ललितपुर प्रहरीले वृद्धलाई अपहरण गरी फिरौती माग्ने एक युवतीलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार सिन्धुली घर भई हाल ढोलाहिटी बस्ने अनिमा भुजेलले शुक्रबार बिहान इमाडोलका कृष्ण चौडेललाई अपहरण गरेकी थिइन्। चिनजानका चौडेललाई भेट्न बोलाएर बिहान ६ तिर भुजेलले अपहरण गरी ढोलाहिटी ल्याएको र छोरीलाई फोन गरेर दुई लाख रूपैयाँ फिरौती मागेको प्रहरीले जनाएको छ।
अनिमाको फोनपछि चौडेलकी छोरीले प्रहरीलाई खबर गरेकी थिइन्। खबर पाउनासाथ डिएसपी कपिल बोहोरा नेतृत्वको प्रहरी टोली उद्धारका लागि ढोलाहिटी गएको थियो।
दुई घन्टापछि चौडेलको सकुशल उद्धार गरिएको ललितपुरका प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकले जानकारी दिए। अनिमासँगै दुई जना उनका साथीलाई पनि पक्राउ गरिएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।