ललितपुरको पाटनस्थित कात्तिक डबलीमा आजदेखि कात्तिक नाच सुरू हुँदैछ।
कात्तिक शुक्ल प्रतिपदादेखि सुरू हुने ऐतिहासिक, साँस्कृतिक एवं तान्त्रिक महत्त्व बोकेको विभिन्न नाच १२ दिनसम्म प्रदर्शन गरिनेछ।
यो नाच वि.स. १६९७ मल्लराजा सिद्धिनरसिंहले सुरू गरेका हुन्।
देशमा शान्ति, सबैको समृद्धि र मनोरञ्जनको हेतुले यो नाच सुरू भएको कात्तिक नाच समितिका उपाध्यक्ष प्रतापधर शर्मा बताउँछन्।
‘कुनै समय महिनाभरि देखाइने हुँदा कार्तिक नाचका नामले यो नाच परिचित थियो। २७ दिनसम्म देखाइन्थ्यो,’ प्रतापधरले भने, ‘अहिले छोट्टिएर १२ दिनमा पुगेको हो। अर्थिक समस्याका कारण यसका धेरै नाच हराउँदै गएका छन्।’
वि. सं १६९७ सालमा ललितपुरको राजा सिद्धिनरसिहंले आफ्नो देश र जनताको कल्याणका लागि विश्वकै लामो नाट्य महोत्सव आयोजना गर्ने सोच बनाए।
यसै शिलशिलामा नाट्य क्षेत्रमा धुरनधर शिक्षा गुरु हरिवशं आचार्य र वाद्य क्षेत्र र तान्त्रिक विधामा धुरनधर दिक्षा गुरु विश्वनाथ उपाध्यायलाई दरबारमा बोलाए।
यसैको स्वरुप त्यो समयमा ५ दिनसम्म उक्त नाच सञ्चालन भएको थियो। ५ दिनबाट सुरू भएको यो नाचलाई सिद्धिनरसिंहको छोरा श्री निवास मल्लले त्यसमा लोक नाटक थपेर १५ दिनसम्म लम्बाए। पछि श्री निवासका छोरा योग नरेन्द्र मल्लले त्यसमा उषाकिरण लिला थपेर २७ दिनसम्म प्रदर्शन गरे।
कात्तिक महिनाभरि चलेको हुँदा उक्त नाचलाई कात्तिक नाच भनिन थालिएको थियो।
‘वि.सं २००७ सालदेखि २०३७ सालसम्म आइपुग्दा नाच दुई दिनमा झर्यो। आर्थिक पक्ष कमजोर भएपश्चात यसका नृत्यकर्मीहरूले समय मिलाउन सकेनन्,’ प्रतापधरले भने, ‘एकपटक अनुबन्धित भएपछि १२ वर्षसम्म यो नृत्यकर्ममा लाग्नुपर्ने भएकाले नाच जगेर्ना भएन। त्यही क्रम जारी छ।’
आर्थिक अभावमा पर्दै आएको यो नाच पुर्खौंदेखि चलिआएको संस्कृति धान्न मात्र सञ्चालन गरिएको प्रतापधर बताउँछन्।
यो वर्ष ललितपुर महानगरले दुई लाख र पाटन संग्रहालयले २० हजार सहयोग गरेको उनले बताए।