वर्षको सबभन्दा लामो दिनलाई गीतसंगीतका माध्यमबाट मनाइँदै आएको चार सय वर्ष पुरानो परम्परालाई सोमबार पनि ललितपुरमा निरन्तरता दिइएको छ।
पाटन दरबार स्क्वायरस्थित कात्तिक नाच डबलीमा दिउँसो करिब १ बजेबाट सुरू भएको ‘परम्परागत शास्त्रीय संगीत महोत्सव’ बेलुकीसम्मै चलेको थियो।
यस सांगीतिक कार्यक्रममा राजा सिद्धिनरसिंह मल्लले रचना गरेको भनिएका भजन सुनाइएका थिए। वर्षातसँग जोडिएको शास्त्रीय संगीत ‘मेघ मल्हार’ पनि सुनाइएको थियो।
यो परम्परालाई ललितपुरकै उत्तिकै पुरानो नाट्य परम्परा ‘कात्तिक नाच’ सञ्चालन गर्दै आएको कात्तिक नाच संरक्षण समितिले नै आयोजना गरेको हो।
‘ललितपुरकै कतिपय यस्ता लामो परम्पराहरू बीच/बीचमा अवरूद्ध भएता पनि यो शास्त्रीय संगीत महोत्सव भने एक पटक पनि नबिराएर चार सय वर्षदेखि नै चल्दै आएको छ,’ संरक्षण समितिका अध्यक्ष किरण चित्रकार भन्छन्, ‘राजा सिद्धिनरसिंह मल्लले रचना गरेका ३६ वटामध्ये सक्दो बढी गीत प्रस्तुत गर्ने कोशिस गर्छौं।’
अध्यक्ष किरण स्वयं पनि बितेको २१ वर्षदेखि कात्तिक नाचमा हिरण्य कश्यपु बनेर नाच्दै आएका छन्।
उनका अनुसार यो उनको पुर्ख्यौली भूमिका हो जुन उनको बाजे, पिता हुँदै अहिले उनी निभाउँदै आइरहेका छन्।
कात्तिक नाचमा जस्तो यो संगीत महोत्सवमा भने त्यसरी वंशानुगत तवरबाटै गायकहरू आउने परम्परा नरहेको उनले बताए।
‘तै पनि कतिपय सदस्यहरू भने यो सांगीतिक कार्यक्रममा पनि वंशानुगत घरानाबाटै आएका छन्,’ उनले भने, ‘आजका मुख्य गायक त्यस्तै परिवारका सदस्य हुन्।’
कार्यक्रमको बीचमा प्रस्तोता र सहयोगीहरूलाई खानपिनको आयोजना पनि राखिएको थियो।
‘यसकोनिम्ति भनेर छुट्टै बजेट छैन,’ अध्यक्ष चित्रकारले भने, ‘कात्तिक नाचकै लागि पोहोर सालदेखि महानगरपालिकाले दुई लाख रुपैयाँ छुट्याउन थालेकामा त्यसैबाट बचेको पैसाले यसको आयोजना पनि हामीले गर्दै आएका छौं।’
चित्रकारका अनुसार कात्तिक नाच र यसमा समेत गाउने बजाउनेहरूको टिम नै छ।
त्यो टिमले नै यो संगीत महोत्सवको समेत सञ्चालन गर्छ।
‘आजको दिन वर्षकै सबभन्दा लामो दिन। यो दिन कटाउन एकदमै गाह्रो। त्यसमाथि गर्मीको दिन। उतिबेला मनोरञ्जनका साधन केही थिएन। यस्तोमा यो कठिन लामो दिनमा मनोरञ्जन दिएर बितोस् भनेर राजा सिद्धिनरसिंह मल्लले यसको थालनी गरेका हुन्,’ चित्रकारले भने।
उनका अनुसार तत्कालीन राजाले रचना गरेका यी गीतहरूमा सबभन्दा बढी उनले मान्ने गरेका भगवान श्रीकृष्णकै भक्तिका शब्दहरू छन्। त्यसैगरी आफ्नो जीवनका सुख दुःखका कुराहरू पनि राजाले यसमा राखेका छन्।
त्यसैगरी, नेवार समुदाय र यो समुदायले गर्नुपर्ने कर्महरूको बारेमा पनि अथ्र्याइएको चित्रकारले बताए।
चित्रकारका अनुसार यस संगीत महोत्सवमा उहिलेदेखि चलिआएकै परम्परागत बाजाहरू बजाइन्छन्। मुख्य बाजा ‘खीँ’ नै हो भने ‘झ्याली’, ‘ता’ र ‘पोङ्ग’ बाजा पनि हुन्छन्।
पछिल्लो समय यसमा युवा पुस्ताको सहभागिता र दर्शक संख्या घट्दै जानु यस महोत्सवको चुनौती रहेको चित्रकारले सुनाए।
महोत्सवका मुख्य गायक ७६ वर्षीय रामकृष्ण ताम्राकार दसकौंदेखि यसमा गाउँदै आएको सुनाउँछन्।
‘यसमा सरिक हुनथालेकै सत्तरी वर्षजति भइसक्यो,’ ताम्राकारले भने, ‘पछि यतैका बाजेहरूले गाउन सिकाएपछि म गायकका रूपमा प्रस्तुत हुन थालेको हुँ।’
यसका गायकले सबभन्दा ध्यान दिनुपर्ने कुरा नै ताल र समय अनुसार मिलाएर कसरी गाउने भन्ने रहेको उनले सुनाए।
यतिबेला ललितपुरमा चलिरहेको १२ सय वर्ष पुरानो मच्छिन्द्रनाथको रथ जात्रामा पनि दिनैपिच्छे भजन गाउँदै आएका ताम्राकार उनको टोलको ‘नेको जात्रा’ लगायत थुप्रै टोले धार्मिक कार्यक्रमहरूमा गाउँदै आइरहेका छन्।
बाबु बाजेजस्तै गाउने कामलाई नै निरन्तरता दिँदै आएको बताउने रामकृष्णका अनुसार उनका छोराले भने यतातिर त्यति रुची देखाएका छैनन्। आफ्नो एउटा मात्र छोरा अहिलेसम्म जागिरमै केन्द्रित भएको पनि उनले सुनाए।
‘हाम्रो पालासम्म छ,’ मध्यान्तरका बेला आयोजित जलपानकै क्षण घरेलु रक्सी घुटुक्क पारेपछि साथीहरूतिर हेर्दै उनले भने, ‘पछि पनि कुनै न कुनै उपायले भइहाल्ला नि!’