एमबीबीएस र विडिएसको प्रवेश परीक्षामा भाग लिने विद्यार्थीलाई चिट चोराएको सार्वजनिक भएपछि काठमाडौँ विश्वविद्यालयले दोषी पत्ता लगाई कारवाही गर्न प्रहरीमा उजुरी दिएको छ।
केयुले विराटनगरको नोवेल मेडिकल कलेजमा केन्द्र राखेर लिएको सो प्रवेश परिक्षामा मोबाइलबाट ‘ह्वाट्स एप’ मार्फत चिट चोराइएको सेतोपाटी लागायत मिडियाले शनिबार सार्वजनिक गरेका थिए।
केयुका रजिष्ट्रार भोला थापाले आइतबारै डिनले काभ्रे प्रहरीमा उजुर दिएको जानकारी सेतोपाटीलाई दिएका छन्।
‘एमबीबीएस र विडिएसका लागि लिएको दोस्रो प्रवेश परिक्षामा ह्वाट्स एप मार्फत चिट चोराइएको भनेर मिडियामा आएको छ, डिनले तिनै समाचार सहित दोषिलाई कारबाही गर्न माग गर्दै निवेदन दिइसक्नु भयो,’ रजिष्ट्रार थापाले भने।
काठमाडौं विश्वविद्यालयले पहिलोपटक कात्तिक २२ गते लिएको एमबिबिएस र बिडिएसको प्रवेश परीक्षामा विराटनगरस्थित नोबेल मेडिकल कलेजबाट एक जनामात्र विद्यार्थी भर्नाका लागि योग्य छानिएपछि दोस्रो प्रवेश परीक्षा लिएको थियो।
स्रोतका अनुसार, दोस्रो प्रवेश परीक्षामा पनि विद्यार्थी पास नहुने समस्या झेल्नु परेपछि नोबेलले चिट चोरी अपनाएको थियो। नोबेल कलेजमै तोकिएको परीक्षा केन्द्रमा परीक्षा सुरू भएको आधा घन्टाभित्रै प्रश्नपत्र बाहिरिएको थियो।
परीक्षा सुरु भएको ३७ मिनेटमा ९३ वटा प्रश्नको उत्तर ‘ह्वाट्स एप’ मार्फत बिद्यार्थीको मोबाईलमा पुर्याईएको थियो।
प्रवेश परीक्षाका लागि विराटनगरस्थित नोबेल मेडिकल कलेजमा परीक्षा केन्द्र तोकिएको थियो। प्रवेश परीक्षाको केन्द्र र समय भने गोप्य राखी सीमित विद्यार्थीलाई मात्र सो परीक्षा केन्द्र तोकिएको थियो।
विद्यार्थी लिएर आएका एक कन्सलटेन्टले भर्नाको लेनदेनमा कुरा नमिलेपछि चिट चोरी सार्वजनिक गरेका थिए। ती कन्सल्टेन्टले उपलब्ध गराएको ह्वाट्स एप च्याटमा परीक्षा सुरू भएको ३७ मिनेटमा ९३ वटा प्रश्नको उत्तर परीक्षा हलभित्र पुगेको देखिन्छ।
च्याटमा नेपाल र भारतको सीमकार्ड प्रयोग भएको देखिएको छ।
केयुको नियममा चिट चोर्ने विद्यार्थीलाई सचेत गराउने देखि विद्यार्थीलाई नै निस्कासन गर्ने सम्मको कारबाही हुन्छ। चिट चोराउनेलाई के कस्तो कारबाही गर्ने भन्ने प्रष्ट कानुन नभएको रजिष्ट्रार थापाले बताए। 'चिट चोराउनमा संलग्नहरुलाई अब प्रहरीले नै अनुसन्धान गरि पक्राउ र कारबाही गर्नेछु' उनले भने।
नोबेलका संचालक सुनिल शर्मा अाँफै नक्कली सर्टिफकेट काण्डमा पुछिएका छन्। उनलाई नक्कली शैक्षिक प्रमाण पत्र बनाएकोमा प्रहरीले खोजि गरिरहेको छ। उनी सार्वजनिक स्थानमा देखा पर्दैनन्।