प्रहरीले दुइटा चितुवाको छालासहित सुर्खेतबाट एक जना व्यक्तिलाई पक्राउ गरेको छ।
५ नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका अनुसार वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ एरीचोक (जुम्लारोड) बाट रास्कोट नगरपालिका वडा नं. ४ सिउना कालीकोट निवासी २९ वर्षीय टंकप्रसाद संजेल(उपाध्याय)लाई पक्राउ गरिएको हो।
प्रदेश प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टीकाबहादुर कार्कीले प्रदेश नं. ५ को प्रदेश प्रहरी व्यूरोका प्रहरी निरीक्षक बोधराज रेग्मीको नेतृत्वमा गएको टोलीले जिल्ला प्रहरी कार्यालय सुर्खेतसँग समन्वय गरी उपाध्यायलाई पक्राउ गरेको जानकारी दिए।
उपाध्यायको साथबाट एक थान ध्वाँसे चितुवा र एकथान वयस्क चितुवाको छाला बरामद गरिएको जानकारी दिएको छ।
पक्राउ परेका व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमार्फत् आवश्यक कारबाहीको डिभिजन वन कार्यालयमा बुझाउने प्रदेश प्रहरी प्रवक्ता कार्कीले जानकारी दिए। उपाध्यायलाई प्रहरीले आइतबार साढे ३ बजेतिर पक्राउ गरिएको बताएको छ।
प्रदेश प्रहरी व्यूरोको यही टोलीले गत हप्ता मात्रै बाँकेको कोहलपुर क्षेत्रबाट दुर्लभ पाटे बाघको छालासहित दुई जनालाई पक्राउ गरेको थियो।