कैलाली जिल्लामा सरकारको अनुदान रकमबाट जग्गा खरिद गरेर हालै थप ५० मुक्तकमैया परिवार पुनःस्थापित भएका छन् ।
जिल्लाका विभिन्न क्षेत्रमा बस्दै आएका यी ५० परिवारलाई जग्गा खरिद, घर निर्माण र त्यसका लागि चाहिने काठका लागि प्रतिपरिवार तीन लाख ५५ हजार रुपैयाँ उपलब्ध गराएर पुनःस्थापित गराइएको मुक्तकमैया पुनःस्थापना जिल्ला समितिका सदस्य सचिव एवम् भूमिसुधार अधिकारी लक्ष्मण कठायतले बताए।
यस वर्ष जिल्लामा एक हजार ३०० मुक्तकमैया परिवारको पुनःस्थापना गर्ने प्रयोजनका लागि झन्डै ३७ करोड रुपैयाँ रकम निकासा भएको बताइएको छ । प्रति परिवारलाई जग्गा खरिद गर्न दुई लाख, घर निर्माणका लागि एक लाख र चाहिने काठका लागि ५० हजार समेत जम्मा तीन लाख ५० हजार रुपैयाँ अनुदान रकम उपलब्ध गराएर पुनःस्थापित गराउने गरिएको छ ।
कैलाली जिल्लामा एक हजार २९ मुक्तकमैया परिवारको अझै पुनःस्थापना हुन बाँकी रहेको छ । जग्गा खरिद गरेर तथा सरकारी एलानी पर्ती जग्गा सित्तैमा उपलब्ध गराएर मुक्तकमैयालाई पुनःस्थापित गर्ने गरिएको छ ।
सहजरुपमा एलानी पर्ती जग्गा प्राप्त हुन नसक्नुलगायतका कारण १६ वर्ष अघि आरम्भ गरिएको पुनःस्थापनाको काम अझै पूरा हुन नसकेको जिल्ला भूमिसुधार अधिकारी कठायतले बताए।
यो अवधिमा जिल्लामा पहिचान भएका आठ हजार ९१० परिवारमध्ये झन्डै सात हजार ५०० परिवारलाई पुनःस्थापित गराइसकिएको छ । विसं २०५७ साउनमा कैलाली, कञ्चनपुर, बर्दिया, बाँके र दाङ जिल्लामा व्याप्त रहेको कमैया प्रथालाई सरकारले अवैध घोषणा गर्दै सबै कमैयालाई मुक्त गरेको थियो । रासस