चलचित्र वीर विक्रम–२ समिक्षा गरेकै कारण युट्युवर प्रनेश गौतमलाई प्रहरी हिरासतमा राखेको भन्ने आरोपको खण्डन गर्दै चलचित्र निर्देशक मिलन चाम्सले आफ्नो ध्यानाकर्षण भएको बताएका छन्।
बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्देशक चाम्सले फिल्म रिभ्यू गरेका कारण नभई मानहानी, रंगभेदी टिप्पणी र गालीबेइज्जतीका कारण गौतमविरूद्ध प्रहरीकहाँ गएको स्पष्टीकरण दिए।
उनले भने,‘फिल्म रिभ्यूका कारण नभएर मानीहानी गरेको, पटक–पटक अपशब्द प्रयोग गरेको र रंगभेदी टिप्पणी गरेकाले हामी प्रहरीमा जान बाध्य भएका हौं।’
उनले आफ्नो उद्धेश्य प्रनेशलाई दुःख दिनु नभएको स्पष्ट पार्दै भने,‘मैले गौतम भाइलाई पाठ सिकाउनको लागि पनि प्रहरीकहाँ गएको हुँ, यो मैले उसलाई व्यक्तिगत इगो राखेर थुन्न खोजेको थिइनँ।’
प्रनेश पक्राउ परेपछि आफूले उनका बुवा र आमासँग पनि भेटेरै कुराकानी गरेको चाम्सले सुनाए।
उनले भने,‘प्रनेशका बुवाआमासँगको कुराकानीमा मैले सोमबारसम्म छुटाउँछु पनि भनेकै हो, तर मेम नेपालका साथीहरू आएपछि रिभ्यू गर्न पाउनुपर्छ, वाक स्वतन्त्रता छ भनेर सिनियर कलाकारहरूको चित्त दुखाउनुभयो। त्यही भएर एक/दुई दिन बसोस् भनेर छोड्यौं।’
निर्देशक चाम्सले प्रनेशले अहिले आएर आफ्नो गल्ती स्वीकार गरिसकेकोले उनलाई छुटाउनको लागि आफूले प्रक्रिया सुरू गरेको पनि जानकारी दिए।
उनले भने,‘प्रनेश छुटिसकेपछि मेरो तर्फबाट उसलाई गर्नुपर्ने सहयोग पनि म गर्न तयार छु।’
प्रनेश कमेडियन भएको नाताले आगामी दिनमा यही फिल्डमा आउन चाहे आफूले सहयोग गर्ने पनि उनले वचनबद्धता व्यक्त गरे।
चाम्सले थपे,‘मैले यो कुरा प्रनेशको बुवाआमालाई भेटेरै पनि वचन दिएको छु।’
प्रनेशद्वारा प्रयोग गरिएका मानहानीसम्बन्धी शब्द, चरित्र हत्या, रंगविरोधी र जनजाति समुदायमा आघात पुर्याउने शब्दको प्रयोग गरिएको कारण भोलिका दिनमा यस्ता प्रयास अरु कसैबाट कसैमाथि नहोउन् भन्ने सन्देश दिन आफूहरूले प्रयत्न गरेको उनको भनाइ छ।
समिक्षामा अपशब्द प्रयोग गरिएको कारण त्यस्तो शब्द तथा चरित्रमाथि सम्पूर्ण नागरिकको ध्यान केन्द्रित भएको जनाउँदै त्यस्ता अपशब्दले बालबालिका तथा पेशागत सबैको मनोभावनामाथि आघात पुग्न जानेतर्फ पनि उनले ध्यानाकार्षण गराए।
मेमसँगको आफ्नो कुनै रिसिइबी तथा आक्रोशको आधारमा लडाइँ नरहेको बताउँदै स्रष्टामाथि गरिएको चरित्र हत्याप्रति आफूहरूको गम्भिर ध्यानाकर्षण भएको चाम्सको दाबी छ।
आफूले प्रनेशलाई साइबर क्राइममा फसाउन खोजेको भन्नेबारे खण्डन गर्दै उनले प्रनेशले आफ्नो गल्ती स्वीकार गरिसकेका कारण पनि चाँडै नै हिरासतमुक्त गराउन पहल भैरहेको स्पष्ट पारे।
उनले आफूहरूको कुनै युट्युब च्यानलमाथि पूर्वाग्रह नरहेको पनि प्रष्ट पारेका छन्। उनले थपे,‘यो कुनै व्यक्तिगत लडाइँ पनि होइन।
यो पनि :
प्रनेश गौतम पक्राउ प्रकरण : थप २ दिन हिरासतमा राख्न अदालतको आदेश