पर्सा प्रहरीले मंगलबार साँझ ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। वीरगन्ज महानगरपालिका २१ परवानीपुरबाट प्रहरीले ६० किलो गाँजा बरामद गरेको हो।
पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक रेवती ढकालका अनुसार डिएल ९ सिक्युएस ४३०९ नम्बरको भारतीय गाडीबाट गाँजा बरामद गरिएको हो।
हेटौडाबाट पर्सा हुँदै भारत निकासी गर्न लागेको अवस्थामा गाँजा बरामद गरिएको ढकालले बताए। गाडीसहित कारोबारी भारत हरिसिद्धी गाउँ पञ्चायतका सञ्जय सहनी पक्राउ परेका छन्। सिटको पछाडिपट्टि लुकाएर निकासी गर्न लागिएको गाँजा चेकजाँच क्रममा प्रहरीले फेला पारेको थियो।
प्रतिबन्धित गाँजा भारत निकासीबारे पक्राउ परेकाबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।