डकैत तथा लुटपाट घटनाका अभियुक्तले घटना गराएको दिन एक जना प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई भेटेको बयान दिएका छन्।
महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेका लुटपाटका अभियुक्तमध्ये एक जनाले अनुसन्धान सिलसिलामा इलाका प्रहरी कार्यालय रौतहट चन्द्रनिगाहापुरमा कार्यरत प्रहरी नायब उपरीक्षक कुमोध ढुंगेलको नाम लिएका हुन्।
गत चैत २६ गते काठमाडौं-२९ स्थित रानीबारीमा भएको लुटपाट घटनामा पक्राउ परेका विक्रम श्रेष्ठले घटना गराएकै दिन डिएसपी ढुंगेललाई महाराजगञ्जको भेनस रेस्टुरेन्टमा भेटेको बयान दिएका हुन्।
चन्द्रागिरी नगरपालिका-८ का ३६ वर्षीय श्रेष्ठ र डिएसपी ढुंगेलबीच घटना गराएको भोलिपल्ट ढुंगेलले बोक्ने गरेको ९८५११८०००० र ९८०८२३७०८२ बाट सम्पर्क समेत भएको देखिएको महाशाखाले जनाएको छ। चैत २७ गते ढुंगेलको एनसेल नम्बरबाट श्रेष्ठले बोक्ने गरेको नम्बर ९८५११५५१८४ बिहान १०:३७ मा र नेपाल टेलिकमको पोस्पेड नम्बरबाट राति ८:२३ मा एक पटक सम्पर्क भएको देखिन्छ। जतिबेला, महाशाखा श्रेष्ठलगायतको लुटपाट टोलीको खोजीमा जुटिसकेको थियो।
महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक धिरजप्रताप सिंहका अनुसार २८ गते पनि दुई पटक टेलिफोन सम्पर्क भएको देखिन्छ। ढुंगेलले एनसेलबाट २८ गते दिउँसो १२ : ४७ र पोस्पेड नम्बरबाट दिउँसो ३:५ मा फोन सम्पर्क भएको देखिन्छ।
त्यसपछि वैशाख २ गते पनि सम्पर्क भएको देखिन्छ। वैशाख २ गते डिएसपी ढुंगेलले श्रेष्ठलाई एनसेल नम्बरबाट दिउँसो 0१: ७ बजे फोन गरेको देखिन्छ।
‘अनुसन्धानमा ढुंगेलले प्रयोग गरिरहेको नम्बर ९८०८२३७०८२ र ९८५११८०००० बाट श्रेष्ठको ९८५११५५१८४ नम्बरमा दिन बिराएर पटक-पटक टेलिफोन संवाद भएको देखिएको छ,’ सिंहले भने।
रानीबारी डकैत तथा लुटपाट घटनामा संलग्न भएको भन्दै श्रेष्ठसहित तीन जनालाई अपराध महाशाखाको टोलीले वैशाख ६ गते पक्राउ गरेको थियो। पक्राउ पर्ने अन्य चन्द्रागिरी-८ का ३८ वर्षीय नवराज तामाङ र नुवाकोट बेलकोटगढी नगरपालिका-४ घर भई नैकाप बस्ने २८ वर्षीय सन्तबहादुर तामाङ रहेका छन्।
उनीहरूले रानीबारीका लालेन्द्र शेरचन, उनकी श्रीमती भानुदेवी शेरचन र मिठु थकालीबाट पाँच लाख ६० हजार बराबरको धनमाल लुटेको महाशाखाले जनाएको छ। धारिलो हतियार देखाएर हातखुट्टा बाँधेर, मुखमा टेप टाँसी उनीहरूको घरबाट धनमाल लुटिएको महाशाखाले जनाएको छ। उनीहरूविरूद्ध संगठित अपराध र ठकैतीमा मुद्दा चलाइएको छ।
एसएसपी सिंहले लुटपाट घटनामा संलग्न व्यक्तिलाई डिएसपीले फोन गरेको भेटिएपछि अनुसन्धान दायरामा प्रहरी पनि देखिएको बताए।
‘पक्राउ परेका व्यक्तिसँग भेट र बारम्बार टेलिफोन सम्पर्क भएको विषयमा हामी अनुसन्धान गरिरहेका छौं,’ सिंहले भने, ‘उनीहरूबीच पटक-पटक के संवाद भएको छ, त्यसको भ्वाइस रेकर्ड मगाएको छु।’
उनका अनुसार अपराधमा संलग्न व्यक्तिहरूसँग ‘असम्बन्धित प्रहरी अधिकृत’को टेलिफोन सम्पर्क देखिनु ‘संवेदनशील’ मानिन्छ।
‘अनुसन्धानका सिलसिलामा अधिकारप्राप्त प्रहरीले मानिस पक्रने क्रममा सम्पर्क हुनुलाई सामान्य मानिन्छ,’ उनले भने, ‘तर, असम्बन्धित प्रहरी अधिकृतबीच घनिष्ठता देखिनु चाहिँ गम्भीर हो।’
ढुंगेल प्रहरी निरीक्षक हुँदा लामो समय अपराध महाशाखामा कार्यरत थिए। डिएसपी भएपछि उनी मोरङ, रामेछाप, रुपन्देही हुँदै हाल इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुर इञ्चार्ज छन्।
उनी नेपाल प्रहरीमा ‘इन्काउन्टर स्पेसलिस्ट’को रुपमा परिचित छन्। डिएसपी ढुंगेलको नेतृत्वमा निर्माण व्यवसायी संघका तत्कालीन अध्यक्ष शरद गौचनको हत्यामा संलग्न मनोज पुन र सोम आलेको गत वर्ष इन्काउन्टर भएको थियो।
केन्द्रीय अनुसन्धान ब्युरोको टोलीको प्राविधिक सहयोगमा इन्काउन्टर गर्न पुगेका ढुंगेलको पछि रुपन्देहीमै पोस्टिङ भएको थियो।
ढुंगेलले भने अपराध अनुसन्धानका सिलसिलामा ‘फिल्ड’मा खटिने प्रहरी अधिकृतसँग जोसुकैको कुराकानी र संवाद हुने भएकाले यसमा अनौठो केही पनि नरहेको बताए। ‘अनुसन्धानमा लामो समय बिताएको मान्छे हुँ,’ उनले भने, ‘कस-कससँग सम्पर्क हुन्छ, तिनैको नाम जोड्न मिल्दैन।’