सरकारले रानीपोखरी पुनर्निर्माणको जिम्मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिएको छ।
यही माघ १४ गतेको मन्त्रिपरिषद् बैठकले रानीपोखरी, बालगोपालेश्वर मन्दिरलगायत सो क्षेत्रका पुरातात्विक संरचनाको पुनर्निर्माणसम्बन्धी सबै काम प्राधिकरणले गर्ने गरी जिम्मेवारी दिएको हो।
यो निर्णयसँगै काठमाडौं महानगरपालिकालाई अब रानीपोखरीको कामबाट मुक्त गरिएको छ। तीन वर्षअघि राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले यसको शिलान्यास गरेकी थिइन्। भुइँचालो गएको चार वर्ष बित्न लाग्दा पनि रानीपोखरी पुनर्निर्माणबारे अन्यौल नै थियो। महानगरले पुरातात्विक सम्पदामाथि हेलचेक्र्याँइ गर्दै पटक-पटक निर्माणमा कंक्रिट प्रयोग गरेको थियो।
यो विवाद साम्य पार्दै सरकारले रानीपोखरीका सबै पुरातात्विक संरचना पुनर्निर्माण प्राधिकरणलाई दिने निर्णय गरेको हो।
सरकारले बालगोपालेश्वर मन्दिर गुम्बज वा ग्रन्थकुट/शिखर (मल्लकालीन) कुन शैलीमा बनाउने भन्ने विवाद पनि टुंगो लगाएको छ। पुनर्निर्माणसम्बन्धी विवाद समाधान गर्न गत वर्ष पुस १३ गते गठित विज्ञ समूहले प्रताप मल्लकालीन शैलीमै निर्माण गर्न सुझाएको थियो। यही आधारमा परम्परागत शैली र मौलिकता संरक्षण गरी रानीपोखरी वरिपरिको भाग प्रताप मल्लकालीन शैलीमा पुनःनिर्माण गरिने जनाइएको छ।
प्रताप मल्लले रानीपोखरी बीचमा बालगोपालेश्वर र चारैतिर चारवटा मन्दिर स्थापना गर्न लगाएको इतिहास छ। उत्तर–पश्चिम कुनामा शक्तिसहितको भैरव मन्दिर, उत्तर–पूर्वी कुनामा भैरव मन्दिर, दक्षिण–पूर्व कुनामा देवीको मन्दिर र दक्षिण–पश्चिममा सोह्रहाते गणेश स्थापना गरिएको छ।
मल्लकालीन यो मन्दिरलाई जंगबहादुर राणाले बेलायत भ्रमणपछि गुम्बज शैलीमा पुनर्निर्माण गराएका थिए। १९९० सालको भुइँचालोमा मन्दिरको गजुर भत्केपछि जुद्धशमशेरले रानीपोखरी मन्दिरलाई अहिलेको स्वरूप दिए।
सम्पदाविद् सुदर्शनराज तिवारीका अनुसार यस्तो ढाँचाका मन्दिरमा एक वा चारवटा प्रवेशद्वार हुन्छन्। हरेक प्रवेशद्वार अगाडि दुइटा खम्बा हुन्छ। त्यही खम्बामाथि अलिकति भिरालो परेको छाना हुन्छ।
माथिल्लो छानाको ढाँचाका कारण यसलाई ‘शिखर’ शैली भनिएको हो। तल्लो भिरालो छानामाथि अंग्रेजी अक्षर ‘ए’ जस्तो उठेको हुन्छ। यस्तो ‘ए’ आकार पनि पाँचदेखि नौवटासम्म हुने तिवारी बताउँछन्।
काठमाडौं उपत्यकामा ग्रन्थकुट शैलीका मल्लकालीन मन्दिर प्रशस्तै भेटिन्छन्। पाटन दरबार स्क्वायरको नरसिंह नारायण मन्दिर अहिलेसम्म भेटिएको सबभन्दा पुरानो हो।
प्रताप मल्लले नै निर्माण गराएका अन्य संरचना यही शैलीका छन्। जस्तो– स्वयम्भूको प्रतापपुर र अनन्तपुर। अनन्तपुर उनले रानीका नाममा बनाएका थिए।
२०७२ को भुइँचालोमा मन्दिर भत्केपछि यसलाई मल्लकालीन ग्रन्थकुट शैलीमा बनाउने कि राणाकालीन गुम्बज शैलीमा भन्ने विवाद थियो। पुरातत्व विभागले दुई वर्षअघि बालगोपालेश्वर मन्दिर पुनर्निर्माण गर्ने सम्झौता गरेको थियो।
उता महानगरपालिकाले बगैंचा, पर्खाल र पोखरी निर्माणको जिम्मा पाए पनि काम अघि बढ्न सकेन। महानगर केही समयदेखि रानीपोखरी बाहिरी भाग पहिलेजस्तै टेन्डर आह्वान गरेर पुनर्निर्माणमा जाने कि स्थानीय मागअनुरूप उपभोक्ता मोडलमा जाने भन्ने दुबिधामा थियो।
उसले रानीपोखरी पुनर्निर्माणलाई लिएर तीनचोटिसम्म टेन्डर आह्वान गरेको थियो। तेस्रो टेन्डरमा तीन कम्पनीले सहभागिता जनाएकामा दुई कम्पनी प्राविधिक रूपमै अयोग्य ठहरिए। बाँकी एउटा कम्पनीले पनि ठेक्का रकमभन्दा ११ प्रतिशत धेरै मागेपछि टेन्डर रद्द गरेको थियो।
पहिलो टेन्डरबाट ठेक्का पाएको वर्ल्डवाइड कँडेल केएन के जेभीले यहाँको पुरातात्विक महत्व मासिने गरी कंक्रिट पर्खाल लगायो। स्थानीयबाट विरोध भएपछि ४ करोड खर्च गरेर लगाइएको पर्खाल भत्काइयो। सम्झौता पनि रद्द भयो। दोस्रो टेन्डरमा दुइटा निवेदन मात्र परेपछि मागअनुरूप भएन भन्दै रद्द गरिएको थियो। पुनर्निर्माण निम्ति महानगरले १७ करोड बजेट छुट्याएको थियो।
अब भने विज्ञको सुझावका आधारमा प्राधिकरणले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्व विभाग एवं महानगर लगायतसँग समन्वय तथा सहजीकरण गरी पुरानै शैलीमा पुनःनिर्माण गरिनेछ।
रानीपोखरीमा पानी कसरी जम्मा गर्न र अड्याउन सकिन्छ भन्नेबारे पनि प्राधिकरणले भूगर्भविद्हरूबाट अध्ययन गराएको थियो। विज्ञहरूले ३०० फिट तलबाट पानी निकाल्न सकिने र कालीमाटी प्रयोग गरी पानी अड्याउन सकिने प्रतिवेदन दिएका छन्।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सबै सम्बन्धित निकायको र समन्वयमा प्रताप मल्लकालीन शैली, प्रविधि र निर्माण सामग्रीबाट नै रानीपोखरी पुनःनिर्माण गर्ने बताएका छन्।