सरकारले ‘लागुऔषध दुरूपयोग एवम् ओसारपसारविरूद्ध सप्ताहव्यापी अभियान’ सुरू गरेको छ।
लागुऔषध दुरूपयोग एवम् ओसारपसारविरूद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर बिहीबार गृहमन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी सो अभियानको शुभारम्भ गरेको हो।
कार्यक्रमको उद्घाटन गर्दै गृहसचिव प्रेमकुमार राईले लागुऔषध दुरूपयोग एवम् ओसारपसार हुन नदिन आवश्यक जनचेतना फैल्याउने उद्देश्यका साथ देशभर विभिन्न २६ वटा तय गरी सो अभियानलाई अघि बढाइएको जानकारी दिए।
उनले सरोकारवालाहरूको समन्वयमा सो कार्यक्रमलाई प्रभावकारी ढंगले सञ्चालन गर्न प्रदेश सरकार र सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरिएको पनि जानकारी दिए।
अभियान अन्तरगत देशभर लागुऔषध रोकथाम नीति र सो समस्या समाधानका लागि आवश्यक नीतिगत छलफल, गाँजा तथा अफिम खेतीको फडानीलगायतका कार्यक्रम पनि समावेश गरिएको छ।
‘समृद्ध राष्ट्र निर्माणका लागि लागुऔषधरहित स्वास्थ जीवन’ भन्ने मूल नाराका साथ तय गरिएको सो सप्ताहव्यापी अभियान असार ११ गतेसम्म सञ्चालन हुनेछ।
नेपालमा हाल वर्षेनी ११ दशमलव ३६ प्रतिशतले लागुऔषध प्रयोगकर्ताहरूको संख्यामा वृद्धि हुने गरेको सरकारी तथ्यांकमा उल्लेख गरिएको छ।
त्यसैगरी कुल अपराधमध्ये ७ प्रतिशत अपराध लागुऔषधसँग सम्बन्धित रहेका छन्। युवाहरू सो कूलतमा फस्ने क्रम बढेपछि सरकारले त्यसलाई नियन्त्रणमा लिन सो जनचेतनामूलक अभियान सञ्चालन गर्नु परेको पनि गृह सचिव राईले बताए।