जन्ती र घरबेटी पक्षबीच झगडा हुँदा गोरखामा एक जनाको मृत्यु भएको छ।
केटी जिस्क्याएको निहुँमा भएको झगडाले लम्जुङको राइनास ४ अल्कटारबाट जन्ती आएका ३४ वर्षीय विष्णु कुमालको मृत्यु भएको हो।
राइनासबाट पालुङटार ४ कुमाल गाउँमा जन्ती आएकाहरू र माइती पक्षबीच केटी जिस्क्याएको विषयमा कुटाकुट भएको थियो।
कुटपिटबाट घाइते कुमालको बिहीबार पोखराको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुलही अन्माएर राइनास फर्कंदै गरेका जन्तीलाई १७/१८ जनाको समूहमा गएका घरबेटी पक्षका युवाले गाडी रोकेर कुटपिट गरेका थिए।
कुमालको मृत्यु भएपछि राइनास गाउँका युवाहरू पालुङटार प्रहरी चौकी आएका छन्। कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले पालुङटार क्षेत्रका केही युवालाई पक्राउ गरेको छ।
प्रहरी चौकी घेरा हालको र तोडफोडमै उत्रिएपछि प्रहरीले केही राउण्ड अश्रुग्यास हानेको भने घटनाको अनुसन्धान सुरू गरिसकेको प्रहरी उपरीक्षक भोला रावलले बताए।