनैले बुद्धिजम, कपिलवस्तु र पाली भाषाको महत्व गुप्तोलाई बुझाए। यहीँबाट हो गुप्तोलाई ‘प्रोफेसर’ हुने महत्वाकांक्षा पलाएको। प्रोफेसर सेनजस्तै विद्वान हुने सपना देखेर विश्वविद्यालयको ‘नेसनल लाइब्रेरी’मा घन्टौं हराउन थाले उनी। यही समय हो उनले सबैभन्दा धेरै किताब पढेको।
यसअघि उनी दिनभर क्रिकेट, टेबलटेनिस वा ब्याडमिन्टन खेलेर बिताइदिन्थे।
‘यता नलागेको भए ब्याडमिन्टन खेलाडी पो हुन्थेँ कि!’ उनको मनमा कहिलेकाहीँ आउँछ।
फ्रान्सेली भाषा अध्ययनले उनलाई ब्याडमिन्टन कोर्टबाट लाइब्रेरीको कोठामा धकेल्यो। साहित्य र दर्शनको गम्भीर अध्ययनमा तान्यो। फ्रान्सेलीहरू अहिले पनि आफूलाई सबैभन्दा धेरै पढ्ने जातिको घमण्ड गर्छन्। दर्जनौं महान् दार्शनिक फ्रान्समा जन्मिएका छन्। ज्या पल सात्रदेखि अल्वेय क्यामुसम्म, रोला वार्थदेखि सिमोन दि बुभा र ज्याक डेरिडासम्म। दर्शनको संसारमा फ्रान्सेलीकै साम्राज्य छ।
उनी खास गरेर ज्याक डेरिडाका प्रशंसक हुन्। ‘डेरिडाले हामीलाई सोच्ने नयाँ तरिका दिए, सबैभन्दा ठूलो कुरा उनले प्रश्न गर्न सिकाए,’ गुप्तो भन्छन्, ‘स्थापित मान्यतालाई भत्काएर अगाडि बढ्ने प्राज्ञिक बाटो उनले देखाए।’
उनी त्रिवि आउँदा विश्वभरी नै डेरिडाको जगजगीको समय थियो। फ्रान्सेली भाषाको अध्ययनले गुप्तोलाई प्रोफेसर सेन बन्ने सपना अगाडि बढाउन उत्प्रेरित गर्यो। तर, उनलाई कलकत्ता बस्न मन लागेन। नेपाल फर्किए र काठमाडौं आए।
केही महिना ट्राभल एजेन्सीमा टुरिष्ट गाइड काम गरे।
‘त्यहाँ मलाई साथीहरू शेक्सपियर भनेर जिस्क्याउँथे,’ उनले काठमाडौंका पुराना दिन सम्झिए, ‘यो शेक्सपियर गल्तीले ट्राभल एजेन्सीमा आइपुग्यो। कतै डाँडा, चौर वा खोलाकिनारतिर बसेर कविता लेखिरहेको हुनुपर्ने भनेर जिस्क्याउँथे।’
यस्तैमा बहादुरगञ्जका साथी सुनिल श्रेष्ठले उनलाई प्रस्ताव राखे, ‘अङ्ग्रेजी पढ्न जाउँ, त्रिविमा।’
उनमा शुषुप्त भएको प्रोफेसर-सपना जागेर आयो। केही दिनमै सुनिलसँग त्रिवि गए। तर, उनको भर्ना भएन।
उनले कलेजमा कहिल्यै अङ्ग्रेजी पढेका थिएनन्। एकैपटक अङ्ग्रेजी साहित्यमा एमए गर्ने महत्वाकांक्षा बोकेर त्रिवि आएका थिए। प्रशासनमा बसेका मानिसले उनलाई सोधे, ‘तिमीले कलेजमा कहिल्यै अङ्ग्रेजी पढेका छौ?’
उनले जवाफ दिए, ‘छैन सर!’
‘अनि कसरी इङ्ग्लिस लिटरेचर पढ्छौ त? तिम्रो भर्ना हुँदैन।’
गुप्तो नाजवाफ भए। उनी निराश अनुहार लिएर फर्कँदै थिए।
‘हेलो यङ म्यान’ कसैले उनलाई बोलायो।
फर्किएर हेरे, एउटा आकर्षक व्यक्तित्व भएको प्रोफेसरजस्तै लाग्ने मान्छेले उनलाई बोलाइरहेको थियो।
त्यही अपरिचितले उनलाई फेरि सोध्यो, ‘इज देयर समथिङ रङ? ह्वाट ह्यापेन?’
