रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले तरकारी बजार ब्यवस्थित बनाउन भैरहवामा कृषि वहुउद्देश्यीय सामुदायिक भवन बनाउने भएको छ।
९ करोड ५८ लाख लगानीमा निर्माण गर्न लागिएको भवनको शनिबार नेपाल कम्युनिष्ट पार्टीका नेता घनश्याम भुसालले शिलान्यास गरेका हुन्।
वडा नम्बर ५ मा छरिएर रहेका तरकारी बजारलाई ब्यवस्थित बनाउन उक्त भवन निर्माण गर्न लागिएको प्रशासकीय अधिकृत ख्यामबहादुर थापाले बताए।
प्रदेश नम्बर ५ र तराई-मधेश समृद्धि कार्यक्रमको १/१ करोड बजेट र बाँकी नगरपालिकाको बजेटबाट भवन बनाउन लागिएको हो। भवन निर्माणका लागि स्काइ रामसार जेभीसँग ठेक्का सम्झौता भइसकेको छ भने यो भवन दुई वर्षभित्रमा बनाइसकिनेछ।
भवन शिलान्यास गर्दै नेता भुसालले किसानलाई ब्यवसायीक बनाउन नसक्दासम्म मुलुकले आर्थिक रुपमा फड्को मार्न नसक्ने बताए।
चार तल्लाको बन्ने भवनमा तरकारी बजारसँगै घरायसी सामान र चलचित्र हलसमेत बनाउने तयारी छ। ठाउँ अभाले कृषि हाट बजार सातामा दुई दिन मात्रै लाग्दै आएको छ।