नेपाल प्रहरीले सूचना तथा सञ्चार प्रविधिको प्रभावकारी कार्यान्वयनमा उत्कृष्टता हासिल गरेको छ।
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०७६ को अवसरमा बिहीबार नेपाल प्रहरीले ‘आइसिटी अवार्ड २०१९’ पाएको हो।
कुमारी हलछेऊको रसियन कल्चर सेन्टरमा आयोजित एक कार्यक्रममा बिहीबार यो अवार्ड नेपाल प्रहरीलाई दिइएको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले उक्त अवार्ड प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई प्रदान गरेका हुन्।
‘डिजिटल नेपालः विकास र समृद्धिको आधार’ भन्ने नाराका साथ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सो कार्यक्रम आयोजना गरेको थियो।
शान्ति, सुरक्षा कायम तथा अपराध न्यूनीकरणमा नेपाल प्रहरीले सूचना प्रविधिको उच्चतम् प्रयोग गरी सुशासन कायम गरेकोमा उक्त पुरस्कार दिइएको मन्त्रालयले जनाएको छ।
सूचना प्रविधिमा उत्कृष्ट पुरस्कार पाएपछि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भने, ‘नेपाल प्रहरी सूचना प्रविधिमा सधैं अग्र थियो, रहनेछ। आगामी दिनमा यसको उच्चतम् प्रयोग गर्दै शान्ति सुरक्षामा भूमिका खेल्नेछ।’
प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले सञ्चार प्रविधिको प्रयोगमा नेपाल प्रहरी निकै संवेदनशील भएको बताए। उनले सूचना प्रविधिको क्षेत्रमा प्रहरी गम्भीर रहेको बताउँदै यसको प्रभावकारी कार्यान्वयन गर्दै अगाडि बढ्ने बताए। उनले यदाकदा सूचना क्षेत्रमा काम गर्ने पत्रकारहरुलाई नै मुद्दामा तान्नुपर्ने अवस्थाले प्रहरी र सञ्चारकर्मीबीच दुरी बढेको बताए।
‘सञ्चारकर्मी हाम्रा सूचनादाता हुन्, उनीहरुसँग हामी मित्रवत् व्यवहार गरिरहेका हुन्छौं, कहिलेकाहीँ पत्रकारले पनि आचारसंहिता तोडेर काम गर्दा हामीलाई अप्ठेरो परिरहेको हुन्छ,’ उनले भने, ‘हामी सञ्चारकमर्मीको काममा बाधा गर्दैनौं तर समाज र देशलाई नै अहित गर्ने सूचना सम्प्रेषण भए हामी कारबाही गर्न बाध्य हुन्छौं।’
सुवेदीले सत्य-तथ्य सूचना उपलब्ध गराउने कार्यमा प्रहरीले कुनै कन्जुस्याइँ नगरेको बताए। ‘हामी पारदर्शी भएर सूचना दिन्छौं तर सूचनाको दुरुपयोग चाहन्नौं,’ उनले भने।