एकदमै सहज ढंगले कुरा गरेपछि गुप्तोलाई पनि सहज भयो। उनले आफूले केन्द्रीय अंग्रेजी विभागमा भर्ना गर्न चाहेको तर भर्ना नभएको कुरा सुनाए।
ती व्यक्तिले भने, ‘कम विथ मी।’ उनी पछिपछि लागे।
प्रशासनमा पुगुञ्जेल उनले गुप्तोको बारेमा सबै जानकारी लिए। अनि अघि भर्ना हुँदैन भनेर फर्काउने व्यक्तिलाई भने, ‘उसले कलेजमा फ्रेन्च गरेको भए पनि अंग्रेजी धेरै राम्रो छ। उसले पढ्न सक्छ।’
उनले भर्ना पाए। पछि थाहा पाउँदा ती व्यक्ति मोहन लोहनी रहेछन्।
‘मोहन सरसँग भेट नभएको भए त मैले भर्ना नै पाउने थिइनँ,’ उनले त्रिविको पहिलो दिन सम्झिए, ‘म त कहाँ पुग्थेँ कहाँ!’
त्रिविको केन्द्रीय अङ्ग्रेजी विभाग त्यतिबेला ‘घघडान इन्टेलेक्चुअल’हरूले भरिएको थियो। जता हेर्यो त्यतै विद्वान विद्वान मान्छे, ‘नपढी त सुखै थिएन।’
श्रीधर लोहनी, डिपी भण्डारी, कमलप्रकाश मल्ल, कृष्ण मानन्धर, अभि सुवेदीजस्ता प्राध्यापकको व्यक्तित्व र बौद्धिकताले उनलाई पार्नुसम्म प्रभाव पारेको थियो।
‘यस्ता सरहरू थिए अनि नपढेर भयो त,’ उनले भने, ‘साथीहरू पनि त्यस्तै थिए। हामीलाई त्यो बेला कीर्तिपुरबाट फर्किनै मन लाग्दैनथ्यो।’
उनलाई सम्झना छ, एकदिन श्रीधर लोहनीले एउटा २० पृष्ठ लामो लेख उनको हातमा राखेर तुरुन्तै पढ्न लगाएका थिए। नोम चोम्सकीले त्यो लेखमा डेरिडाको निकै कडा आलोचना गरेका थिए।
गुप्तोले एकछिनमा पढौंला भनेपछि लोहनीले उनलाई बोलाएर कोठाभित्र लगे र भने, ‘एक घन्टामा यो पढिसकेर म कहाँ आउनु!’
‘सरले भनेपछि त पढ्नै पर्यो, अरू उपाय भएन,’ उनले पढे। प्रो.लोहनीको छेउमा आएर भने, ‘मलाई त डेरिडा अझै ठीक जस्तो लाग्यो। पहिला भन्दा धेरै मन पर्यो डेरिडा।’
‘यसरी पढ्थ्यौं त्यो बेला,’आफ्नो विद्यार्थी उमेर सम्झिए, ‘ब्याडमिन्टन खेल्ने टिम नै थ्योरीवाला र ननथ्योरीवाला हुन्थ्यो।’
त्रिविमा गएपछि दिनरात यहीँ बसुँजस्तो लाग्थ्यो रे। शनिबार पनि जाउँजस्तो लाग्थ्यो रे।
त्रिविको यही वातावरणले कलकत्तामा पलाएको प्रोफेसर महत्वाकांक्षा फेरि जागृत भयो। उनी दिनरात मेहेनत गर्न थाले। मास्टर्स सकिएकै साल उनले अस्कलमा जागिर पाए।
‘दुई वर्षपछि त अभिसरले मलाई टियु बोलाइहाल्नु भो,’ उनले भने, ‘त्यसपछि त आधा जिन्दगी टियुमै गइगो।’
त्यहाँ पढाउँदै पिएचडी पनि गरे, ‘लिटरेरी थ्योरी एण्ड आर्ट’मा।
