मंगलबार हुम्लाको खार्पुनाथ- ५ स्थित कैलेबालुबाट जीप कर्णाली नदीमा खस्दा गाउँपालिका उपाध्यक्षसहित १० जना बेपत्ता छन्।
खोजी कार्यमा खटिएका गोताखोर टोलीले जीपसमेत भेटेका छैनन्। अहिले खोजी कार्यको लागि १० जना उद्धार टोली घटनास्थलमा छन्। जसमा ४ जना गोताखोर छन्।
बुधबार पनि गोताखोर टोलीले ४ बजेसम्म पानीमा डुबेर खोजी गर्यो। तर जीप, यात्रु केही फेला पार्न सकेन।
टोलीलाई नेतृत्व गरेका सशस्त्र प्रहरी बलका निरीक्षक लक्ष्मणबहादुर बस्नेतले सेतोपाटीसँग भने, ‘पानी ठूलो वेगमा बगेको छ। गोताखोर भित्र छिरेपछि अडिने ठाउँ छैन।’
‘गोताखोरले पानीमा डुबेर भुइँ समाउँदै खोज्नुपर्छ,’ उनले भने, ‘पानीको वेग बढी भयो भने बगाइहाल्छ।’
खार्पुनाथमा दुईवटा नदी आएर जोडिन्छ। त्यसैले घटनास्थल कैलेबालुमा पानीको बहाव बढी छ। नदी ओरालो बगेको छ। जसले पानी छिटो बग्छ।
पानी धेरै चिसो भएको ठाउँमा पनि गोताखोरले धेरैबेर डुबेर खोज्न सक्दैनन्। उनले भने, ‘यहाँको पानी पनि त्रिशुलीको जस्तै चिसो छ।’
जमेको पानी वा पोखरीमा गोताखोरले एकपटक पानीमा डुबेपछि आधा घन्टादेखि ४५ मिनेटसम्म खोज्न सक्छ। तर चिसो पानीमा १५ मिनेटदेखि २० मिनेटसम्म मात्र सक्छन्।
नेपालमा गोताखोर टोली सशस्त्र प्रहरी बलसँग मात्र छ। जसमा जम्मा १९ जना गोताखोर छन्।
बिहीबार सवा दश बजेदेखि गोताखोर टोलीले फेरि खोजी कार्य सुरू गरिसकेका छन्।