मोरङ बेलबारी नगरपालिका–८ स्थित पूर्व–पश्चिम राजमार्गमा विप्लव माओवादी कार्यकर्ताले राखेको बम सेनाले निष्क्रिय पारेको छ।
चिसाङ खोलाको पश्चिमपट्टि जंगलबीचको राजमार्गमा राखेको कुकर बम सेनाले निष्क्रिय पारेको हो।
प्रहरीका अनुसार दिउँसो करिब साढे १ बजे सडकको बीचमा कुकर बम राखी सवारीसाधन रोकेर विप्लव कार्यकर्ता भागेका थिए।
तत्कालै प्रहरी पुगे पनि बम डिस्पोज नहुँदा यातायात अवरुद्ध भएको थियो। मोरङ प्रहरीका उपरीक्षक मनोज केसीका अनुसार राजमार्ग उत्तर–दक्षिणबाट केही सवारीसाधन पार गराइएको थियो।
इटहरीबाट गएको सेनाको टोलीले बम डिस्पोज गरेपछि यातायात सुचारु भएका छन्। राजमार्गमै बम भेटिएपछि त्रास उत्पन्न भएको छ।