सञ्जीव उप्रेती उनी अस्कलमै हुँदा टियु पुगिसकेका थिए। अहिलेका विभागीय प्रमुख अमरराज जोशी पनि त्यहाँ गइसकेका थिए। रत्नराज्यलक्ष्मीमा पूर्णकालीन नियुक्ति लिएका प्रोफेसर आनन्द शर्मा र उनको राम्रो दोस्ती जम्यो। मन्डिखाटारमा प्राध्यापक सुवेदी, गुप्तो र शर्माको घर पनि नजिक-नजिकै छ।
त्यसबेलादेखि नियमित शनिबार भेट्न थालेका हुने अभि सुवेदी र गुप्तो।
‘बीस वर्ष भयो, भ्याएसम्म अझै यो क्रम चलेकै छ,’ गुप्तोले भने, ‘यही कोठामा बसेर गफिन्छौं हामी धेरजसो।’
त्रिवि सधैं उस्तै रहेन। पञ्चायती दिनहरूमा यो बढी क्रियाशील थियो। प्रजातन्त्र आएसँगै ओरालो लाग्न थाल्यो। राजनीतिक हस्तक्षेपले यो संस्था चल्मलाउनै नसक्ने गरी थला परेको छ।
गुप्तो भन्छन्, ‘हाम्रो युनिभर्सिटीमा प्राज्ञिकबाहेक सबै काम हुन्छ। यो कुरा बसस्ट्याण्डमा मान्छे ओराल्ने र चढाउनेबाहेक अरू सबै काम गरेजस्तै हो।’
जनआन्दोलनपछिको राजनीतिक भागबन्डाले त झन् टियुलाई बर्बाद पारेको उनी बताउँछन्। 'हाम्रो युनिभर्सिटीको पूरै आर्किटेक्चरल रिफर्म गर्नुपर्छ,’ उनले भने, ‘युनिभर्सिटी एउटा संसार हो। त्यस्तै बनाउनु पर्छ।’
प्राज्ञिक अनुसन्धानलाई केन्द्रमा राखेर सबै गतिविधि गर्न सक्ने संस्था बनाउनुपर्छ भन्ने उनलाई लाग्छ। तर, त्यस्तो होला भन्ने आशा उनलाई छैन। ‘युनिभर्सिटी पार्टीसँग जोडियो तर समाजसँग जोडिन सकेन,’ आफू त्यहाँ भएकैबेला विश्वविद्यालय ओरालो लागेकोमा उनलाई ग्लानी पनि छ।
उनकै निम्तोमा नेपाल आएका भारतीय विद्वान आशिष नन्दीले भनेको उनलाई घत परेको छ। उनले गुप्तोलाई भनेछन्, ‘तपाईंहरूले के गर्नु भो? समाजमा यत्रो ठूलो युद्ध भयो, आन्दोलन भयो। यत्तिको राजनीतिक परिवर्तन भयो। त्यसलाई सैद्धान्तिकरण गर्नुभयो?’
हाम्रा विश्वविद्यालयलाई यो कुरा थाहै छैन। ‘हामीले घटनाक्रम र परिवर्तनलाई सैद्धान्तिकरण गर्न सकेनौं,’ उनले भने, ‘सैद्धान्तिकरण नभएपछि अरुले चासो दिँदैनन्। विश्वव्यापीकरण हुँदैन।’
त्रिविको जागिर केही वर्ष बाँकी छँदै उनले राजीनामा दिए। विभागीय प्रमुख अमरराज जोशीले दुईपल्ट उनको राजीनामा पत्र च्यातिदिए। गुप्तोले तेस्रोपटक पनि पत्र पठाए। र, उमेर हद लाग्न तीन वर्ष बाँकी छँदै उनले त्रिवि छाडे।
