उनी चउरमा नुहाइरहेकी थिइन्। मानिसहरू परैबाट उनको फोटो खिच्दै थिए। कोही त उनलाई पृष्ठभूमिमा राखेर सेल्फी पनि लिँदै थिए।
साना केटाकेटी सबभन्दा बढी रमाउँदै थिए, उनलाई नुहाइरहेको हेर्न। कोही घाँटी तन्काउँदै थिए, कोही आमाबाबुका बुई चढेका थिए।
केटाकेटीको मन न हो! आँखाले मात्र तिर्सना कहाँ मेटिन्छ!
कति त चउरमा नुहाइरहेकी उनको समीप जान चाहन्थे। छुन चाहन्थे। उनको सयर गर्ने बालहठ देखाउँदै थिए। तर, यसको अनुमति थिएन।
उनी सदर चिडियाखानाकी एक मात्र हात्ती हुन्, पवनकली।
उनी शारीरिक रूपले कमजोर भएकीले चिडियाखानाले हात्ती सयर बन्द गरेको छ। केटाकेटी खिन्न हुन्छन्। यसैको निम्ति टिकट काटेर आउनेहरू निराश फर्कन्छन्। दर्शकको माग हेरेर चिडियाखानाले नयाँ हात्ती ल्याउने विचार गर्दैछ।
पवनकली २०३७ सालमा यहाँ आएकी हुन्। करिब ४० वर्ष भयो उनले चिडियाखानामा बिताएको। शारीरिक रूपले तन्दरूस्त हुँदा उनले दिनकै ४० जनालाई आफ्नो बुई चढाइन्। हँसाइन्। खुसी पारिन्।
अब उनी सक्दिनन्। उमेर पनि त भयो- ६८ वर्ष। उनी चिडियाखानामा सबैकी ‘हजुरआमा हात्ती’ हुन्।
पवनकलीलाई चितवनबाट करिब तीन महिना लगाएर हिडाउँदै काठमाडौं ल्याइएको हो। उनलाई स्याहार्ने दुई जना माउते छन्- कृष्णप्रसाद आचार्य र दिपेन्द्र राजवंशी।
कृष्णप्रसाद र पवनकलीको सम्बन्ध धेरै लामो छ। उनले ०४६ सालदेखि पवनकलीलाई स्याहार्न थालेका हुन्। दिपेन्द्र जोडिएको करिब १० वर्ष भयो।
नुहाइधुवाइ सकिएपछि दिपेन्द्रले पवनकलीलाई चिडियाखाना घुमाउन लगे। कृष्णप्रसाद हामीसँग उनको बेलिविस्तार लगाउन थाले।
उनका अनुसार ०४५ सालतिर पवनकलीलाई भाले लगाउन कोशी टप्पु लगिएको थियो। इनरुवाको बजारै बजार हिँड्ने गणेश हात्तीसँग भाले लगाउन खोजिए पनि सफल भएन। त्यहाँको वातावरणमा पवनकली घुलिन सकिनन्। उनी बिरामी पर्न थालिन्। लगेको एक वर्षमै काठमाडौं फिर्ता ल्याइयो।
‘त्यही समयदेखि हो, मैले चिडियाखानामा पवनकलीको दरबन्दी पाएको,’ कृष्णले भने।
एउटी हात्तीसँग ३० वर्षदेखि सँगै बसेका कृष्णको बाल्यकाल भने हात्तीकै त्रासमा बित्यो।
उनको घर झापा हो। सानो छँदा गाउँमा हात्तीले खुब दुःख दिन्थ्यो। धान र अरू बालीनाली खाइदिएर आतंक मच्चाउँथ्यो। कहिले त गाउँमा छिरेर उधूम गर्थ्यो। एक्लै यसै हिँडडुल गर्न पनि हात्ती हमलामा परिएला भन्ने डर!
त्यो सम्झँदा कृष्णलाई कुनै दिन हात्तीकै माउते भएर काम गरिएला भन्ने लागेकै थिएन।
‘म आर्मी बन्न चाहन्थेँ, सकिनँ। त्यही बेला कोशीटप्पु वन्यजन्तु आरक्षणमा माउते चाहिएको छ भन्ने थाहा पाएपछि त्यहीँ काम गर्न थालेँ,’ उनले भने।
हात्तीले उत्पात् मच्चाउने गाउँबाट आएका उनी माउते बनेपछि सुरूको एक वर्ष त परिवारलाई भन्ने आँटधरि गरेनन्।
‘बुबाले थाहा पाएपछि के भन्नुभयो त?’
