झापाको धार्मिक तथा पर्यटकीय सताक्षीधाममा यस वर्ष पनि गौकथा महोत्सव आयोजना हुने भएको छ। मंसिर १० गतेदेखि धार्मिक पर्व बालाचतुदर्शीको अवसर पारेर १० दिवसीय शिवमहापुराण तथा संगीतमय गौकथा महोत्सव एवम् धान्यान्ञ्चल महायज्ञ हुने आयोजक गोलोक गोवर्धन गौशालाले जनाएको छ।
गोलोक गोवर्धन गौशाला शिवसताक्षी नगरले आयोजना गर्न लागेको सो महायज्ञको तयारी भइरहेको समितिले जनाएको छ। आयोजक समितिका अध्यक्ष नन्दकिशोर भारद्वाजका अनुसार ४५ लाख अनुमानित लागतमा पुराणको आयोजना हुन लागेको छ।
पुराण सञ्चालनका लागि ५०१ सदस्यीय मुल आयोजक समिति गठन भएको छ। सो कथाको डा. यतिराज घिमिरे प्रमुख कथाबाचक र पण्डित दामोदर सुवेदी उपबाचक रहने आयोजक समितिले जनाएको छ।
गौकथा महोत्सवमा मोहनशरण देवाचार्य, भागवतचार्य महाराज माइधार, मेदनी पति मिश्रा युके, विष्णुवल्लभ नन्द हरिद्वार भारत, श्री गोपालशरण देवाचार्य दिल्लीबाट आउने आयोजक समितिले बताएको छ।
समितिका अनुसार क्यानाडा, स्पेन, सिंहापुर, भारत, घाना, दक्षिण अमेरिकाको गयाना, बेलायत अमेरिका लगायतका मुलुुकमा ख्याति कमाएका नेपालीभाषी विद्वानको आगमन हुने गौकथा महोत्सवले जनाएको छ।
भक्तजनलाई भोजन र आवास निःशुल्क
गौकथा महोत्सवमा यो वर्ष तीर्थयात्रीलाई भोजन र आवास आयोजकले निःशुल्क उपलब्ध गराउने भएको छ।
टाढा नजिकबाट आउने सब भक्तजनलाई आवास र खाना निःशुल्क गरिएको आयोजक समितिका कोषाध्यक्ष पण्डित सोमनाथ सुवेदीले जानकारी दिए। दिवाकालीन सत्र र रात्रिकालीन सत्रका लागि आउने भक्तजनलाई भोजनकै कारण आउने र जानेको समस्या हटाउन गौशालामा भोजन र आवासको व्यवस्था गरिएको हो।
भोजन र आवास सुविधा गौशालाले थपेपछि यो वर्ष एक लाखभन्दा बढी भक्तजनको सताक्षीधाममा सहभागिता रहने आयोजक समितिले जनाएको छ। आयोजकले यो वर्ष झापाका पन्ध्र वटै स्थानीय तहलाई कार्यक्रममा सहभागी गराउने प्रयत्न गरको छ।