जिल्ला अदालत काठमाडौंले वीर विक्रम २ भन्ने फिल्मको समीक्षा गरेको भरमा प्रहरीद्वारा पक्राउ परेका प्रनेश गौतमलाई साधारण तारेखमा छोडेको छ।
जिल्ला न्यायाधीश बाबुराम सुवेदीको इजलासले आइतबार दिनभर थुनछेक बयान र बहसपछि साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो।
शुक्रबार सरकारी वकिलले जिल्ला अदालत काठमाडौंमा विद्युतीय कारोबारसम्बन्धी कसूर गरेको भन्दै प्रनेशविरूद्ध मुद्दा दायर गरेको थियो।
उनलाई जेठ २४ गते प्रहरीले पक्राउ गरेको थियो।
वीरविक्रम २ नराम्रो फिल्म भएको भन्दै निर्देशक मिलन चाम्लिङ् (मिलन चाम्स)ले जाहेरी दिएपछि उनलाई पक्राउ गरेको प्रहरीले जनाएको थियो। फिलिम राम्रो छैन भनेर समिक्षा गर्दैमा विद्युतीय अपराध जस्तो गम्भीर प्रकृतिको अभियोग लगाएको भन्दै प्रहरी र निर्देशक समेतको चर्को विरोध भएको छ।