‘तैंले सकिस् त भनेर सोध्नुभयो,’ उनले हाँस्दै भने, ‘मैले पनि फूर्तिसाथ १२-१३ वटा हात्ती हेर्छु भनेँ।’
कोशीटप्पु वन्यजन्तु आरक्षणमा त्यो बेला हात्तीको संख्या एक दर्जनभन्दा बढी थियो। जम्मा १८ वर्षका कृष्णलाई ती हात्तीसँग नजिकिन हम्मे पर्यो। हात्तीले कहिले घाँस काट्दा फालिदिने, कहिले उनलाई नै पोखरीमा हुत्याइदिने।
तै जागिर खाइसकेपछि हार मान्नुभन्दा कोशिस गर्नुपर्छ भन्ने उनले ठाने। त्यसैको नतिजा, उनी हात्ती सम्हाल्ने भए।
कोशीटप्पु छँदै उनले पहिलो दरबन्दी पाए, 'दिपेन्द्र' नामक बच्चा हात्ती स्याहार्ने।
‘मेरो त्यो हात्ती साह्रै राम्रो थियो, एक रुपैयाँ झरे पनि टिपेर राखिदिन्थ्यो,’ आफ्नो पहिलो हात्तीबारे बताउदा उनी दंग देखिए।
एकछिनमा दुःखी हुँदै भने, ‘तर, त्यो हात्ती मर्यो ...'
उनी एकछिन चुपचाप बसे। अनुहार मलीन देखियो।
'चार वर्षको हुँदैथ्यो, के भयो के भयो, मर्यो,’ उनले आफ्नो अधूरो वाक्य पूरा गरे।
दिपेन्द्रपछि उनको दोस्रो दरबन्दी पवनकली नै हो।
'योसँग चाहिँ पूरै जिन्दगी बित्लाजस्तो छ। तीस वर्षदेखि सँगै छु, अब त मलाई यो हात्ती आमाजस्तै लाग्छ,' ५२ वर्षीय कृष्णले भने, 'मेरो बा ८२ वर्ष हुनुभयो। मलाई बा र हात्तीको उति नै माया लाग्छ।
जिन्दगीमा आफ्नो परिवारभन्दा धेरै समय हात्तीसँग बिताएका कृष्णलाई सुरूसुरूमा पवनकलीसँग नजिकिन पनि गाह्रो भएछ। यति बेलासम्म उनले हात्ती फकाउने काइदा जानिसकेका थिए। सख्खर, गुड लगायत मनपर्ने खानेकुरा दिँदै चार-पाँच दिनमै पवनकलीलाई फकाए।
त्यसपछि त यस्तो माया बस्यो, उनी दिनरात पवनकलीसँगै बिताउन थाले।
पवनकलीलाई उठ्नेबित्तिकै पराल, सख्खर, नुन, चुना लगायत दाना दिनुपर्छ। सफासुग्घर गर्नुपर्छ। पोखरीमा लगेर दिनकै नुहाइदिनुपर्छ। तीन-चार बजेतिर फेरि दाना खुवाइन्छ। बाँकी समय पवनकली आराम गर्छिन्। कृष्ण र अर्का माउते दिपेन्द्रको आराम गर्ने समय पनि त्यही हो।
उनीहरू राति पनि धेरैजसो पवनकलीको नजिकै सुत्छन्। कृष्णको कोठा त पवनकली सुत्ने ठाउँ नजिकै छ।
'मैले दुवै परिवार सँगसँगै राखेको छु,' उनले भने, 'पवनकली पनि त मेरो परिवारै हो। मलाई परिवार जत्तिकै माया लाग्छ यसको। यिनीहरू ज्ञानी हुन्छन्। के गर्ने, के नगर्ने सबै थाहा हुन्छ। बोल्न मात्रै नजान्ने हो।’
बोल्न नजान्ने पनि कहाँ हो र! त्यो त अर्काका लागि पो!
‘तपाईंहरू त हात्तीसँग संवाद पनि गर्नुहुन्छ रे!’ हामीले सोध्यौं।
‘हजुर हो,’ कृष्णले भने।
कुन भाषामा बोल्नुहुन्छ? के हात्तीको छुट्टै भाषा हुन्छ?
'हाम्रै भाषा बुझ्छ नि, उसको छुट्टै भाषा पनि होला, त्यो त हामी के जानूँ। हात्ती परिएन,' उनले हाँस्दै भने।
के भाषा? नेपाली?
