धादिङको गजुरी गाउँपालिकाको वडा नम्बर ६ बन्छेटारस्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा बस खस्दा ज्यान जानेको संख्या आठ पुगेको छ।
काँकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना.७. ख ४३८७ नम्बरको रात्रीबस आइतबार बिहान ६ बजेतिर दुर्घटनामा परेको थियो।
बस सडकबाट ३० मिटर तल त्रिशूली नदीमा खसेको थियो।
प्रत्यक्षदर्शीका अनुसार बसले सडक छेउको फलामेतारबार भत्काएर बल्ड्याङ खेल्दै नदीमा खसेको थियो ।
दुर्घटनामा परी इलामको कन्याम निवासी २० वर्षीय विशाल गिरी, चन्द्रागीरी नगरपालिका बस्ने ३५ वर्षीया सिता थपलिया र थानकोट निवासी ५१ वर्षीय राजकुमार सुवेदी र धादिङ वेनिघाट रोराङका राजन आचार्यको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरी धादिङले जनाएको छ।
यसैगरी दुर्घटनामा परी मृत्यु हुनेहरूमा प्रकाश श्रेष्ठ र शेखर मगरको भने ठेगाना खुल्न सकेको छैन भने अन्य दुई जनाको सनाखत हुन नसकेको पनि प्रहरीले जनाएको छ।
दुर्घटनामा २९ जना घाइते भएकोमा १४ जनाको अवस्था चिन्ताजनक रहेकोमा उनीहरूलाई उद्धारपछि तत्काल काठमाडौं पठाइएको थियो भने बाँकी घाइतेहरूलाईस्थानीय स्वास्थ्य संस्थामा प्रारम्भिक उपचारपछि काठमाडौं पठाइएको छ। घाइतेहरूको गजुरी, आदामघाट र गल्छीमा रहेका अस्पताल तथा स्वास्थ्य संस्थामा उपचार गराइएको थियो।
दुर्घटनाको खबर आएलगत्तै शशस्त्र प्रहरी वल, नेपाल प्रहरी, नेपाली सेना, राजमार्ग उद्धारकर्मी, रेडक्रसकर्मी र स्थानीयवासीले घाइतेहरूको उद्धार सुरू गरेका थिए भने धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे, जिल्ला प्रहरी प्रमुख एसपी राजकुमार वैदवार लगायतका सुरक्षा निकायका प्रमुखहरू घटनास्थलमा पुगेका थिए ।
बस अत्यधिक गतिका रहेका कारण उकालोबाटोमा एक्कासी अनियन्त्रित भइ दुर्घटना भएको हुन सक्ने ट्राफिक प्रहरीको प्रारम्भिक अनुमान रहेको छ।