एक स्थानीय ट्याक्सी चालकको शंकास्पद मृत्युका कारण उत्पन्न विवादमा गोकर्णेश्वर-१३ नयाँ बस्तीमा एक समूहद्वारा प्रहरी चौकीका सईसहित ५ जनालाई पेट्रोल छर्केर आगो लगाउने प्रयास गरिएको प्रहरीले जनाएको छ।
दोलखा चरिकोट घर भई नयाँबस्ती बस्दै आएका ३६ वर्षीय राजकुमार लामाको शंकास्पद मृत्युपछि आक्रोशित स्थानीयले आइतबार बिहानै प्रहरी चौकी आक्रमण गरेका थिए। प्रहरीले हिरासतमा लिएर कुटपिट गर्दा लामाको मृत्यु भएको स्थानीयको आरोप छ।
गौशालाका डिएसपी नवराज कार्कीले भने लामाको मृत्युमा प्रहरी संलग्न नरहेको दाबी गरे। ट्याक्सी चालक लामा बेहोस अवस्थामा सडकमा फेला परेको र उनलाई स्थानीयले नै अस्पताल लगेको कार्कीको भनाइ छ।
'उनले चलाउने बा२झ २२३ नम्बरको ट्याक्सी उनी लडेको भन्दा केही पर ठोक्किएको अवस्थामा फेला परेको थियो,' उनले सेतोपाटीसँग भने, 'यो केसमा प्रहरी कहीँकतैबाट पनि जोडिँदैन, तै पनि हामीमाथि आक्रोश पोखेर स्थानीयले चौकी तोडफोड गर्नु दुखद कुरा हो।'
आक्रोशित भीडले प्रहरी चौकी बाहिर रहेका सुरक्षाकर्मीलाई कुटपिट गर्दै चौकीभित्र रहेका सई सञ्जीव नापित र पाँच जनालाई बाहिरबाट घेरेर पेट्रोल छर्केको डिएसपी कार्कीले दाबी गरे। उनका अनुसार आक्रमणकारीले चौकी अगाडि रहेका ४ वटा मोटरसाइकलमा आगो लगाएका छन्।
यो घटनामा प्रहरीले २२ जनालाई नियन्त्रणमा लिएको छ। चौकी आक्रमण गर्न आउनेमाथि २२ राउन्ड हवाइ फायर गरिएको पनि प्रहरीले जनाएको छ। चौकी वरपर रहेका स्थानीयले खबर गरेपछि बौद्ध र गौशालाबाट गएको थप टोलीले चौकी आक्रमण गर्न पुगेकालाई तितरवितर गरेको थियो।आक्रमण गर्नेले प्रहरी चौकीका सिसा, झ्याल ढोका, गमला, टिभी, कुर्सी तोडफोड गरेका छन्।
काठमाडौं प्रहरीका एसपी प्रद्युम्न कार्कीले चौकी आक्रमण गर्न आउनेमा स्थानीय संलग्न नरहेको बताए।
'यो काठमाडौंमै सबभन्दा बढी भट्टी पसल रहेको ठाउँ हो। हामीले केही समयदेखि ती भट्टी ८ बजे नै बन्द गराउन थालेका थियौं। यसमा भट्टी सञ्चालकहरुले असहयोग गर्दै आएका थिए। आज त्यही निहुँमा हुँदै नभएको घटना उछालेर चौकी आक्रमण गरियो,' उनले सेतोपाटीसँग भने।
चौकी घेर्न आएका व्यक्तिहरुले भने प्रहरी हिरासतमै कुटपिट गर्दा लामा घाइते भएको र अस्पताल लगिएको आरोप लगाएका छन्। मृतकका आफन्तले पनि लामालाई प्रहरीले नियन्त्रण लिएको र उनको हिरासतमै मृत्यु भएको आरोप लगाएका छन्।