विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार संसारमा चार मान्छेमध्ये एक जना मानसिक समस्याले ग्रसित छन्। मानसिक रोगबाट ग्रस्त हुँदाहुँदै पनि उनीहरू यसबारे खुलेर बोल्न सक्दैनन्।
पाटनढोकास्थित यलमाया केन्द्रमा 'मानसिक स्वास्थ्य र त्यसको महत्व' विषय केन्द्रित अभियानमूखी कार्यक्रम आयोजना गरियो।
'मेन्टल वेलबिइङ फर अल' र 'जगरनट माइन्डसेट' द्वारा व्यवस्थित कार्यक्रममा मानसिक स्वास्थ्य विशेषज्ञ र मनोचिकित्सकहरूले देशको मानसिक स्वास्थ्य सम्बन्धी समस्याहरू चित्रण गरे।
मानसिक स्वास्थ्य अधिकार कार्यकर्ता जगन्नाथ लामिछानेले मानसिक र शारीरिक स्वास्थ्य वृद्धि गर्न शारीरिक ज्ञान, व्यायाम र आहारमा ध्यान दिनुपर्ने बताए। त्यसका लागि सामाजिक, भावनात्मक र मनोवैज्ञानिक प्रयास गर्नुपर्नेमा जोड दिए।
त्यसैगरी, प्रजनन् स्वास्थ्य विशेषज्ञ कोकिला वैद्यले मानसिक स्वास्थ्य समस्याका प्रारम्भिक लक्ष्ण पहिचान गरी त्यसलाई सुधार गर्नुपर्ने बताइन्।
नेपाली टाइम्स अखबार सम्पादक कुन्द दिक्षितले मानसिक स्वास्थ्य अवस्था बिग्रँदै जानुको मुख्य कारणमध्ये बढ्दै गएको वैदेशिक रोजगारी पनि रहेको बताए।
'वैदेशिक रोजगारबाट फर्केर आएकाहरूले यहाँ रोजगार अवसर नपाएर मानिसक रोगको शिकार भएका छन्,' उनले भने, 'मानसिक समस्याहरूको सामना गर्न राम्रो नीति र पहल आवश्यक छ।'
मानसिक स्वास्थ्य सुधारका लागि सीमित बजेट मात्र छुट्ट्याइनु दुर्भाग्यपूर्ण भएको उनीहरूको भनाइ थियो।
विश्वव्यापी स्वास्थ्य बजेटको केवल चार प्रतिशत हिस्सा युवा तथा बालबालिकामा हुने मानसिक रोगका लागि राखिएको छ भने नेपालमा एक प्रतिशतभन्दा कम बजेट छ।
'मानसिक स्वास्थ्य उपचारको लागि बर्सेनि सय खर्बभन्दा बढी रकम खर्च हुन्छ। नेपालको स्वास्थ्य क्षेत्रमा सात प्रतिशत मात्रै बजेट छुट्टाइएको छ,' कार्यक्रममा उपस्थित पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले भने, 'त्यसैले नयाँ आर्थिक वर्ष सुरु हुनुअघि नै स्वास्थ्य कार्यकर्ताहरुले यस क्षेत्रमा पर्याप्त बजेट माग गर्न जरुरी छ।'