रुपन्देही प्रहरीले बिनाभन्सार भारतबाट नेपाल प्रवेश गरेको कन्टेनरलाई नियन्त्रणमा लिएको छ।
नियमित चेकजाँचका क्रममा रहेको प्रहरी टोलीले कागजात र भन्सार प्रज्ञापन पत्र चेकजाँच गर्दा उक्त कन्टेनर भन्सारबिना नेपाल प्रवेश गरेको पाइएको रुपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक धर्म भण्डारीले बताए ।
भारतको गुजरातबाट महिलाको भित्री बस्त्र (ब्रा र पेन्टी) लगायतका सामानसहित उक्त कन्टेनर नेपाल प्रवेश गरेको थियो।
साना सवारी साधनबाहेक सवै सवारी तथा मालबाहक साधनहरू भैरहवा भन्सार कार्यालय परिसरमा प्रवेश गरेपछि मात्र बाहिर निस्कन पाउने ब्यवस्था भएको अवस्थामा समेत उक्त कन्टेनर कसरी करिब ४ किलोमिटर दूरी पार गर्न सक्यो शंकाको घेरामा छ ।
भन्सारसँगै सशस्त्र प्रहरीको भन्सार सुरक्षा गुल्म र डण्डामा रहेको चेकपोस्ट समेत कसरी पार गर्न सफल भयो? शंका उत्पन्न हुनु स्वभाविक छ।
उक्त कन्टेनरलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखिएको छ ।
GJO6 AZ/ 6359 नम्बरको उक्त कन्टेनर भारतको गुजरातबाट काठमाडौं सामान पुर्याउन आएको बताइएको छ ।
को कसको सम्लग्नता र मिलोमतोमा उक्त कन्टेनर भन्सार नगरी नेपाल प्रवेश गरेको अनुसन्धान गरिने प्रहरी प्रवक्ता भण्डारीले बताए ।