पाँचथरको हिलिहाङस्थित हेवा खोलामा आइतबार दिउँसो पौडी खेल्दै गर्दा बेपत्ता भएका स्थानीय एक युवालाई सोमबार बिहान प्रहरीले मृत अवस्थामा फेला पारेको छ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार वडा नखुलेका आङ्गसाराङ्ग बस्ने २६ वर्षीय रमेश आङ्गदेम्बेको शब सोमबार बिहान घटनास्थलदेखि चार किलोमिटर दुरीको (साबिक भारपा) हालको हिलिहाङ्गमा फेला परेको हो।
जिल्ला प्रहरी कार्यालयको सूचना शाखाले दिएको जानकारी अनुसार आइतबार दिउँसो ३ बजे आङ्गदेम्बे पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए। उनी बेपत्ता भएको २० घन्टापछि शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
आङ्गदम्बेको शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल फिदिम लगिएको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।