नेपालसँग सीमाना जोडिएका भारतका विभिन्न जिल्लाहरूमा हुन लागेको निर्वाचनलाई लक्षित गर्दै सीमा नाकाहरू बन्द गरिने भएको छ।
भारतमा हुन लागेको निर्वाचनको सुरक्षाबारे दुई देशका सुरक्षा अधिकारीहरूको बैठक बसी निर्वाचनको अघिल्लो दिनदेखि निर्वाचनको दिनसम्म र सीमा नाका बन्द गर्ने निर्णय गरिएको बताइएको छ।
सोही अनुरूप भारतको उत्तरप्रदेशको सिद्धार्थनगरको सीमाना जोडिएको कपिलवस्तुमा शुक्रबार बिहान ७ बजेदेखि आइतबार साँझ ५ बजेसम्म सीमा नाका बन्द गरिने भएको छ।
कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालका अनुसार दुई देशका अधिकारीबीच भएको सहमतिअनुसार नाका बन्द गर्न लागिएको हो।
अर्यालले सूचना प्रकाशित गरी शुक्रबार बिहान ७ बजेदेखि आइतबार साँझ ५ बजेसम्म सीमा नाका बन्द हुने जानकारी दिए। सो क्षेत्रमा शनिबार र आइतबार निर्वाचन हुँदै छ।
नाका बन्द हुँदा बिरामी बोकेका एम्बुलेन्स र अत्यावश्यक काममा दुवै देशका सुरक्षाकर्मीको समन्वय गरी आवतजावत गर्न भने अनुमति दिइने बताइएको छ।
रुपन्देही र नवलपरासीका सीमा नाका भने जेठ ३ देखि ५ गते सम्म बन्द हुने छन्। रुपन्देही र नवलपरासीसँग सीमा जोडिएको महाराजगञ्जमा जेठ ४ र ५ गते निर्वाचन हुँदै छ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाले भारतको महाराजगञ्जमा हुन लागेको निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै दुवै देशका सुरक्षा अधिकारीको बैठकले जेठ ३ गते बिहानदेखि ५ गते साँझसम्म सीमा नाका बन्द गर्ने निर्णय गरिएको जानकारी दिए।