'कहाँ नेपाली बुझ्नु हात्तीले?'
अनि?
'हात्ती भनेको थारू समुदायमा हुर्कने भएकाले ऊ थारू भाषा बुझ्छ,' उनले भने, 'हामी उनीहरूसँग थार भाषामा कुरा गर्छौं।’
जस्तो- बस भन्नुपरे 'बैठ' भनिन्छ। उठाउनुपरे 'मयल'। ‘यमरो अगत’ भनेको यता आइज, 'छौ' भनेको पछाडि सर। 'र' भनेको उभिराख।
कृष्ण पवनकलीसँगको रमाइलो क्षण सम्झँदा भुइँचालो सम्झन्छन्। त्यो बेला रूखनेर बसिरहेकी पवनकली आत्तिएर कुदेको कुदेकै भइछन्। कहिले चउरदेखि गेट, कहिले गेटदेखि चउर।
'मैले पहिलोपटक पवनकलीलाई त्यसरी कुदेको देखेँ। मान्छेले भने आफूहरूलाई लखेटेजस्तो ठाने। खासमा उसले मान्छेको सहारा खोजेकी थिइन्,’ कृष्णले भने, ‘भुइँचालो सक्किएपछि हामीले थामथुम पार्यौं।’
कृष्णले सबैभन्दा लामो हात्तीयात्रा कोशीटप्पुदेखि गाईघाटसम्म गरेका रहेछन्।
हात्तीको शरीरमा रासनपानी बोकाएर यात्रा गरिन्छ। हात्ती दिनको चार-पाँच घन्टा मात्र हिँड्छ। टाढा पुग्नुछ भने तीन-चार महिना पनि लाग्छ। विदेशमा गाडीमै हात्ती ओहोरदोहोर गराइने भए पनि यहाँका घुमाउरा बाटा र अनुपयुक्त यातायात सुविधाले हात्तीसँग यात्रा गर्न समय लाग्ने उनले बताए।
पहिले राजाहरू हात्तीकै सवारी गर्थे। पवनकलीमा भने कोही राजा चढेनन्। बरु सोल्टी होटल, कालिमाटी, लैनचौर लगायत ठाउँमा घाँस खोज्न जाँदा कृष्ण आफैं हात्ती चढेर पुगेका थिए। त्यसरी हात्ती चढेर सहरबजार डुल्दा लाज लाग्ने गरेको उनले बताए।
‘राजाहरूले चढ्ने हात्तीमा आफू चढ्दा त लाजै हुन्छ,’ उनले भने, ‘फर्कदा झन् बोरै हुने। बाटोमा जाम हुन्छ, कहिले कराएर हैरान गर्छ।’
करिब तीन-चार महिनादेखि भने पवनकली सहर डुल्न छाडेकी छन्। पाको उमेर र सडक जाम भएको गुनासो आएपछि पवनकलीलाई केही समययता बाहिर नलगेको कृष्णले बताए।
उनका अनुसार हात्तीको उमेर लगभग मान्छेको जस्तै हो। हामी जुन उमेरमा बढी सक्रिय हुन्छौं, त्यही उमेरमा हात्ती पनि सक्रिय हुन्छ। उस्तै उस्तै उमेरमा बूढो हुन्छ र मर्छ। कसैगरी हात्तीको मृत्यु भए डोजरले खनेर चिडियाखानाभित्रै गाडिने उनले बताए।
‘बोक्न गाह्रो हुने भएकाले जहाँ मर्छ, त्यहीँ गाडिन्छ,' उनले भने, 'कोही–कोहीले हात्तीको मृत्युमा मान्छेझैं किरिया पनि बस्छन्।’
कृष्णका अनुसार हात्तीले दिनमा चार-पाँच किलो खाना खान्छ। फलफूल, तरकारी र दानाबाहेक हात्तीलाई काब्रे, पिपल खुब मनपर्ने उनले बताए।
‘कहिलेकाहीँ भगवान भनेर मान्छेहरू खाना चढाउँछन्। हात्ती दिवसमा विद्यार्थीहरू केक ल्याएर, सिँगारेर जन्मदिन पनि मनाइदिन्छन्,’ उनले भने।
हात्तीको नाम राख्ने तरिका पनि रमाइलो हुन्छ। केटी हात्ती भए नामको पछाडि ‘कली’ जोडिन्छ भने केटा हात्ती भए ‘गञ्ज’, ‘प्रसाद’ आदि।
