सल्यानमा ससुराली आएका एक प्रहरी हवल्दार मृत अवस्थामा फेला परेका छन्। शारदा नगरपालिका वडा नं. –५ श्रीचौर स्थित गोरेटो बाटोमा प्रहरी हवल्दार ३५ बर्षीय रमेश थापा बुधवार दिउँसो मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका निमित्त प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक प्रेमशंकर चौधरीले जानकारी दिए ।
चौधरीका अनुसार दैलेख जिल्लाको नारायण नगरपालिका वडा – १० निवासी प्रहरी हवल्दार थापा हाल ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दियामा कार्यरत थिए । मृतक हवल्दार थापाकी पत्नी पनि प्रहरी जवान हुन्। उनीहरु विदामा सल्यान स्थित सुसुरालीमा आएको भए पनि थापा मंगलबार साँझपख ससुरालीबाट निस्किएको र बुधवार दिउँसो दुई बजे मृत अवस्थामा फेला परेको सल्यान प्रहरीले जानकारी दिएको छ ।
मृतक थापाको आज बिहिवार जिल्ला अस्पतालमा पोष्टमार्टम भएको छ । सल्यान प्रहरीका प्रहरी निरीक्षक चौधरीका अनुसार थापा ससुराली वाट निस्किएकै साँझ सल्यान प्रहरीले आसपासको जंगलमा रातभर खोजि गरेको भए पनि फेला पार्न भने सकेको थिएन। मृत अवस्थामा फेला परेका थापा छारे रोगका विरामी भएको तथा मानसिक सन्तुलन समेत ठिक नभएको भन्ने जानकारी प्राप्त भएको प्रहरीले बताएको छ ।