पौषशुक्ल पूर्णिमा अर्थात् आजदेखि एक महिनासम्म सम्पूर्ण हिन्दू नेपालीका घरघरमा श्री स्वस्थानी परमेश्वरीको व्रतकथा प्रारम्भ हुँदैछ।
यस अवसरमा आजैदेखि माघशुक्ल पूर्णिमासम्म श्रद्धाभक्तिपूर्वक श्री स्वस्थानी परमेश्वरीको पूजाआराधना गरी कथा सुन्ने–सुनाउने गरिन्छ।
यस वर्ष माघ १ गते अर्थात आजको दिन एक घडी र ८ पला अर्थात् बिहान ७ बजेर २५ मिनेटसम्म चतुर्दशी तिथि रहने र सो घडी पछि पूर्णिमा तिथि आरम्भ हुने हुनाले आजदेखि नै पूर्णिमा व्रत बस्ने र श्री स्वस्थानी व्रत पनि सुरु भएको हो।
सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले …महादेव स्वामी पाऊँ' भनी बालुवाको शिवलिङ्ग बनाई श्री स्वस्थानीको व्रत गर्नुभएको र मनोकाङ्क्षा पूर्ण भएपछि उहाँकै आज्ञानुसार लोककल्याणका लागि पृथ्वीलोकमा पनि श्री स्वस्थानीको व्रत प्रारम्भ गरिएको धार्मिक विश्वास छ।
यस पर्वमा विशेषगरी महिलाहरू बिहान सबेरै उठी स्नान गरेर नित्य मध्याह्न महादेवको पूजा आराधना गर्नुका साथै कतिपयले एक महिने व्रत समेत बस्ने गर्छन्।
श्री स्वस्थानी परमेश्वरीको व्रत बस्नाले यस लोकमा सुख, समृद्धि प्राप्त भई मृत्युपछि कैलाशमा पनि वास हुने विश्वास गरिन्छ। काठमाडौँ उपत्यकाबाट करिब चार कोस पूर्व शालीनदीमा महिनाभर विशेष मेला लाग्छ भने कतिपय महिला त्यहींँ बसेर एक महिनासम्म नै विशेष विधिपूर्वक श्री स्वस्थानीको व्रत बस्छन्।
भक्तजनहरू यो महिनाभित्र शालीनदीको तीरमा पुगेर स्नान गरी श्री स्वस्थानी माताको पूजा अर्चनाका साथै सो क्षेत्र वरपर रहेका स्वस्थानी व्रत कथामा उल्लेख भएझै नवराज ब्राम्हण, गोमा ब्राम्हणी, चन्द्रावतीको थलोमा पुगेर पूजा अर्चनासहित दर्शन गर्ने गर्छन्।
आजैदेखि माघेस्नान अर्थात् मकरस्नान पनि सुरु भएको छ।
शालीनदी मेलाको सम्पूर्ण तयारी पूरा
प्रत्येक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघशुक्ल पूर्णिमासम्म साँखु शालीनदीमा माघ २ गतेदेखि लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको मेला आयोजक मूल समितिका संयोजक जयराम श्रेष्ठले जानकारी दिए।
मेला तयारीका लागि श्रेष्ठको संयोजकत्वमा २५ सदस्यीय समिति गठन गरिएको छ। समितिमा सो क्षेत्रका साँखु सुल्टोल, पुखुलाछी र बज्रयोगिनी गरी तीनवटै गाविसका सचिवहरू पदेन सदस्य रहेका छन। मेलाका लागि विभिन्न १८ वटा उपसमिति गठन गरिएको छ।
मेलामा आएको भक्तजनलाई आकस्मिक स्वास्थ्य सेवा दिन नेपाल रेडक्रस सोसाइटी साँखु उपशाखा र लाइफ केयर अस्पताल साँखुको संयुक्त आयोजनामा स्वास्थ्य सेवा पुर्याइने छ। त्यस्तै मेला अवधिभर महानगरीय प्रहरी प्रभाग साँखुले विशेष सुरक्षा योजना लागू गर्ने जनाएको छ। रासस
फाइल तस्विर