त्यही अनुसार उनको नाम पवनकली रहन गयो।
पहिले हात्ती जन्मिएपछि राजाले नाम राखिदिने चलन थियो। पवनकलीको नाम भने राजाले नभई कुनै स्थानीयले राखिदिएको उनी बताउँछन्।
‘मेरो पहिलेको दिपेन्द्र हात्ती दिपेन्द्र सरकारकै नामबाट नामाकरण भएको थियो,’ कृष्णले भने, ‘पछिल्लो समय नाम राख्ने तरिका फेरिएको छ। चितवनमा जुम्ल्याहा हात्तीको नाम राम–लक्ष्मण राखेको सुनेको थिएँ।’
हात्ती स्याहार्ने मान्छेलाई सामान्य रूपमा माउते भनिए पनि उनीहरूको विभिन्न पद हुन्छ। माउते बढुवा हुँदै पछुवा, फनित लगायत पदमा पुग्छन्। त्यसरी स्तर बढ्दै 'सेक्सन अफिसर' सम्म भइन्छ। यसका लागि किताबी ज्ञान नभए पनि हात्ती स्याहार्ने ज्ञान र अनुभव चाहिन्छ।
कृष्णको पद फनित हो। उनलाई यो पदमा पुग्न करिब २० वर्ष लाग्यो।
हात्तीको स्वभाव मिलनसार र व्यवहारिक हुने उनको अनुभव छ। आफ्नो मान्छे सुँघेर चिन्छ। खुट्टामा किला बिझ्दा देखाउन आउँछ। बिरामी हुँदा खाँदैन। यस्तै व्यवहारबाट हात्तीको मनोविज्ञान बुझ्नुपर्छ। अटेर गर्यो भने खुट्टामा हानेर तह लाउने गरेको उनले बताए।
कृष्णले आफ्नै आमाजस्तो ठान्ने पवनकलीलाई पछिल्लो समय चिडियाखानाले नै ‘हजुरआमा हात्ती’ का रूपमा सम्मान गरेको छ।
उनी सेवानिवृत्त भएपछि चिडियाखाना व्यवस्थापनले नयाँ हात्ती ल्याउने तयारी गरिरहेको छ। यसका लागि करिब ३० वर्षमाथिका ढोई (केटी हात्ती) को खोजी भइरहेको चिडियाखानाकी संरक्षण शिक्षा अधिकृत लीना चालिसेले जानकारी दिइन्।
‘मत्ताहरू बढी आक्रामक हुन्छन्। सहरमा त्यस्ता हात्ती जोखिमपूर्ण हुने भएकाले हामी ढोई नै ल्याउछौं,’ लीनाले भनिन्।
सदर चिडियाखानाको स्थापना १९८९ सालमा तत्कालीन प्रधानमन्त्री जुद्धशमसेरबाट भएको हो। उनले निजी चिडियाखानाका रूपमा खोलेका थिए। २०११ सालबाट यसलाई सर्वसाधारणका निम्ति खुला गरियो।
लीनाका अनुसार यो चिडियाखाना करिब ६ हेक्टरको छ। योभन्दा धेरै ठूलो २४५ हेक्टर जग्गामा नयाँ चिडियाखाना सूर्यविनायकमा बन्ने तयारी भइरहेको छ। त्यहाँको करिब १४ हेक्टरमा सदर चिडियाखानाको पुनर्वास केन्द्र बन्दैछ। त्यहाँ आपत परेका र घाइते जनावरलाई बासस्थान दिइनेछ।
त्यसपछि जावलाखेल चिडियाखानामा ठूला जनावर रहने छैनन्। ‘बटरफ्लाई पार्क’ र ‘स्मल म्यामल पार्क’ का रूपमा विस्तार गर्ने योजना रहेको लीनाले बताइन्।
लीनाका अनुसार सूर्यविनायकमा बन्ने चिडियाखानामा जनावरहरू विदेशतिरजस्तै स्वतन्त्र हुनेछन्। खोरमा थुनिने छैन। एउटा निश्चित क्षेत्रमा जंगल बनाएर राखिनेछ। मानिसलाई हिँडडुल गर्न छुट्टै मार्ग हुनेछ।
त्यो पार्क कहिले बनिसक्ला कुन्नि, त्यसपछि पवनकली जावलाखेलमा भेटिने छैनन्। उनलाई भेट्न सूर्यविनायक जानुपर्नेछ।