नेपाल-भारतबीच नेपालको रेल वीरगञ्ज र विराटनगरबाट भारतको कोलकत्ता/हल्दियासम्म सञ्चालन गर्ने सैद्धान्तिक सहमति भएको छ।
अघिल्लो साता भारतको नयाँ दिल्लीमा भएको दुई देशका अधिकारीहरूको रेल सम्झौता पुनरावलोकन बैठकमा भारतले नेपालको वीरगञ्ज र विराटनगरसम्म रेल सञ्चालनका लागि सहमति जनाएको हो।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो सहमतिले छिट्टै लिखित रूप लिने पनि स्पष्ट पारेको छ।
मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले डेढ वर्षभित्र भारतको कोलकत्तासम्म नेपालको रेल सञ्चालन हुने गरी सो सहमतिलाई अघि बढाउने योजना पनि सार्वजनिक गरे।
बैठकमा नेपालको वीरगञ्ज सुख्खा बन्दरगाहसम्म विद्युतीय रेल लाइन विस्तार गर्न भारतले सहमति पनि जनाएको थियो ।
दुई मुलुकबीच पारवाहन सन्धि अनुसार विराटनगर र भैरहवा नाकाबाट समेत रेलबाट बल्क कार्गो ढुवानी गर्न पाउने गरी रेल सेवामा आवश्यक संशोधन गर्ने सहमति पनि गरिएको छ।
विराटनगर–जोगबनी, सुनौली–नौतनवा र कुर्था–इनरुवा–जयनगर रुटमा रेल सेवा सञ्चालनमा आएपछि सो रूटमा कार्गो ढुवानी गर्न पनि दुई मुलुकबीच सहमति जुटेको छ।
सचिव अधिकारीले यो सहमतिसँगै दुई मुलुकबीचको मालसामान ढुवानीमा देखिँदै आएको समस्या समाधान भएर जाने विश्वास व्यक्त गरे।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल र भारत सरकारको रेल मन्त्रालयका कार्यकारी निर्देशक मनोजकुमार श्रीवास्तवले नेतृत्व गरेका सो बैठकले नेपाली बैंकिङ च्यानलमार्फत् ढुवानी, दस्तुरलगायतका महसुल नेपाली व्यापारीहरूले गर्न पाउने सहमति पनि गरेको छ।
नेपाली व्यापारीहरूले विगतदेखि उठाउँदै आएको सो समस्यालाई पनि भारत सरकारले समाधान गर्ने सहमति जनाएको सचिव अधिकारीले बताए।
बैठकमा दुई मुलुकबीचको रेल सेवा सम्झौताको अर्को बैठक ६ महिनाभित्र नेपालमा बस्ने सहमति पनि भएको छ।
हाल नेपालको आफ्नै रेल छैन। जनकपुर जयनगरमा रेल चलाउन सरकारले भारतबाट रेल किन्ने प्रक्रिया सुरू गरेको छ।