गाउँमा खबर आदानप्रदान गर्ने कटुवाललाई गोरखाको धार्चे गाउँपालिकाले मासिक पारिश्रमिक (तलब) दिन थालेको छ।
हरेक वडामा इन्टरनेट पहुँच पुर्याएको गाउँपालिकामा मोवाइल र रेडियो, टेलिभिजनजस्ता सञ्चार साधनको पहुँच पुगे पनि गाउँमा खबर आदानप्रदानका लागि कटुवाल राखिएको छ।
लाप्राक, गुम्दा, उहिया, लापु, केरौंजा र काशीगाउँमा कटुवाल नियुक्त गरी गाउँपालिकाबाट मासिक पारिश्रमिक दिन सुरु गरेको गाउँपालिका प्रमुख सन्तबहादुर गुरुङ (सन्तोष) ले जानकारी दिए।
‘गाउँपालिकाको एक तिहाइ जनसंख्याले नेपाली भाषा बुझ्दैनन्,’ अध्यक्ष गुरुङले भने, ‘स्थानीय (गुरुङ) भाषामा कटुवालले खबर आदानप्रदान गर्छन्।’
गाउँका खबर आदानप्रदान गर्न बाबुबाजेका पालादेखि नै कटुवाल थिए। खबर सुनाए बापत कटुवाललाई गाउँलेहरुले बार्षिक रुपमा मकै, आलुलगायत अन्न दिने गर्दथे।
कटुवालहरुले अन्न लिन नमानेपछि गाउँपालिकाले नै मासिक पारिश्रमिक उपलब्ध गराएको गुरुङले जानकारी दिए। ‘एक हजार पाँच सय रुपैंयाका दरले कटुवाललाई पारिश्रमिक दिन्छौं,’ उनले भने, ‘एक वडामा एक जना कटुवाल छन्। जसले गाउँलेलाई उनीहरुले बुझ्ने भाषामै खबर सुनाउँछन्।’
गाउँपालिकाले सातै वडाका बासिन्दालाई लक्षित गरेर नि:शुल्क टेलिफोन सेवा पनि सुरु गरेको छ। ‘हेलो गाउँपालिका प्रमुख कार्यक्रम सुरु गरिएको छ,’ गुरुङले भने, ‘बिकास निर्माणदेखि व्यक्तिगत समस्या गाउँलेहरुले १६६००७६५५५ मा फोन गरेर सुनाउँछन्।’
गाउँपालिकाले पर्यटन प्रवर्द्धन, शिक्षा, स्वास्थ्य र सडक निर्माणलाई प्राथमिकतामा राखेको छ। २०७२ साल बैशाख १२ मा गएको भूकम्पको केन्द्र मानेर इपिसेन्टर ट्रेकिङ ट्रेल निर्माण गर्ने जनाएको छ।
‘गाउँपालिकाभित्र ह्यारी हिल, भीसी थमन गुरुङ र आरोही पार्क छ,’ उनले भने, ‘खप्तड जान नसक्नेलाई मिनि खप्तड धार्चे डाँडा छ। उहिया र माछीखोलामा तातोपानी कुन्ड छ।’
यी समग्र बिषयलाई समेटेर धार्चेले डकुमेन्ट्री नै निर्माण गरिसकेको छ। ५ लाख खर्चेर बनाइएको डकुमेन्ट्रीको आइतबार राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी दलका प्रमुख नेपाली कांग्रेसका सांसद सुरेन्द्रराज पाण्डेले विमोचन गरे।