दार्जुलाबाट महेन्द्रनगर आउँदै गरेको यात्रुबाहक बस बिहीबार बिहान भीमदत्त राजमार्गमा दुर्घटना हुँदा २५ जना घाइते भएका छन्। ना५ख ९११४ नम्बरको बस जरायो गाउँपालिकास्थित रुवसडाँडामा दुर्घटना भएको डोटी प्रहरीले जनाएको छ।
दुर्घटनामा आठ जना गम्भीर घाइते छन्। गम्भीर घाइतेलाई उपचारका लागि कैलालीको पदमा हस्पिटल लगिएको प्रहरीले जनायो। चालक पदम पन्तको खटिया अस्पताल भारतमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार बस बिहान ३ बजे दुर्घटना भएको थियो। मोड काट्न नसक्दा बस राजमार्गबाट ६० मिटर तल खसेको प्रहरीले जनाएको छ। बस रुखमा अल्झिएको थियो।
दुर्घटना हुनेवित्तिकै प्रहरी टोलीले उद्धार गरी यात्रुबाहक बस तथा एम्बुलेन्सबाट घाइतेलाई अस्पताल लगेको थियो।