दुई जना झाँक्रीको हत्या गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका २६ जनालाई धादिङ जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा कारागार सजाय सुनाएको छ।
धादिङ जिल्लाको उत्तरी भेगको गंगाजमुना गाउँपालिका वडा नम्बर २ लतावका दुई जना झाँक्रीको हत्या गरेको अभियोगमा थुनामा रहेका २६ जना कारागार चलान भएका छन्। जिल्ला अदालतले एघार जनालाई जन्मकैद, ११ जनालाई ५ वर्ष ६ महिना कैद, चार जनालाई तीन वर्ष आठ महिना कैद र चार जना महिलालाई सफाइ दिने फैसला गरेको छ।
धादिङ जिल्ला अदालतका न्यायाधीश प्रकाश ढुंगानाको इजलासले बुधबार सो सजाय सुनाएको हो।
गाउँमा झाँक्री काम गर्दे आएका धादिङको गङ्गाजमुना गाउँपालिका–२ लताबका ४५ वर्षीय साइँला भन्ने प्लेक तामाङ र सोही स्थानका ६५ वर्षीय नरुङ तामाङको २०७५ साउन ५ गते गाउँवासीको सामूहिक कुटपिटका कारण मृत्यु भएको थियो।
३४ वर्षीय जितबहादुर तामाङ, ४९ वर्षीय भिमबहादुर तामाङ, ३६ वर्षीय मेमबहादुर तामाङ, ४४ वर्षीय टाडोङ तामाङ, २५ वर्षीय मङ्गले तामाङ, ३४ वर्षीय बमबहादुर तामाङ, २७ वर्षीय विशाल तामाङ, ३८ वर्षीय रामबहादुर तामाङ, अर्का ३६ वर्षीय रामबहादुर तामाङ, १८ वर्षीय अमित तामाङ र २३ वर्षीय विशाल तामाङलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (३) बमोजिम जन्म कैद गर्ने फैसला भएको जिल्ला सरकारी वकिल बालकृष्ण वाग्लेले बताए।
यसैगरी सोही घटना संलग्न रहेको अभियोग लागेका ३८ वर्षीय ज्ञानबहादुर भन्ने शङ्कर तामाङ, ३७ वर्षीय वीरबहादुर तामाङ, २६ वर्षीय शुकबहादुर तामाङ, १८ वर्षीय शुकराम तामाङ, २० वर्षीय सुनिल तामाङ, १८ वर्षीय मिनबादुर तामाङ, १८ वर्षीय अन्जन तामाङ, ३६ वर्षीय मनोज तामाङ, ३१ वर्षीय बेगबहादुर तामाङ, २२ वर्षीय सनम तामाङ र ५५ वर्षीय मनराम तामाङलाई जनही पाँच वर्ष छ महिना कैद गर्ने फैसला भएको छ ।
५६ वर्षीय बलबहादुर तामाङलाई झाँक्रीहरू मार्नका लागि मतियारको रूपमा कटुवाल कराई गाउँले बोलाएर सहयोग पुर्याएको कसुरमा तीन वर्ष छ महिना कैद हुने जिलला अदालतले फैसला सुनाएको छ।
घटनामा संलग्न भएका सत्र वर्षीय वुद्धिलाल तामाङ, निरज तामाङ, चन्द्रमान तामाङलाई पनि पाँच वर्ष कैद हुनेमा उनिहरु बालक भएकोले दुई तिहाइ अर्थात तीन वर्ष आठ महिना मात्र कैद गर्ने फैसला गरिएको जिल्ला अदालतका श्रेस्तेदार नवराज दङ्गालले जानकारी दिए ।
साधारण तारेखमा रहेका सुशीना तामाङ, असार माया तामाङ, कैसाङ तामाङ र तारस्य तामाङलाई घटनामा निर्दोष रहेको भन्दै अदालतले सफाइ दिएको छ।
अनुसन्धानका लागि पक्राउ परेकामध्ये चार महिला सुरूमै साधारण तारेखमा रिहा भएका थिए भने बाँकी २६ जना पुर्पक्षका लागि जिल्ला कारागारमा थुनामा रहेका थिए।
गाउँघरमा झाँक्री काम गर्दै आएका ४५ वर्षीय साइँला भन्ने प्लेक तामाङ र सोही स्थानका ६५ वर्षीय नरुङ तामाङलाई गाउँलेहरूले गएको साउन ५ गते सामूहिक रूपमा कुटपिट गरेर मारेका थिए। गाउँलेहरूको कुटाइका कारण दुवै जनाको मृत्यु भएपछि प्रहरी टोलीले ४ जना महिलासहित ३१ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको थियो।
घटनास्थल निकै विकटमा रहेका कारण प्रहरी पुग्न दुई दिन लागेको थियो।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीको नेतृत्वमा गएको नेपाल प्रहरी र सशस्त्र प्रहरी बल समेत गरी ६० जनाको सुरक्षा टोलीले हत्याको अनुसन्धान गर्न लतावका ३१ जनालाई पक्राउ गरेर साउन ८ गते सदरमुकाम ल्याइपुर्याएको थियो।
गाउँमा धामी झाँक्रीको काम गर्ने दुवै जनालाई गाउँलेहरूले कुटपिट गरी मारेको र आफन्तहरूलाई समेत नियन्त्रणमा लिई दाहसंस्कार गरेको भन्ने सूचनाको आधारमा प्रहरीले घटनामा संलग्न गाउँलेहरूलाई नियन्त्रणमा लिएको थियो।
साविकको रि गाविसको वडा नम्बर ६ मा पर्ने लताव गाउँ अहिलेको गंगाजमुना गाउँपालिकाको वडा नम्बर २ पर्दछ, यो बस्ती तामाङ समुदायको मात्र बसोबास रहेको क्षेत्र हो।