‘एउटै पाठ तीन चारवटा सेक्सनमा पढाउनुपर्छ, वर्षौंवर्ष यही काम दोहोर्याइरहन कहाँ सकिन्छ र!’ त्रिवि छोड्नुको कारण देखाए उनले, ‘एकैदिन एउटा जोक्स चारपटक सुनाउनुपर्छ।’
त्रिविको जागिर छाडे पनि उनले पढाउन छाडेका छैनन्। श्रीधर लोहनी, आनन्द शर्मा लगायतका प्राध्यापक संलग्न रहेको ‘इन्स्टिच्युट अफ एडभान्स कम्युनिकेसन, एजुकेसन एण्ड रिसर्च’ मा एमफिल र एमए पढाइरहेका छन्। यही संस्थामार्फत् सन २००१ मा उनीहरूले नेपालमा पहिलोपटक एमफिल कार्यक्रम सुरु गरेका थिए।
त्रिविको जागिर छाडेपछि उनले ‘गडेसेज अफ काठमान्डु भ्याली: ग्रेस, रेज, नलेज’ शीर्षकको पुस्तक निकाले। भारतको रुटलेज प्रकाशनले उनको यो पुस्तक प्रकाशन गरेको छ। देवीहरूको रिसर्च गर्दै उनले महिनौं काठमाडौंका गल्ली चाहरे। त्यसपछि नै उनले भन्न थालेका हुन्, ‘काठमाडौंको गल्लीमा अल्मलियौ भने मलाई फोन गर्नु, जुनसुकै गल्लीमा भए पनि म बाटो बताइदिन्छु।’
उनी देवीहरूको प्रेममा परिसकेका थिए। दिनरात त्यही खोज्ने, उनीहरूकै बारेमा सोच्ने, जान्नेबुझ्नेसँग अन्तर्वार्ता गर्ने, उनीहरुकै बारे पढ्ने। ‘गडेसेज अफ काठमाडौं भ्याली यही प्रेमको उपलब्धि हो,’ उनले भने।
‘काठमाडौंमा अधिकांश ज्ञान र करुणाका देवी छन्, विश्वमा कहीँ पनि यतिधेरै ज्ञान पुज्य छैन,’ उनको पुस्तकको सार हो, ‘अर्को कुरा क्रोधमा करूणा छ। राम्रो र नराम्रो श्यामश्वेत छुटिँदैन। यहाँ डरलाग्दो अनुहार भएका देवी करूणा र ज्ञानका देवी छन्।’
यो पुस्तक दक्षिण एसियाली संस्कृतिको पहिचानको खोजी हो भन्ने दाबी उनको छ। उनको अमेरिकी साथी एन्ड्र्युले एकपटक अमेरिकामै हुँदा सोधेको थियो, ‘तिमीहरूका त लाखौं देवता हुन्छन् रे! दिनभरीमा पनि पूजा गरिभ्याउँछौ?’
उसलाई जवाफ पनि हो यो किताब।
हामीकहाँ प्राज्ञिक अभ्यासको इतिहास कति बलियो छ भन्ने देवीहरूको बहुरूपले प्रमाण पेस गरेको उनी दाबी गर्छन्।
‘हाम्रा पुर्खाहरूमा प्रकृतिको कति ज्ञान थियो भन्ने प्रमाण हो यत्तिका देवीदेवता हुनु। देवीदेवता भनेको प्रकृतिका आयाम हुन्। त्यो हाम्रा पुर्खाले पत्ता लगाए र अलगअलग नाम दिए। यो हाम्रो जातिको प्राज्ञिक कर्म हो।’
यो कुरा पश्चिमालाई बुझाउन चाहन्छन् उनी।
अमेरिकामै हुँदा उनले काठमाडौंका मन्दिरबारे एउटा वृत्तचित्र हेरेका रहेछन्, ‘सुरुमै मन्दीरअगाडि कुकुरले फोहोर खाइरहेको देखाउँछ। त्यो देखाउन किन जरूरी छ?’
