कला र संस्कृतिको धनी मानिने मिथिलाञ्चलमा बिहिबार देखि मधुश्रावणी पर्व शुरु भएको छ ।
श्रावण कृष्ण पञ्चमीको दिनदेखि शुरु हुने मधुश्रावणी पर्व मिथिलामा नवविवाहिता बधुले गर्ने सबभन्दा ठूलो व्रतको रुपमा मानिन्छ।
विशेष विधिका साथ तेह्र दिनसम्म मनाइने उक्त पर्वको समापन श्रावण शुक्ल तृतीया तिथिका दिन हुन्छ ।
साउन महिना आध्यात्मिक महिना हुनाका साथै धर्म ग्रन्थमा साउन महिनालाई मधुमासका रूपमा स्वीकार्नु तथा वर्षा ऋतुमा सर्पको भूमिमा आगमन र विचरणले मानव जीवन त्रस्त हुनाका साथै नाग–नागिनी र प्रकृतिका प्रतीक हुने कारणबाट पनि प्रेरित यो पर्व मुख्यतः शिव, पार्वती तथा नाग–नागिनीको पूजामा केन्द्रित रही १३ दिनसम्म मनाउने चलन छ ।
आमोद प्रमोद, हासपरिहास र उन्मादले भरिएको यो पर्वमा नव वरवधुलाई आनन्द लिने मौका दिइन्छ। प्रेम, उन्माद र विशिष्ट संस्कृतिका रुपमा रहेको मधुश्रावणीलाई गलतरुपमा व्याख्या नगरी यसको संरक्षण गर्न आवश्यक रहेको मैथिली साहित्यकारहरु बताउँछन् ।
पूर्वजद्वारा दिइएको एउटा अनुपम उपहारको रुपमा ठानिने यो पर्वको महत्वपूर्ण पक्ष भनेको विसहरा तथा शिवपार्वतीको पूजा गर्ने क्रममा वृद्ध महिलाद्वारा कथा वाचन गरिनु हो । कथाद्वारा शिव पार्वतीको जीवनसँग जोडिएको घटनालाई रोमाञ्चकारी रुपमा प्रस्तुत गरिन्छ । यस पर्वमा नवविवाहित स्त्री खुलेरै घुमफिर गर्नाका साथै आफ्नो सखीहरुलाई मुक्तकण्ठले आफ्नो पतिको खुलेर प्रशंसा गर्ने गर्दछन् ।
यस पर्वमा नवविवाहिता मैथिल पुत्रीहरु गीत गाउँदै श्रीमान्ले ल्याएको वा पठाएको फरिया, लेहंगा लगाएर सखीसँग फूलबारीमा फूल टिप्दै लोकाचारलाई रंगात्मक धरातलमा उभ्याउदै भव्यतापूर्वक मनाउछन । सामाजिक सांस्कृतिक परम्परामा आधारित यो पर्व वैवाहिक जीवनको प्रवेशमा पहिलो वर्ष धुमधामसँग मनाइन्छ भने त्यसपछि हरेक वर्ष सो अवसरमा कथा सुन्ने, सुनाउने परम्परा छ । वाल्मीकि रामायणअनुसार गौरीपूजनका लागि फूल टिप्ने क्रममा रामसँग सीताको भेट भएको भनाइ छ । नवविवाहिताहरू यस पर्वमा हृदयको उल्लास उमंगलाई व्यक्त गर्छन् ।
पहिलो दिन मौनापञ्चमी एवं विसहराको जन्मका कथा सुन्ने चलन छ, जुन नाग उत्पत्तिको कथा हो । दैनिक रुपमा गौरी नागको पूजा गरिन्छ । पूजामा केंचुआ (धान, धूवो धनियाँ, बेसार, ल्वाङ, जाइफल, हर्रो, बर्रो र सुपारीको पोको) को प्रयोग गरिन्छ। कथाको समापनपछि सुहाग (अंकरी, चना) प्रतीक वितरण गरिनुका साथै पर्वको अन्तिम विधि ‘टेमी’ दिने गरिन्छ जस अनुसार नवदुलहीको आँखा छोपी घुँडा र खुट्टा डाम्ने गरिन्छ । यसलाई डाम्दा हुने पीडा जतिकै दाम्पत्य जीवनमा पर्न सक्ने दुःख, कष्ट, पीडा खप्ने हुनु पर्दछ भन्ने अर्थमा अथ्र्याइएको पाइन्छ। जुन अव्यावहारिक, अन्धविश्वासी, र रूढीवादी परम्परामा आधारित देखिन्छ।
गौरी तथा नाग–नागिनीको पूजा गरी कथा सुन्ने र सुनउने यो पर्व प्रायःजसो मैथिल समुदायका ब्राह्मण, कायस्थ, देव, सोनार जातिले मनाउने चलन छ ।