‘गडेसेज अफ काठमाडौं भ्याली’ले यो वृत्तचित्रलाई पनि जवाफ दिएझैं लागेको छ उनलाई।
अमेरिकाको कुरा निस्किएपछि उनले फेरि पहिचानको कुरा सम्झिए।
‘अमेरिका हुँदा हाम्रो पहिचान दक्षिण एसियाली हो, नेपाली, भारतीय वा श्रीलंकाली भन्ने कुराको त्यहाँ कम अर्थ हुन्छ,’ पहिचान परिस्थिति र परिवेशसँग सम्बन्धित हुन्छ भन्ने बुझाउन उदाहरण दिए उनले।
यता आएपछि फेरि हामी नेपाली, भारतीय, श्रीलंकाली हुन थाल्छौं, यहाँ दक्षिण एसियाली भनेको त सामूहिकता हो, आफ्नो पहिचान होइन।
अहिले अमेरिकाका केही विश्वविद्यालयले दक्षिण एसिया अध्ययन सुरु गरेका छन्, तर उनीहरूले दक्षिण एसियलाई भारतीय आँखाबाट मात्र हेरिरहेका छन्। ‘दक्षिण एसियालाई नेपाल वा बङ्लादेशको आँखाबाट हेर्यो भने फरक देखिन्छ। यसलाई बहुआयामिक दृष्टिकोणबाट हेर्नुपर्छ भन्ने हाम्रो आग्रह छ।’
उनले थपे, ‘हामी भारतको इन्टेलेक्चुअल डोमिनेसनमा छौं।’
दक्षिण एसिया अध्ययनमा साना मुलुकको हिस्सा कसरी बढाउने सन्दर्भमा केही वर्षदेखि अध्ययनमा आफू लागिरहेको उनले बताए। यही अध्ययनलाई व्यापक बनाउन गायत्री स्पिभाक जस्ता विद्वानलाई वर्षैपिच्छे काठमाडौं बोलाउँछन् उनी। कोलम्बिया युनिभर्सिटीकी ‘युनिभर्सिटी प्रोफेसर’ स्पिभाक उनको निम्तो पाउनसाथ अमेरिकाबाट काठमाडौं उड्न तयार हुन्छिन्।
‘तर स्पिभाकसँग काम गर्ने किसिमका रिसर्चर हामीकहाँ धेरै छैनन्,’ उनको गुनासो छ, ‘नभए साउथ एसिया स्टडिजमा हामी एकदुई वर्षमै नयाँ अवधारणा दिन सक्थ्यौं। तर थोरै भए पनि हामी लागिरहेका छौं।’
फेरि हामी फर्किएर पहिचानमै आइपुग्यौं।
उनले व्याख्यान दिने शैलीमा भने, ‘नेपालभित्र मेरो पहिचान अर्को हुन्छ। किनभने हामी आफ्नो विशेषता वा महत्व खोजिरहेका हुन्छौं। यो कुरा भाषा, जाति र संस्कृति वा धर्मसँग जोडिन्छ। तर, नेपाल बाहिर जाँदा त म नेपाली प्रोफेसर नै हुन्छु। हामी सबै नेपाली हुन्छौं।’
‘त्यसो हो भने पहिचान राजनीतिक मुद्धा किन हुन्छ?’
‘अर्को पहिचानले आफूलाई दबाएको वा ओझेल पारेको महशुस भयो भने संकटमा परेको पहिचानले आफ्नो अस्तित्व दाबी गर्छ,’ उनले भने, ‘त्यसैले हामीकहाँ पछिल्लो समय पहिचान राजनीतिक मुद्धा बनेको छ।’
‘पहिचानको खोजीले राष्ट्रिय पहिचान कमजोर हुन्छ भन्ने बुझाइ पनि छ,’ मैले भनेँ।
‘अहिलेको समयमा मान्छे पहिचानका अनेक आयामसँग बाँचेको हुन्छ,’ उनी प्यालेस्टाइन उद्गम भएका अमेरिकी विद्वान एडवर्ड सइदको विचारको आड लिएर कुरा गरिरहेका थिए।
‘म बङ्गाली हुँदाहुँदै पनि उत्तिकै नेपाली हुँ, कुनै जाति वा समुदायको मान्छे आफ्नो छुट्टै पहिचानसहित उत्तिकै राष्ट्रवादी हुन सक्छ।’
यही जवाफ उनले छोरीलाई दिएका थिए, ‘तिमी बङ्गाली पनि हौ र नेपाली पनि हौ। यो दुवै तिम्रो पहिचान हो।’
बाबुले दिएको जवाफले पल्लवी खुसी भएकी थिइन्। यो निकै वर्षअघिको कुरा हो। पल्लवीले अधिकारी थरका युवासँग विवाह गरिन्। अहिले अमेरिकामा पिएचडी गर्दैछिन्।
चाहेर वा नचाहेर, ‘पहिचान’ अझै नेपाली राजनीतिमा सर्वाधिक छलफल गरिने विषयमध्ये एक छँदै छ।
‘आइडेन्टिटी इज बोरिङ थिङ (पहिचान दिक्कलाग्दो कुरा हो),’ उनले सइदको भनाइ उद्धृत गरे। अनि विनिर्माणवादका प्रवर्द्धक ज्याक डेरिडाको सिद्धान्तअनुसारको आफ्नो धारणा राखे, ‘पहिचान जटिल कुरा हो। पहिचान भनेको यति हो यति होइन, यो हो यो होइन, यति चाहिन्छ यति चाहिँदैन भन्नै सकिँदैन।’